शनिबार, असार २१, २०८२

रंग भर्दैछ कांग्रेस

पार्टी मुख्यालयमा रंग भर्ने काम मात्र नभएर पार्टीमै रंग भर्ने काम भइरहेको मुख्यालमा भेटिएका नेता-कार्यकर्ताहरुले बताउने गरेका छन्।
 |  बिहीबार, भदौ २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०

vianetvianet

काठमाडौं- सानेपाको वीपी नगरस्थित नेपाली कांग्रेसको मुख्यालयमा रंग भर्ने काम चलिरहेको छ। पार्टीका संस्थापक नेता वीपी कोइरालाको जन्यजयन्तीको पूर्वसन्ध्यामा कांग्रेसले मुख्यालयमा रंगरोगन गरेको हो।

यसअघि पार्टी मुख्यालय अघि पार्टीको चार तारे झण्डा फहराएको देखिन्थ्यो भने अहिले मुख्यालय भवनमा पेन्ट गरेर चार तारे झण्डा र पार्टीको चुनाव चिह्न रुख राखिएको छ। पार्टीको भवनको अघिल्तिरको मोहडामा पार्टीको हरियो रंग भरिएको छ।

पार्टीको मुख्यालयमा रंग भर्ने काम चलिरहँदा नेता-कार्यकर्ताको आउजाउ पनि बढ्दै गएको देखिन्छ। पार्टी मुख्यालयमा रंग भर्ने काम मात्र नभएर पार्टीमै रंग भर्ने काम भइरहेको मुख्यालयमा भेटिएका नेता-कार्यकर्ताहरुले बताउने गरेका छन्। कांग्रेसले यही भदौ २४, २५ र २६ गते संस्थापक नेता वीपी कोइरालाको जन्यजयन्तीको अवसरमा वीपी साहित्य महोत्सव गरिरहेको छ। पार्टी चलायमान बनाउनका लागि विभिन्‍न कार्यक्रम र सम्मेलनहरुमा कांग्रेस जुटेको देखिन्छ।

नेपाली कांग्रेस रुपान्तरणको बाटोमा अघि बढिरहेको छ। गत मंसिरमा भएको आम निर्वाचनपछि सत्ताको नेतृत्व पाउन नसकेपछि र गत वैशाखमा भएको उपनिर्वाचनमा पराजय व्यहोरेपछि निराश बनेको कांग्रेस साउन २ देखि १० सम्म बसेको केन्द्रीय समिति बैठकपछि भने जुर्मुराएको छ। नेपाली कांग्रेसले वार्षिक क्यालेण्डर बनाएर नै देशभर विभिन्‍न कार्यक्रम गर्ने र पार्टीलाई बलियो बनाउन आन्तरिक एकता सुदृढ बनाउने अभियानमा लागेको छ।

congress_office_sanepa1694082636.jpgसाउन १२ गते प्रजातान्त्रिक विचार समाजद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भएमात्र मुलुकमा प्रजातन्त्र बलियो हुने भएकोले पार्टीमा आन्तरिक एकता सुदृढ गर्दै पार्टी बलियो बनाउन लाग्‍न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए। कांग्रेसले गत साउनको केन्द्रीय कार्यसमिति बैठकपछि पछिल्लो समय विश्‍वकै 'हट केक' बनिरहेको जलवायु परिवर्तनको विषयमा नीतिगत रुपमा छलफल गरेको छ।

कांग्रेसले वार्षिक तालिका कार्यान्वयनको क्रममा पहिलो कार्यक्रमका रुपमा 'पोलिसी ह्याकाथन' कार्यान्वयन गरेको हो। अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर युवा र जलवायु परिवर्तन सम्बन्धी 'ग्रीन स्किल्स फर युथः टुवार्डस् अ सस्टेनेबेल वर्ल्ड' भन्‍ने नारामा 'पोलिसी ह्याकाथन' अन्तर्गत 'गीग इकोनोमी र क्लाइमेट एक्सन' कार्यक्रम गरेको हो। उक्त कार्यक्रमको संयोजन सहमहामन्त्री जीवन परियारले गरे।

त्यसैगरी दोस्रो कार्यक्रम अन्तर्गत कांग्रेसले वीपी साहित्य महोत्सव आयोजना गरिरहेको छ। विगतमा नेपाली कांग्रेसले वीपीलाई स्मरण मात्रै गर्ने गरेको भए पनि यसपटकदेखि भने वीपी, उनका विचार र उनका विचारले समाजलाई गरेको योगदानका विषयमा खोजी गर्ने र छलफल गर्दै नयाँ पुस्तालाई बुझाउने उद्देश्य राखिएको छ। यसको संयोजनको जिम्मेवारी सहमहामन्त्री बद्री पाण्डेलाई दिइएको छ।

यसबीचमा नेपाली कांग्रेसले अपूरा भ्रातृ संस्थालाई पूर्णता दिने र महाधिवेशन गराउनका लागि पहल थालेको छ। कांग्रेसको नर्सरी भनेर बुझिने नेपाल विद्यार्थी संघलाई विस्तार गर्दै ७१० सदस्यीय बनाइएको छ भने नेपाल तरुण दल विस्तार गर्दै ४०० सदस्यीय बनाइएको छ। महिला संघलाई पनि विस्तार गर्दै ५२ सदस्यीय बनाइएको छ। पार्टीका अन्य भ्रातृ तथा शुभेच्छुक संस्थाहरुलाई पनि चलायमान गराउने काम भइरहेको छ।

nepali_congress_office_sanepa 761694080942.png
कांग्रेसका विभागहरुलाई पूर्णता दिने काम भइरहेको छ। भदौ १५ गते १५ वटा विभागका संयोजक तोकिएका छन्। यसअघि कांग्रेसले प्रचार विभाग संयोजक तोक्दै विभाग विस्तार गरेको थियो। हाल प्रचार विभागले विभिन्‍न कार्यक्रमहरु गरिरहेको छ।

कांग्रेसले तल्लो तहसम्म नै कांग्रेसलाई चलायमान बनाउनका लागि गाउँ तथा नगर सम्मेलनहरु गरिरहेको छ। पार्टी संगठनलाई क्रियाशील बनाउँदै सबै तहले हालसम्म गरेका गतिविधिहरुको समीक्षा एवं आ–आफ्नो बार्षिक योजना प्रस्तुतीसहित गाउँ तथा नगर सम्मेलनलाई निरन्तरता दिइरहेका छन्।

विगतमा पार्टी नेतृत्व र नेताहरुको व्यक्तिगत कुरालाई लिएर आलोचना गर्ने नेताहरु अहिले पार्टीका सैद्धान्तिक र व्यवहारिक पक्षमा छलफल गरिरहेका छन्। संसद्‌मा पनि कांग्रेसको भूमिका फेरिँदै गएको छ। विगतमा माओवादी नेतृत्वको सरकारले गरेका हरेक काममा मौन समर्थन जनाउने कांग्रेस पछिल्लो समय फरक ढंगले प्रस्तुत भइरहेको छ। यसअघि संसद्‌मा बोल्दै महामन्त्री गगन थापाले भने, 'संसदलाई जुन ढंगले व्यवहार गरिएको छ, सांसदलाई जुन ढंगले व्यवहार गरिएको छ, जे गरे पनि हुन्छ भन्ने ठानिएको छ, सम्माननीय प्रधानमन्त्रीजी अब नयाँ ढंगले यी कुराहरू सामना गर्न तयार हुनुहोला।'

प्रकाशित: Sep 07, 2023| 18:12 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्