काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत जेठमा भारत भ्रमणका बेला भएको १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सम्झौतालाई भारत सरकारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।
प्रधानमन्त्री नरेन्द्रभाइ मोदी नेतृत्वको मन्त्रिपरिषद् बैठकले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको हो।
नयाँ दिल्लीस्थित नेपाली राजदूत शंकर शर्माले हालै बसेको भारतीय मन्त्रिपरिषद् बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको बताए। भारतीय मन्त्रिपरिषद्को निर्णयसँगै अब नेपालबाट बिजुली खरिदका विषयमा थप अध्ययन र गृहकार्य थालिने उनको भनाइ छ।
प्रचण्डको भारत भ्रमणका बेला दुवै प्रधानमन्त्रीको उपस्थितिमा फुकोट कर्णाली र तल्लो अरुण निर्माणका लागि एमओयू भएको थियो। यस्तै, गोरखपुर–भैरहवा ४०० केभी प्रसारण लाइन निर्माण सुरु गरिएको घोषणा दुवै देशका प्रधानमन्त्रीले गरेका थिए।
नेपालले बर्खायाममा भारतमा बिजुली बेच्दै आएको छ भने हिउँदमास उताबाट किन्दै आएको छ।