काठमाडौं- नेपाल आयल निगमले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ। निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले आईपीओको तयारी भइरहेको बताएका छन्।
मंंगलबार नेपाल एलपी ग्यास उद्योग संघको २८ औं वार्षिक साधारणसभामा थानीले यो जानकारी दिएका हुन्।'धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको छ। कम्तीमा दुई आर्थिक वर्ष फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने व्यवस्था छ, निगम यसमा प्रतिवद्ध छ। अब जनतालाई नै ओनरसिप बनाउने हो,' उनले भने।
विभिन्न प्रक्रियागत तयारीहरू गर्नुपर्ने भएकाले सर्वसाधारणलाई सेयरधनी बनाउन केही समय भने लाग्ने उनले बताए।निगमले गत असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागु गरेकाले अब नाफामै सञ्चालन हुने उनले बताए। गत आर्थिक वर्ष पनि निगम नाफामा रहेको उनले जानकारी दिए।
ग्यास व्यवसायीहरुप्रति आयल निगम निर्मम हुने सोचमा नरहेको थानीको भनाइ छ। सरकारले व्यवसायीका माग समयसापेक्ष रुपमा सम्बोधन गर्ने उनले बताए।नेपाल एलपी ग्याास उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले एलपी ग्यासको मूल्य अचानक बढ्दा व्यवसायीलाई समस्या भइरहेको बताए।