आइतबार, जेठ ६, २०८१

शिक्षकबाट किन कुटिन्छन् विद्यार्थी ?

शिक्षा नियमावलीमा शिक्षकले पालना गर्नुपर्ने आचारसंहितामा शिक्षकले विद्यार्थीलाई शारीरिक र मानसिक यातना दिन नहुने उल्लेख छ।
 |  मंगलबार, असोज ९, २०८०

विजेता

विजेता

मंगलबार, असोज ९, २०८०

काठमाडौं- २०७९ असार १४ गते बुटवलको एक निजी विद्यालयका शिक्षकले कक्षाकोठामै विद्यार्थी कुटेको भन्दै विद्यार्थी र अभिभावकले शिक्षकमाथि कारबाहीको माग गरे। स्थानीय दीप बोर्डिङ हाइस्कुलका कम्प्युटर शिक्षक एकराज गुरागाईंले कक्षा १० का विद्यार्थी जेनित रायमाझीलाई हाँसेको भन्दै गालामा थप्पड हानेका थिए। तिलोत्तमा–५ निवासी जेनितकी आमा चन्दा रायमाझीले शिक्षकले थप्पड हान्दा छोराको कान र बंगारामा असर गरेको बताइन्। जेनितका अभिभावकले कक्षाकोठामै विद्यार्थी कुट्ने शिक्षकमाथि कारबाही हुनुपर्ने माग गरेका थिए।

triton college

२०८० असार २१ गते काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ को श्रीकृष्ण माविमा विद्यार्थी कुटपिट गरेको आरोपमा शिक्षक एकराज पण्डितलाई महानगरीय प्रहरी प्रभाग बलम्बुले नियन्त्रणमा लिएको थियो। कुटपिटबाट घाइते भएकी विद्यार्थीलाई ओम समाज अस्पतालमा भर्ना गरिएको थियो।

केही वर्षअघि बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१७ स्थित ज्ञानसागर माध्यमिक विद्यालयमा पेन्सिल तिखार्न नसक्दा नौ वर्षीया बालिका सविना बेहेनालाई शिक्षक कृष्णमुरारी सिंहले निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको थियो। शिक्षकले बालिकाको गालामा चड्कन हानेका थिए भने विद्यालयको भित्तामा टाउको ठोक्काएको पीडित बालिकाले बताएकी थिइन्। बालिकाका बुवा मुनिर बेहेनाका अनुसार पिटाइबाट बालिकाको गाला सुन्निएको र टाउकोमा चोट देखिएको थियो।

तानसेन–११ बन्दीपोखरास्थित गार्गी माविका प्रअ यादवप्रसाद घिमिरेको कुटाइबाट कक्षा ४ मा अध्ययनरत १३ वर्षीय विक्रम बम्रेलको हात भाँचिएको थियो। काठमाडौं नयाँ बानेश्वरस्थित एम्बिसन एकेडेमीका शिक्षक दावा मोक्तानले कक्षा पँचमा अध्ययनरत जेनिशा राईको अनुहारमा मुक्काले हानेर निलडाम हुनेगरी कुटेका थिए। जसविरुद्ध बालबालिका खोजतलाश केन्द्रमा उजुरी समेत परेको थियो।

शिक्षकले विद्यार्थीलाई यातना दिएका यी दुई प्रतिनिधि घटना हुन्। सार्वजनिक नभएका यस्ता घटना देशैभर कति छन् कति। शिक्षा नियमावली २०५९ (संशोधनसहित)को परिच्छेद २२ दफा १३३ मा शिक्षकले पालना गर्नुपर्ने आचारसंहितामा शिक्षकले विद्यार्थीलाई शारीरिक र मानसिक यातना दिन नहुने उल्लेख छ। तर सानो निहुँमा पनि विद्यार्थी कुट्ने प्रवृत्ति भने रोकिएको छैन।

corrent noodles
Metro Mart

काठमाडौंको गुहेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक मेघबहादुर वन्जाडाका अनुसार नयाँ सोच भएका शिक्षकहरुले अब विद्यार्थी कुट्दैनन्। विद्यार्थीलाई पिटेर तह लगाउन सकिन्छ भन्ने पुरानो मान्यता बोकेका शिक्षकले मात्रै बालबालिकालाई कुट्छन्। उनी भन्छन्, 'त्यस्तो शिक्षकमा म शिक्षक हुँ भन्ने अहमले पनि काम गरेको हुन सक्छ। त्यस्ता शिक्षलके बालबालिकाको मनोविज्ञान बुझेर पढाउनुको साटो डराएर हुन्छ अथवा पिटेर हुन्छ बसमा राख्ने मानसिकताले ग्रस्त हुन्छन्।'

