शुक्रबार, वैशाख २१, २०८१

प्रधानमन्त्री प्रचण्डलाई बीआरआई कार्यान्वयनमा दबाब

चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले नेपाललाई चिनियाँ महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड परियोजना (बीआरआई) कार्यान्वयनका लागि कुरा भएको जनाएको छ।
 |  आइतबार, असोज ७, २०८०

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

आइतबार, असोज ७, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो विदेश भ्रमणका क्रममा हाल उत्तरी छिमेकी चीनमा छन्। संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी भएर न्यूयोर्कबाट सिधै  चीन प्रस्थान गरेका प्रचण्डले शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन्। 

triton college

प्रधानमन्त्री प्रचण्ड १९औं एसियन खेलकुदको उद्घाटन समारोहमा पनि सहभागी भएका छन्। एसिया खेलकुदकै होङचाउ सहरमा भएको साइडलाइन भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ। 

प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपतिले नेपालसँगको द्विपक्षीय सम्बन्धमा निरन्तर प्रगतिका लागि विकासको रणनीतिमा जोड्न चाहेको बताएको नेपालका लागि चिनियाँ राजदूत छन सोङले एक्स (ट्विटर)मा लेखेका छन्। 

'सीले चीन-नेपालको सम्बन्धलाई अति महत्व दिएको जोड दिनुभयो र द्विपक्षीय सम्बन्धमा निरन्तर नयाँ प्रगति प्रवर्द्धन गर्नका लागि विकासको रणनीतिमा जोड्ने कार्यलाई सशक्त बनाउन चाहेको बताउनु भएको छ,' उनले लेखेका छन्, 'चिनियाँ राष्ट्रपति सीले श्रृंखलाबद्ध अघि सारेको अवधारणा तथा पहलकदमीलाई समर्थन गर्ने बताउनुभएको छ। अन्तर्राष्ट्रिय व्यवस्थालाई थप न्यायोचित र उचित दिशामा विकासलाई प्रवर्द्धन गर्न, विकासशील राष्ट्रहरुको साझा स्वार्थको संरक्षण गर्न र मानव जातिको साझा भविष्यको समुदाय विकास गर्नका लागि चीनसँग काम गर्न चाहेको बताउनुभएको छ।' 

यसैगरी प्रधानमन्त्री प्रचण्डले पनि राष्ट्रपति सीसँगको भेट फलदायी भएको बताएका छन्। उनले ट्विटरमा भनेका छन्, 'हामीले द्विपक्षीय सम्बन्ध र पारस्परिक हितमा सहयोगका विभिन्न विषयहरूमा विचार आदानप्रदान गरेका छौं। हामी नेपाल–चीन सम्बन्धलाई चिरस्थायी मित्रतालाई सुदृढ बनाउन नजिकबाट सहकार्य गर्न र अगाडि बढाउन सहमत भएका छौं।'

corrent noodles
Metro Mart

तर, चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले भने नेपाललाई चिनियाँ महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड परियोजना (बीआरआई) कार्यान्वयनका लागि कुरा भएको जनाएको छ। ग्लोबल टाइम्सले नेपालको पोखरा विमानस्थल पनि बीआरआई अन्तर्गतको परियोजना भएको उल्लेख गरेको छ। 

उसले भनेको छ, 'चीनका राष्ट्रपति सी जिनपिङ र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९औँ एसियाली खेलकुद (साग) को अवसरमा शनिबार भेटवार्ता गरेका छन्। सीले चीन र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धको विकासलाई प्रवर्द्धन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता र बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) निर्माणमा दुई देशबीचको सहयोगको दृढ समर्थनको प्रशंसा गर्नुभयो। दुई देशबीचको मैत्रीपूर्ण र सहयोगी सम्बन्धलाई नयाँ उचाइ दिने कुरामा विश्वसा व्यक्त गर्नुभएको छ।' 

