काठमाडौं- ‘स्तुति’ कस्ती भइन् त अहिले ? धेरैको जिज्ञासा हुनसक्छ- उनी ‘भाइरल वेवी’को नामले पनि परिचित छिन्।
बताइदिउँ- स्तुति अहिले टुकुटुकु हिँड्ने भएकी छन्। बेबी बोतलबाट आफैं पानी खाने भएकी छन्। तुलसालय आश्रमको घर र आँगनभरि आफ्नो सानो पाइलाले नाप्ने भएकी छन्। काखमा बोक भनेर दाइ र आमासँग बेलाबेला झगडासमेत गर्ने भएकी छन्।
तुलसालय आश्रमकी प्रमुख सञ्चालक सरु सुवेदीले आफ्नो न्यानो काख दिएर मृत्युको मुखमा पुगेकी एक अवोधलाई जीवनदान दिएकी हुन्। जन्मिँदै आमा गुमाएकी स्तुतिको न्वारान प्रधानन्यायाधीश शुशीला कार्कीले गरेकी थिइन्। कार्कीले अनाथाश्रममा गएर ३० दिने शिशुको न्वारान गरिदिएको खबरले धेरैको ध्यान तानेको थियो। हुम्लाको अदानचुलीबाट भारी हिमपातको बेला अनेक कष्ट सहेर बेसहारा बनेकी २० दिने बालिकालाई सरु सुवेदीले ईश्वरको प्रसादझैं थापेकी थिइन्। उनैले जुराएदिएको नाम हो स्तुति।
एउटी आमा आफ्नै कोखबाट सातौं सन्तानको रुपमा जन्मेकी छोरीको अनुहार हेर्न पाइनन्। उनी बच्चा जन्माउँदै गर्दाको अवस्थामा मृत्युवरण गर्न पुगिन्। उनको मृत्यु सहज थियो त भन्ने प्रश्नको जवाफ हुम्लाकी सुडेनीसँग हुने कुरै भएन।
छोराको रहरमा जन्मेकी सातौं छोरीको जन्मसम्म काँतर बनिसकेकी एक आमा र एक महिलाको कथामात्र होइन यो। छोराको आसमा जन्माइएकी, जन्मदै अनाथ र बेसहारा हुन पुगेकी एक छोरी–चेलीको कथा पनि हो।
यी नानीको नाम स्तुति राख्नुको पछाडिको कारण बताउँदै तुलसालय आश्रमकी प्रमुख सुवेदी सुनाउँछिन्, 'नेपाली आमाहरुले यसरी छोराकै लागि पाँच–सातवटी छोरी जन्माउनुपर्ने अवस्था नआओस्, जन्मेका यस्ता छोरीहरुले जन्मदै दु:ख भोग्नु नपरोस् र कुनै बाबुआमाले पनि यसरी आफ्नो सन्तान पाल्न नसक्ने अवस्था नरहोस् भनेर मैले भगवानलाई स्तुति गरेँ र उनको नम नै स्तुति राखिदिएँ।'
हुम्लाको अदानचुली गाउँपालिका वडा ५ मा बुवा ३७ वर्षिय गोर्खे छन्त्याल र आमा ३२ वर्षिया गौराको कोखबाट २०७८ पुस २९ गते बिहानको ८ बजेर ४९ मिनेटमा स्तुति जन्मेकी हुन्। जन्मेपछि सुत्केरी आमाले सोधिन् के जन्म्यो ? उही त हो नि भनेर सुडेनीले सुनाइन्। बच्चा अझै निकाल्न बाँकी नै थियो। सालनाल काट्न बाँकी नै थियो। तर यता आमाले पहल गर्न छोडिसकेकी थिइन्। सुडेनीहरुले उठ बच्चा झिक्नुपर्छ भन्दै घच्घच्याउँदा त आमा गौरा सेलाइसकेकी थिइन्।
सबैले पाँच घण्टा भने पनि सुत्केरी गराउने सुडेनीहरुको भनाइअनुसार उनले बच्चाको सालनाल नकाट्दै प्राण त्याग गरेकी थिइन्। सरु सुनाउँछिन्, 'त्यसै दिन दिउँसो मलाई फोन आयो तर आवाज केही स्पष्ट सुनिएको थिएन। फोनमा कोही सुसाएको, घ्यारघ्यार गरेको आवाजमात्रै आइरहेको थियो। दुई गते मैले फेरि आफैं त्यही नम्बरमा फोन गरेँ। केहो ? किन फोन गरेको थियो ? भन्ने मनमा लागिरहेको थियो। त्यो दिन अलिअलि सुनिए पनि सबै कुरा स्पष्ट सुनिएन। एउट बच्चा जन्म्यो अनि मर्यो भन्ने सुने। मलाई किन फोन गरेको त भन्ने लाग्यो।
फेरी अर्को दिन फोन आयो, बच्चा जन्म्यो तर जन्मेको पाँच महिनामा आमाको मृत्यु भएको सुनियो। पाँच महिनाको बच्चा त टुहुरो हुनु भएन भनेर मैले भने। बच्चा रोएर मर्न लागेको छ उद्धार गरिदिनुपर्यो भन्ने अपेक्षा राखेको बुझें। तर त्यति टाढाबाट सानो बच्चालाई किन ल्याउने भन्ने लाग्यो। नेपालको कानुनअनुसार आफ्नै परिवारले भरसक संरक्षण गरौं भन्ने हुन्छ। ती बालिकाका पिता गोर्खे दमका रोगी हुनुका साथै आर्थिक रुपमा निकै गरिब थिए। प्रशव पीडामै ज्यान गुमाएकी आमापछि भर्खर जन्मेको शिशुमात्रै नभई उसकी अरु दिदीहरुको पनि बिजोग हुने भयो। छन्त्त्यालका दाजुभाइले नै बच्चा पालीदिने दाता खोज्न थालेका थिए।'
