काठमाडौं- ग्रेग मोर्टेसनले भनेका छन्, ‘पुरुष शिक्षित भए ऊ आफूमात्रै शिक्षित हुन्छ, तर महिला शिक्षित भए पूरा परिवार र समाज शिक्षित हुन्छ।’ उनको यो भनाइ आजसम्म पनि उत्तिकै सान्दर्भिक छ। यसका उदाहरण हुन् आमा समूहको सक्रियताबाट पुनर्जीवन पाएका सामुदायिक विद्यालयहरु।
सप्तरीको तहरीस्थित जनता माध्यमिक विद्यालयमा ६ सयभन्दा बढी विद्यार्थी अध्ययरत छन्। केही वर्षअघिसम्म विद्यालयको प्रमुख समस्या विद्यार्थी नियमित विद्यालय नआउनु र ड्रपआउट हुनु थियो। तर विद्यालय, शिक्षक र सरोकारवालाको सक्रियतामा आमा समूह गठन गरियो। यो प्रयास विद्यालयमा विद्यार्थी नियमित गराउन र टिकाउन सकिन्छ कि भन्ने एउटा उपाय थियो। तर यो सोच शतप्रतिशत नै सफल हुन पुगेको विद्यालयका प्रधानाध्यापक राजकुमार झा बताउँछन्।
झा भन्छन्, 'आमा समूह भनेको विद्यालयमा अध्ययनरत विद्यार्थीका आमाहरुको समूह हो। यो समूहले आफ्नो घर र छरछिमेकका अभिभावकलाई बालबालिकाको विषयमा उचित सल्लाह दिने, घरबाटै खाजा पठाउन प्रोत्साहन गर्ने, विद्यालय नियमित पठाउने वातावरण बनाउने, समयमा खाना खान दिएर विद्यालय नियमित पठाउने, सफासुघर बस्न सिकाउने काम गर्छ।' पाँच वर्षअघिसम्म विद्यालयमा २ सय जति विद्यार्थी हुने र त्यसमा पनि नियमित विद्यालय नआउने, कक्षा छोडेर बीचमै भाग्ने तथा ड्रपआउट हुने ठूलो समस्या रहेको झाले बताए।
उनी भन्छन्, 'आमा समूह गठन भएपछि अभिभावकको सक्रियता बढेर विद्यार्थीको उपस्थिति नियमित हुन थालेको छ। विद्यालयमा विद्यार्थी टिकाउन हाल २६ वटा आमा समूह निर्माण गरिएको छ। ती समूहले नियमित रुपमा विद्यालयको पठनपाठन अनुगमन गर्ने, विद्यार्थीलाई सरसफाइका साथ नियमित विद्यालय पठाउने काम गर्दै आएका छन्।'
मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष गुरु बरालको सक्रियतामा सामुदायिक विद्यालय गुणस्तर सुधार अभियान सञ्चालन भएको थियो। बराल भन्छन्, 'हामीले सुरु गरेको यो अभियानको प्रभावकारिताका बारेमा स्थलगत अध्ययन गर्दा आमा समूहका कारण सामुदायिक विद्यालय सुधारमा ठूलो र गुणात्मक परिवर्तन आएको छ।'
उनले कक्षाकोठाको पढाइमा समेत सुधार आएको बताउँदै भने, 'आमाहरुको सक्रियताले विद्यालयमा नानीहरु अनुपस्थित हुने दर पूरै घटेर गएको छ। ड्रपआउटको समस्या पनि अहिले छैन। प्रत्येक विद्यार्थीलाई टिफिनको बट्टा उपलब्ध गराइएको छ र बालबालिका अनिवार्य घरबाट टिफिन लिएर आउने भएका छन्।'
प्रअ झा भन्छन्, 'गरिबीका कारण पहिले कतिपय विद्यार्थीहरु खाजा र खाना नै नखाएर समेत आउने गरेका थिए। एक वा दुई घण्टीपछि हराउने, सफा नबस्ने तथा गृहकार्य नगर्ने लगायत समस्या थियो। अहिले यी समस्या छैनन्।'
महोत्तरीको बर्दिबास नपा–३ गौरीडाँडास्थित जनता माविमा पनि आमा समूह गठन भएको छ। २०३१ सालमा स्थापना भएको यो विद्यालयमा आमा समूह गठन भएपछि विद्यालयको स्वरुप नै फेरिएको प्रधानाध्यापक नेत्रबहादुर रम्तेलले जानकारी दिए। 'विद्यार्थी सुधार्ने, गृहकार्य गराउने, सफासुघर बस्ने, असल बानीव्यहोरा सिकाउने काम विद्यालयले जति सिकाए पनि नपुग्ने रहेछ। त्यसैले आमाहरुलाई नै जागरुक गराएर यसमा सक्रिय गराउनुपर्ने देखियो। अहिले हाम्रो विद्यालयमा ८ वटा आमा समूह छन् जसले विद्यार्थी सुधार्नुका साथै संख्या बढाउनमा समेत ठूलो भूमिका खेलेका छन्,' प्रअ रम्तेलले भने। विद्यालयमा पाँच वर्षअघिसम्म ४ सय विद्यार्थी रहेकोमा अहिले १ हजारभन्दा बढी पुगिसकेका छन्।