सिचुवान अध्ययन विश्‍वविद्यालयको स्कूल अफ इन्टरनेशनल रिलेसनका प्राध्यापक लङ जिङ्चुनलाई उदृत गर्दै ग्लोबल टाइम्सले भनेको छ, 'चीन र नेपालबीचको सहयोगको सम्भावना अपार छन्। विशेषगरी बीआरआई र चीन-नेपाल रेलमार्ग निर्माणमार्फत चीनले नेपाललाई भारतले भन्दा बढी लगानी र औद्योगिक स्थानान्तरण प्रदान गर्न सक्छ, जसले नेपालको आर्थिक वृद्धिलाई बढावा दिन्छ,' लङले भने।

त्यसैगरी चिनियाँ पक्षले नेपालमा भारतीय प्रभाव बढेको पनि उल्लेख गरिएको छ। लङलाई उदृत गर्दै टाइम्सले लेखेको छ, 'नेपालले भारतको प्रभावलाई सन्तुलनमा राख्‍न चीनसँगको सम्बन्धलाई बलियो बनाउन खोजेको छ। तर भारतले जस्तो चीनले नेपाललाई चीन र भारतको पक्ष लिन आग्रह गर्दैन। चीनले नेपाललाई समान व्यवहार गर्छ, जुन भारतले गर्दैन।'

सिंगुवा विश्‍वविद्यालयय अन्तर्गतको राष्ट्रिय रणनीति संस्थानको अनुसन्धान विभागका निर्देशक छियान फेङले भनेका छन्, 'नेपाल पनि बीआरआईको लाभार्थी मुलुक हो, जसको माध्यमबाट नेपाल भूपरिवेष्ठित देशबाट भू-जडित भएको छ।' उनले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणले द्विपक्षीय सम्बन्धलाई बढावा दिएको पनि उल्लेख गरेका छन्। 'कोभिड-१९ महामारीको तीन वर्षपछि नेपालका प्रधानमन्त्रीको यो पहिलो चीन भ्रमण हो, जसले द्विपक्षीय सम्बन्धलाई बलियो बढावा दिएको छ।' 

नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर वाङ सिनले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालको निर्माणमा चीन सरकारको सहयोग र बीआरआईको अर्को उदाहरण भएको बताएका छन्। उनले भनेका छन्, 'चीन सरकारले नेपालमा निर्माण गर्न सहयोग गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यसको उदाहरण हो। यो परियोजना जुलाई २०१७ मा सुरु भएको थियो र चीनले यस परियोजनाका लागि नेपाललाई सहुलियत ऋण उपलब्ध गराएको थियो। यसले दुई देशबीचको विकास सहयोगको नयाँ मोडल मात्र सिर्जना गरेन, परियोजनाको सहज कार्यान्वयनको ग्यारेन्टी पनि दियो।' 

पोखरा विमानस्थल गत पुस १७ गते उद्घाटन गरिएको थियो। उद्घाटनका क्रममा पनि नेपालका लागि चिनियाँ राजदूत छन सोङले बीआरआई अन्तर्गतको परियोजना भएको दाबी गरेका थिए। यद्यपि नेपाल सरकारले भने हालसम्म नेपालमा चिनियाँ परियोजना सञ्‍चालन नभएको जनाएको छ। उनले उक्त विमानस्थल चीन र नेपालबीच बिआरआई निर्माणको एक प्रतिक भएको बताएका थिए। 

काउन्सिलर वाङले भनेका छन्, 'नयाँ विमानस्थल नेपाल र चीन र विश्वका अन्य देशहरूबीचको जनताको आवतजावतमा सहजीकरण गर्ने उड्डयन केन्द्र मात्र नभएर चीन र नेपालबीचको साँचो प्रेम र मित्रता र पारस्परिक सहयोगको साक्षी रहेको 'मित्रता-परियोजना' पनि हो। यो चीन-नेपाल समुदायको निर्माण र साझा विकास र समृद्धिको अनुभूतिको शक्तिशाली प्रमाण र ज्वलन्त उदाहरण हो।'

