आइतबार, असार २२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मेलापर्व लक्षित बजार अनुगमनमा निस्कँदै काठमाडौं प्रशासन

मेलापर्व लक्षित बजार अनुगमनमा निस्कँदै काठमाडौं प्रशासन

आगामी १ असोजदेखि कम्तीमा १० टोली बजार अनुगमनमा पठाउने जिल्ला निर्णय। 
 |  मंगलबार, भदौ १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

vianetvianet

काठमाडौं– सरकारले आगामी १ असोजदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौंसहित उपभोक्तासँग सरोकार राख्ने विभिन्न ९ विभागका अधिकारीसहितको टोलीले बजार अनुगमन गर्ने भएको छ।

वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा उपभोक्ता अधिकारसँग सम्बन्धित विभागबाट संयुक्त रुपमा बजार अनुगमन गर्ने निर्णय गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले जानकारी दिए।

अब बजार अनुगमनमा वाणिज्य, आन्तरिक राजस्व, खाद्य प्रविधि तथा गुण नियन्त्रण, स्वास्थ्य सेवा, औषधी व्यवस्था, गुणस्तर तथा नापतौल, कृषि, पशु सेवा, पर्यटन विभाग र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सहभागी हुनेछन्। यसअघि वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमन गर्दै आएको थियो। 

विभाग एक्लैले अनुगमनका गर्दा प्रभावकारी काम हुन नसकेको भन्दै आलोचना हुने गरेको थियो। सचिव मरासिनीले जिल्ला प्रशासन कार्यालय र विभिन्न ९ विभागका प्रतिनिधिको उपस्थितिमा समन्वयात्मक बैठक सम्पन्न भएको जानकारी दिए। बैठकले आगामी १ असोजदेखि कम्तीमा १० टोली बजार अनुगमनमा पठाउने निर्णय गरेको छ।

वाणिज्य सचिव नेतृत्वको समितिको बैठकले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमनको अधिकार प्रत्यायोजन गरिएको सचिव मरासिनीको भनाइ छ। ‘उहाँहरुलाई बजार अनुगमन गर्न ‘म्यान्डेड’ दिइएको छ। सात सय ५३ वटै पालिकामा बजार अनुगमनको व्यवस्था मिलाइएको छ’, उनले भने। 

साधन स्रोतको सीमितताको बाबजुद पनि समन्वय र अनुगमनका कामलाई प्रभावकारी ढंगबाट अगाडि बढाइएको सचिव मरासिनीले बताए। ‘चाडपर्व लक्षित बजार अनुगमन हुन्छ, यसअघि वाणिज्य विभाग एक्लैले बजार अनुगमन गर्दै आएको थियो’, उनले भने, ‘अब उपभोक्तासँग सरोकार राख्ने सबै विभागका प्रतिनिधि सम्मिलित टोली बनाएर अनुगमनमा पठाइनेछ।’

प्रकाशित: Sep 05, 2023| 18:10 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्