बिहीबार, माघ २२, २०८२

१९औं एसियाड

क्रिकेटमा मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेर पुरुष क्रिकेटमा अहिलेसम्मको ठूलो जित निकालेको हो।
 |  बुधबार, असोज १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज १०, २०८०

हाङझाव (चीन)– १९औं एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा आज मंगोलियासित कीर्तिमानी जित निकालेको छ। केही बेर अघि सम्पन्न खेलमा नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको हो। पुरुष क्रिकेटमा नेपालको यही नै अहिलेसम्मको ठूलो जित हो। 

National life

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा मंगोलियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनायो। 

नेपालले दिएको ३१५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३ दशमलव एक ओभरमा ४१ रनमै अलआउट भयो। उसका लागि जम्यासुरेनले १० रन जोड्नुबाहेक अरु ब्याटरले सम्झिनलायक ब्याटिङ गर्न सकेनन्।

बलिङतर्फ नेपालका करण केसी, अभिनास बोहरा र सन्दीप लामिछानेले दुई–दुई तथा सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।

यसअघि मंगोलियाविरुद्ध ब्याटिङ गर्ने क्रममा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी ब्याटिङ गरे। कुशल मल्लले ३४ बलमै शतक प्रहार गर्दै अर्को विश्व कीर्तिमान बनाए। 

Laxmi sunrise bank

यसअघि सर्वाधिक छिटो शतकको कीर्तिमान दक्षिण अफ्रिकाका डेभिड मिलर, चेक रिपब्लिकका सुदेश विक्रमाशेखर र भारतका रोहित शर्माले बनाएका थिए। उनीहरुले ३५ बलमै शतक बनाएका थिए ।

दीपेन्द्रसिंह ऐरीले मात्र ९ बलमा अर्धशतक बनाएर अर्को विश्व कीर्तिमान बनाए। यसअघि भारतका युवराज सिहले १२ बलमा अर्धशतक बनाएका थिए।

कुशल मल्लले ५० बलमा अविजित एक सय ३७ रन तथा ऐरीले १० बलमा अविजित ५२ रन बनाए। 

मल्लले यस क्रममा १२ छक्का र आठ चौका तथा ऐरीले आठ छक्का प्रहार गरे। यस्तै, कप्तान रोहितकुमार पौडेलले २७ बलमा ६१, कुशल भुर्तेलले २३ बलमा १९ तथा  आसिफ शेखले १७ बलमा १६ रन बनाए। नेपालले समूह चरणको अर्को खेल माल्दिभ्ससित खेल्नेछ।

प्रकाशित: Sep 27, 2023| 10:46 बुधबार, असोज १०, २०८०
प्रतिक्रिया दिनुहोस्