चिनियाँ सत्ताको मुखपत्र टाइम्सले चीनले नेपाल-चीन सम्बन्धलाई ठूलो महत्त्व दिएको र नेपालसँगको विकास रणनीति तालमेललाई सुदृढ गर्न, विभिन्‍न क्षेत्रमा व्यावहारिक सहयोगलाई प्रगाढ बनाउन, शासनमा अनुभवको आदानप्रदान बढाउन र द्विपक्षीय सम्बन्धमा नयाँ प्रगति प्रवर्द्धन गर्न इच्छुक रहेको जनाएको छ। भारत र चीनको बीचमा रहेको देश भएकाले नेपालको कूटनीतिक अडान दुई देशबीच सन्तुलन कायम गर्ने भए पनि भारतले दक्षिण एसियालाई आफ्नो प्रभावको क्षेत्र मान्ने र नेपाललाई समान व्यवहार गर्न नसक्ने वास्तविकतालाई ध्यानमा राख्नुपर्ने समाचारमा उल्लेख छ। 

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले शनिबारदेखि सेप्टेम्बर ३० सम्म चीनको औपचारिक भ्रमण गर्ने जानकारी दिए। माओले भने, 'प्रचण्डले धेरै पटक चीन भ्रमण गरी नेपाल–चीन सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्। भ्रमणका क्रममा राष्ट्रपति सीसँग भेटघाट गरेपछि चिनियाँ प्रधानमन्त्री ली छ्याङ र चीनका शीर्ष विधायक झाओ लेजीले क्रमशः वार्ता र भेटवार्ता गर्ने छन्। दुई पक्षबीच परम्परागत मित्रतालाई प्रगाढ बनाउने, पारस्परिक लाभकारी सहयोग विस्तार गर्ने र पारस्परिक हितका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा गहन विचार आदानप्रदान हुनेछ।'

नेपालले चीनको विकासको 'एक्सप्रेस ट्रेन' मा सवार गर्ने इच्छा पनि यस भ्रमणले देखाएको जनाइएको छ। 'जलविद्युत निर्माण, पूर्वाधार निर्माण, वातावरणीय सहयोग र मानवीय आदानप्रदान जस्ता क्षेत्रमा दुई पक्षले फलदायी सहयोग नतिजा हासिल गर्ने अपेक्षा गरिएको छ,' टाइम्सले भनेको छ। नेपालका प्रधानमन्त्रीले चीन भ्रमण गर्नुअघि भियतनामबाट १५ टन बेसारको धुलो आयात गरी उत्तरी चीनको तियान्जिन बन्दरगाह र झाङ्मु–तातोपानी सीमा नाका हुँदै नेपालको राजधानी काठमाडौंमा पुर्‍याएको विषयले पनि द्विपक्षीय व्यापार सम्बन्धमा ‘नयाँ युगको बिहानी’को संकेत गरेको टाइम्सले जनाएको छ। 

चीनले नेपालमा भारतबाहेक अमेरिकाले हालैका वर्षहरूमा विशेषगरी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यक्रममार्फत नेपालसँगको सम्बन्धलाई बलियो बनाउने प्रयास गरिरहेको टाइम्समा उल्लेख छ। भनिएको छ, 'तर केही विज्ञहरूले नेपालमा अमेरिकी संलग्नता अवसरवादी भएको र यसको मुख्य उद्देश्य दक्षिण एसियाली देशप्रति दीर्घकालीन प्रतिबद्धताभन्दा पनि चीनलाई नियन्त्रणमा राख्ने भएको बताउनुभएको छ।'

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा भएको राष्ट्रपति सीसँगको वार्ताका बारेमा भने कुनै उल्लेख गरेको छैन। त्यसैगरी चिनियाँ समाचार एजेन्सी सीले पनि प्रधानमन्त्री प्रचण्डको भ्रमणका क्रममा राष्ट्रपतिसँग विकास एजेण्डाबारे छलफल भएको जनाएको छ। 

- ग्लोबल टाइम्सको सहयोगमा

प्रकाशित: Sep 24, 2023| 07:40 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्