रोम्बस स्कुल भक्तपुरका प्रधानाध्यापक राजेन्द्र भुजुका अनुसार विद्यार्थीको मनोविज्ञान नबुझ्ने र उसको उमेर अनुसारको व्यवहार बुझ्न नसक्ने शिक्षकले पिट्ने गरेका छन्। 'शिक्षकले विद्यार्थीको रुचि र क्षमतासमेत बुझ्न नसकेको अवस्थामा बालबलिका कुटाइ खाने गरेको पाइन्छ,' उनी भन्छन्, ‘हामीले बालबालिका के कारणले सिक्न सकेनन्, पढ्न जानेनन् भन्दा पनि जसरी पनि सिकाउनु पर्ने र तह लगाउनु पर्ने मानसिकताका कारण सजाय दिने गरेका छौं। मेरो अनुभवमा प्रायः गणित विषयको शिक्षकहरुले बालबालिका कुट्ने गरेको उदाहरण छ। यद्यपि युवा शिक्षकले बालबालिका कुट्ने प्रवृत्ति कम देखिएको छ।’

नमुना विद्यालय नयाँबजारकी प्रधानाध्यापक धनकुमारी न्यौपाने शिक्षकहरुमा मैले जसरी पनि सिकाउनु पर्छ भन्ने भावनाले पनि पिट्ने प्रवृत्ति बढेको बताउँछिन्। उनले भनिन्,  'कक्षा कोठामा संयमित हुन नसक्ने शिक्षकले यो पेशा अंगाल्नु हुँदैन। आक्रोशित र रिसाहा प्रवृत्तिका शिक्षकले नै अधिकांश बालबालिकालाई कुट्ने गरेका छन्। यो कतिपय अवस्थामा नियतवश पनि हुनसक्छ।’

जनकपुरको संकट मोचन देवशरण रामरति विद्यालयका प्रधानाध्यापक बलिराम साह भन्छन्,  ‘कक्षामा रमाएर पढ्ने–पढाउने वातावरण बनाउन सक्ने शिक्षकले बालबलिका कुट्नै सक्दैन। विद्यार्थीको मनोभावना र उसको उमेरअनुसारको स्वभाव, व्यवहारिक परिवर्तनहरु बुझ्न नसक्ने शिक्षकले मात्रै कुट्ने गरेको पाइएको छ। जसरी पनि तह लगाउने मानसिकता कतिपय शिक्षकमा हावी भएकोले यस्तो प्रवृत्ति बढ्दो छ। यद्यपि शिक्षक जस्तो संवेदनशिल व्यक्तिले बालबालिकालाई यातना दिनु अमानविय हो।’

सरकारले ‘साना बालबालिका कलिला फूल हुन्, उनीहरुलाई यातना होइन माया दिएर पढाऔं’ भन्ने नारासहित व्यापक जनचेतना र शिक्षक तालिममा करोडौं लगानी गरे पनि त्यसको प्रतिफल उपलब्धीमूलक देखिएको छैन। साना बालबालिकामात्रै  नभएर किशोर–किशोरीलाई समेत निर्घात कुट्ने प्रवृत्ति छ। शिक्षाविद् धनन्जय अधिकारी भन्छन्, ‘माटोको भाँडो बनाउनु जत्तिकै गाह्रो काम भएर शिक्षक र गुरुलाई सर्वोपरी स्थान दिइएको हो तर कतिपय शिक्षकको हाउगुजीले विद्यालय यातना गृह जस्तो बनिदिन्छ र बालबालिका विद्यालय जान डराउँछन्।’ उनले यस्तो कुरामा खासै अनुगमन नहुने बताउँदै भने, 'सानादेखि ठूला कक्षाका बालबालिकाहरु दिनहुँ शिक्षकबाट दिइने शारिरीक र मानसिक यातनामा बाँचिरहेका छन्।'

८४ प्रतिशत पुरुष शिक्षकले कुट्छन् विद्यार्थी
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय‍ले २०७३–०७४ मा गरेको एक अध्ययनअनुसार विद्यालयमा दिइने शारीरिक दण्ड–सजाय कार्यमा संलग्न शिक्षकको लैगिंक प्रतिशत हेर्दा १६ प्रतिशत महिला शिक्षकबाट बालबालिकाले सजाय पाएको देखिन्छ भने पुरुष शिक्षकबाट ८४ प्रतिशत बालबालिका पीडित भएका छन्। यसरी हेर्दा विद्यार्थीलाई कुट्नेमा पुरुष शिक्षक एकदमै अगाडि छन्।