विद्यार्थी संख्या दिनानुदिन घट्दै गएर अत्यन्तै दयनीय अवस्थामा पुगेको सिन्धुलीको कमलामाई नपा-९ स्थित जनजागृति माविमा आमा समूह गठन भएपछि विद्यालयको साख नै जोगिएको छ। सामुदायिक विद्यालय गुणस्तर सुधार अभियानसम्बन्धी एक रिपोर्टअनुसार जनजागृति माविको प्रावि कक्षामा केही वर्षअघि जम्मा १२ देखि १३ जना विद्यार्थी हुने गरेका थिए भने आमा समूहको गठनपछि सोही कक्षामा १ सय ८० जना विद्यार्थी पुगेका छन्।
विद्यालयले दिएको जानकारीअनुसार हाल विद्यार्थीको चाप अत्यधिक बढ्न थालेपछि इन्ट्रान्सको माध्यमबाट भर्ना लिनुपर्ने अवस्था आएको छ। विद्यालय सुधारका लागि खाजा कार्यक्रमसमेत सञ्चालनमा रहेको विद्यालयले जनाएको छ। विद्यार्थीका अभिभावकलाई गाई सहयोग उपलब्ध गराएर आर्थिक स्तर उकास्ने कामसमेत भएको छ। यसले विद्यालयमा विद्यार्थी ल्याउन र टिकाउन मद्दत पुर्याएको विद्यालयको भनाइ छ।
प्रअ झाले आमाहरुका लागि आयमूलक कार्यक्रम अन्तर्गत कृषि विकास बैंकबाट सुलभ रुपमा बाख्रापालन कार्यक्रम सञ्चालन भएको बताए। उनले भने, 'आयमूलक कार्यक्रमले आमाहरु आर्थिक रुपमा सबल भएका छन् भने विद्यार्थीलाई नियमित विद्यालय पठाउने अवस्था बन्दै गएको छ। विद्यार्थीहरुको घरको आर्थिक अवस्थामा सुधार भएको छ।'
आमा समूहको प्रभावले बालबालिकाहरुले घरबाट पोषिलो खाजा ल्याएर खान थालेका छन्। घरमै उपलब्ध साधन प्रयोग गरी पोषिलो खाजा तयार पार्ने तालिम प्रदान गरेपछि हरेक विद्यार्थीले घरमै तयार खाजा लिएर आउने गरेका छन्। यसका साथै पहिले प्रायः अभिभावकको बैठकमै नआउने आमाबाबुहरु अहिले प्रत्येक बैठकमा तोकिएको समयमा अनिवार्य उपस्थि हुने गरेका छन् र बालबालिकाका सबै क्रियाकलापप्रति चासो देखाउने गरेका छन्।
बराल भन्छन्, 'आमा समूहको जिम्मेवारी गाउँघर वा टोलमा शिक्षा, स्वास्थ्यको उचित व्यवस्था मिलाउने तथा विकृति, विसंगति तथा दुर्व्यसन रोकी सही शिक्षा निर्देश गर्ने, सीपमूलक आय आर्जनका कार्यक्रमहरु सञ्चालन गर्ने रहेको छ। यसमा उनीहरुको सहकार्य हुने गरेको छ। आमाहरुलाई बैंकबाट उपलब्ध सुलभ ऋणअन्तर्गत गाई, बाख्रा पालनजस्ता आयमूलक अभियानमा सक्रिय गराइएको छ। यसबाट एक जना महिलाले वार्षिक ३ लाखसम्म रुपैयाँ कमाउने गर्छन्।'
नमुनाको रुपमा अर्को विद्यालय सुनसरीको इटहरीस्थित साजीलाल माविलाई समेत लिन सकिन्छ। पाँच वर्षअघिसम्म करिब १२ सय विद्यार्थी रहेको उक्त विद्यालयमा करिब २ हजार विद्यार्थी पुगेका छन्। सामुदायिक विद्यालय गुणस्त सुधार अभियानसम्बन्धी रिपोर्टअनुसार आमा समूहको गठनले अभिभावकलाई विद्यालय र विद्यार्थीको अध्ययनप्रति थप जिम्मेवार बनाउँदै खाजा कार्यक्रम लागु गर्न सहजता भएको छ।
त्यस्तै, सप्तकोशी नगरपालिकाका ११ वटा सामदुायिक विद्यालयमा अध्ययनरत २ हजार ८ सय ९८ जना विद्यार्थीका अभिभावकलाई सहभागी गराई ५२ वटा आमा समूह गठन गरिएको छ। त्यहाँ पञ्चवर्षिय शैक्षिक गुणस्तर विकास कार्य योजनासमेत लागू गरिएको छ। एउटा विद्यालयमा कम्तिमा २० वटासम्म आमा समूह गठन भएको छ।
ताप्लेजुङ, झापा मोरङ, धनकुटा, सप्तरी, उदयपुर, सिन्धुलीलगायत जिल्लामा आमा समूह गठन भएको छ भने सामुदायिक विद्यालय गुणस्तर सुधार अभियान सञ्चालन भएको छ। यस अभियानले आमाहरुलाई आर्थिक रुपमा सबल बनाएको त छ नै, जागरुकता पनि बढेको छ। विद्यालय सुधारमा आमा समूहसँग हातेमालो गरी अगाडि बढेका विद्यालयको अवस्था राम्रो छ। त्यस्ता विद्यालयहरुमा विद्यार्थी संख्या पनि बढेको छ।