यसै क्रममा उनीहरु ललितपुर नख्खुस्थित तुलसालय आश्रमको सम्पर्कमा पुगेका थिए। सरुका अदानचुलीबाट बस चढ्ने ठाउँसम्म पुग्नलाई तीनवटा डाँडा चढ्नुपर्ने र तीनवटा बस चढेरमात्रै कोल्टी विमानस्थलसम्म पुगिन्थ्यो। उताबाट भरियालाई बोकाएर कोल्टी विमानस्थलसम्म ती नवजातलाई ल्याउनुपर्थ्यो। त्यसै समयमा हुम्लातिर भारी हिमपात जारी थियो। त्यतिमात्रै नभएर उताबाट कोल्टी र काठमाडौंसम्म बच्चालाई ल्याइपुर्याउने सम्पूर्ण खर्च आफैंले बेहोर्नुपर्ने भयो। यो सबै गरेर ८० हजारसम्मको खर्च पर्न आउँथ्यो। मसँग तत्काल त्यति ठूलो रकम थिएन।
अनि म दुई दिन दिन रोकिएँ। तर यता मन भने कटक्क खाएको थियो। न पेटभरि दूध न साफसफाइ, निरन्तर रोइरहेकी ती नवजातको लागि बाँच्नु पनि यातनाजस्तै थियो। कहिले मर्छ र भीडबाट फाल्दिउँजस्तो गरेका थिए। पैसाको व्यवस्थापन गरेर माघ १९ गते यहाँबाट बच्ची लिन फ्लाइटबाट नेपालगन्ज गएँ। सुनेँ- ६० वर्षपछि पहिलो पटक हिउँ परेको बेला थियो त्यो। उताबाट बच्चा डोकोमा बोकेर उनीहरु १९ गते नै हिँडेका थिए। यस्तो चिसोमा डोकोमा बोकेर कसरी बच्चा ल्याउँछन् भन्ने चिन्ता लागिरह्यो। उनीहरु कोल्टी विमानस्थलमा आइपुग्दा त प्लेन उडेको थिएन सबै हिउँले ढाकेको थियो।
नवजातसहित उनीहरु गाउँपालिकाको स्वास्थ्यचौकीमा गएर त्यो रात बसे। भोलिपल्ट उनीहरु पनि एयरपोर्ट आए र जसोतसो बच्चालाई मैले सुरक्षित हात पारेँ। तेत्रो दिनसम्म रोएर बसेको बच्चा मेरो काखमा आएपछि १० मिनेटसम्म नरोई मलाई एकटकले हेरिरहेकी थिइन्। मेरो काखमा आइपुग्दासम्म उनी २० दिनकी भएकी थिइन्।'
अवोध शिशुले सरुलाई यस्तो अनौठोसँग हेरिन् कि सरु त्यति नै खेरदेखि उनको मोहनीमा छिन्। त्यस दिन स्तुति मात्रै नभएर हुम्लाबाट उनकी पाँच र सात वर्षकी दुई दिदीहरु पनि सँगै आएका थिए, जसलाई तुलसालयले आफ्नो संरक्षण र स्नेह दिइरहेको छ।
सरु सुनाउँछिन्, 'स्तुति मेरो हातमा आएको दिन र मेरो छोरीको जन्मदिन संयोगले एकै दिन परेको थियो। मैले उनलाई आफ्नै कान्छी छोरी ठानेको छु। यहाँका सबै मेरा सन्तान नै हुन्। उनीहरुको नुहाउने, खानेदेखिको सबै कृयाकलापमा म प्रत्यक्ष सामेल हुन्छु तर स्तुतिसँग भने विशेष लगाव महसुस हुन्छ। यी साना शिशुहरुले गर्दा मेरो आफ्नो ओच्छयान पनि निजी छैन।
न्वारानको लागि प्रधानन्यायाधीश नै किन ?
अल्पायुमै निधन भएकी आफ्नी आमा तुलसादेवीको नाममा खोलिएको आश्रममा सातै प्रदेशका बालबालिका बस्छन्। तुलसालय सबैको साझा घर भएको छ। सरु सुनाउँछिन् 'अनाथ बालबालिकाहरु जहाँबाट आए पनि आश्रममा आएपछि परिवारमा आएका हुन्छन्। आश्रम नै उनीहरुको परिवार हुन्छ। उनीहरु फेरी सडकमै जान्छन् भन्ने समाजको मानसिकता चिर्नको लागि र यी बच्चा जहाँबाट आए पनि यिनीहरु पनि आमाका सन्तान हुन् र यिनीहरु पनि भोलि गएर सुशीला कार्की जस्ता अब्बल र उदाहरणीय बनुन् भन्ने सोचले मैले उहाँको आशिर्वादको लागि यहाँ बोलाएको थिएँ।
तुलसालयले नवजातको पास्नी र सबै कर्म पूरा गर्छ भनेर पास्नी गरेका थियौं। सुशीला कार्कीले नानीको गोडा ढोगेर टीका लगाइदिनुभयो। पछि अनुराधा कोइराला, सूचना आयोगका पूर्व आयुक्त यशोदा तिमिल्सिनालगायत पनि आउनुभएको थियो। आश्रममा साना बालबालिकाहरुलाई सबैले स्नेह गर्छन्। त्यहाँ भएका अन्य बालबालिकाहरुले खेलाउने, खुवाउनेदेखि डुलाउने र माया गर्ने गर्छन्।