यस विषयमा अभिभावक संघ नेपालका वरिष्ठ उपाध्यक्ष सुवास भण्डारी भन्छन्, ‘विद्यालयमा शिक्षकले बालबालिकालाई कुटपिट गरी यातना दिने घटना अहिले बढ्दो छ। नयाँ दरबन्दीमा आएका युवा शिक्षकहरुले प्रायः विद्यार्थीलाई कुटेको घटना धेरै छैन। तर निजीतिर कुटपिटको घटना बढिरहेको छ। पछिल्लो समय शारीरिक भन्दा पनि विद्यालयका बालबालिकालाई शिक्षकले दिने मानसिक यातनाको घटना बढ्दो छ। विद्यालयमा राम्रो बन्ने होडमा पेलेर हुन्छ कि पिटेर भए पनि बालबालिकालाई तह लगाउने मानसिकताले गर्दा साना नानीहरु एकदमै टर्चरमा परेर मानसिक तनाव भोगिरहेका छन्। यस विषयमा अभिभावकको गुनासो अत्यधिक छ।'

वरिष्ठ मनोविद् करुणा कुँवर भन्छिन्– ‘शिक्षकको कुटाइको असर बालबालिकाको मष्तिस्कमा लामो समयसम्म रहन्छ। यसले तत्कालको लागि सानोतिनो असर जस्तै स्कुल जान मन नलाग्ने, पेट दुख्ने, टाउको दुख्ने, बान्ता, पखाला लाग्नेजस्ता असर र लक्षण देखिए पनि पछि फोवियाको रुपमा विकसित हुँदै जान्छ।'

उनले विद्यालयमा साना बच्चाहरुलाई किन पढ्नुपर्छ भन्ने नै थाहा नभएको अवस्थामा जसरी पनि पढाउनुपर्ने प्रवृत्तिले गर्दा एकदमै टर्चर भएको घटनाहरु दिनहुँ आउने गरेको बताइन्। मनोविद् कुँवरले आफ्नो परामर्श केन्द्रमा विद्यालयमा मानसिक र शारीरिक यातनासम्बन्धी दैनिक रुपमै कम्तिमा एउटा घटना आउने गरेको बताइन्। उनका अनुसार निरन्तरको पिटाइ, मानसिक दबाब तथा क्षमताअनुसारको पढाइ नहुँदा बालबालिकामा शिक्षक फोविया, स्कुल फोविया र परीक्षा फोवियाजस्तो नकारात्क असर देखा पर्न सक्छ।’ 

अभिभावक संघले छड्के रुपमा विद्यालयमा गएर अनुगमन गर्नुका साथै विद्यालयका सञ्चालनकसँग बसेर विद्यालका शिक्षकको विषयमा र सिस्टमको विषयमा बुझ्ने गरेको भण्डारीले जानकारी दिए। उनले यस्ता घटना प्रेसर भएका शिक्षकबाट अधिक हुने गरेको आफूहरुले अनुभव गरेको बताउँदै त्यस्तो प्रवृत्तिको शिक्षकका विषयमा निगरानी गर्दै आएका छौं।'

नीति र निर्देशिका कागजमै सीमित
विद्यालयमा बालमैत्री शिक्षण पद्धतिबाट पढाउने उद्देश्यले शिक्षा मन्त्रालय तथा शिक्षा विभागबाट आवश्यक नीति तथा निर्देशिकाहरु जारी भए पनि विद्यालयका कतिपय शिक्षक तथा कर्मचारीहरु बाल अधिकारको सवालमा संवेदनशील नभएको पाइएको छ। हुन पनि प्रकाशमा नआएका यस्ता घटना थुप्रै हुने कुरालाई नकार्न सकिन्न।

अभिभावक संघका भण्डारीका अनुसार संस्थागत विद्यालय सञ्चालन मापदण्ड र शिक्षा नियमावलीमा समेत विद्यार्थीलाई सजाय दिन नपाउने प्रावधान छ। उनले भने, 'विद्यार्थीले कक्षाकोठामै सजाय पाउनुलाई बालबालिका विद्यालयमै अन्यायमा परेको र आफूले धेरै समय बिताउने थलो नै बालमैत्री नहुनुले नियमावली कार्यान्वय कति फितलो छ भन्ने प्रष्ट हुन्छ।'

शिक्षाविद् अधिकारी भन्छन्, ‘साना कक्षाहरुमा धेरैभन्दा धेरै महिला शिक्षिकाहरुको बढोत्तरी गरेर समस्या केही कम गर्न सकिन्छ। अभिभावकमा समेत चेतनाको आवश्यकता रहेको छ। कतिपय अभिभावक स्वयं विद्यालय गएर आफ्नो बच्चालाई पिटेर भए पनि तह लगाउन आग्रह गर्छन्। विद्यार्थीलाई कुट्नु आचारसंहिता विपरीत हो र यसविरुद्ध जानेलाई कारवाहीको दायरामा ल्याउनुपर्छ।'

प्रकाशित: Sep 26, 2023| 10:53 मंगलबार, असोज ९, २०८०
प्रतिक्रिया दिनुहोस्