आइतबार, असार २२, २०८२

बैतडीका १२ स्थानमा निर्माण गरिए ‘हेलिप्याड’ 

मनसुन आपतकालीन कार्ययोजना, २०८० अन्तर्गत सैनिक र गैरसैनिक गरेर १२ स्थानमा हेलिप्याड स्थापना गरिएका हुन्।
 |  मंगलबार, भदौ १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

vianetvianet

बैतडी–आपतकालीन उद्धारका लागि बैतडीका १२ स्थानमा ‘हेलिप्याड’ निर्माण गरिएका छन्। विपद् समय सहजै हेलिकोप्टर अवतरण गराउन तथा उद्धारका लागि सबै हेलिप्याड निर्माण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

उनले भने, ‘विपद् बेला आपतकालीन उद्धारका लागि सहजता होस् भनेर हेलिप्याड निर्माण गरेका हौँ। यसले तत्काल हवाई उद्धार गर्न मद्दत गर्छ।’ मनसुन आपतकालीन कार्ययोजना, २०८० अन्तर्गत सैनिक र गैरसैनिक गरेर १२ स्थानमा हेलिप्याड स्थापना गरिएका हुन्।

सदरमुकामस्थित हनुमानध्वज गुल्म गढी र टुँडिखेलमा सैनिक हेलिप्याड निर्माण गरिएका छन्। यस्तै पञ्चेश्वर गाउँपालिका–३ कुलाउ, सिगास गाउँपालिका–९ चौखाम, सिगास–७ कै शिवलिंग, पुर्चौडी नगरपालिका–१ हाट, पुर्चौडी–५ कुवाकोट, पुर्चौडी–३ नकाली, पाटन नगरपालिका–४ पाटन, डिलासैनी गाउँपालिका–३ लेक, सुर्नया गाउँपालिका–२ सिउडे र दोगडाकेदार गाउँपालिका–१ रिममा गैरसैनिक हेलिप्याड निर्माण गरिएका हुन्। 

मनसुन प्रभाव बढ्दै गइरहेकाले बाढी, पहिरो, चट्याङ र अन्य विपद् आइपर्दा आपतकालीन रूपमा हेलिकोप्टर अवतरण गराउन सहज होस् भनेर हेलिप्याड निर्माण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

विपद् व्यवस्थापन तथा न्यूनीकरणका गर्ने उद्देश्यले हेलिप्याड निर्माण गरिएको पुर्चौडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमले बताए। उनले भने, ‘विपद्का बेला तत्काल हवाई उद्धार र राहत वितरण गर्न पनि सहज होस् भनेर हेलिप्याड निर्माण गरिएका हुन्।’ 

यसका साथै  विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका लागि सबै स्थानीय तहलाई  तयारी अवस्थामा रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। विपद्बाट घरवारविहीन हुन सक्ने परिवारको उद्धार तथा व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहले आश्रयस्थल तथा खुला क्षेत्रको पहिचान गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनामा उल्लेख गरिएको छ। 

स्थानीय तहमा रहेका विद्यालय, सार्वजनिक जग्गा, सामुदायिक भवन आदिलाई आश्रय स्थलका रूपमा प्रयोग गर्न सकिने त्यस्ता क्षेत्रको पहिचान गरिएको  छ। मनसुनी वर्षालाई ध्यानमा राखेर यसबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्ने, सडक अवरुद्ध भएमा तत्काल खुलाउन मेसिन र औजार तयारी अवस्थामा राख्ने, त्यस्ता मेसिन र औजार सञ्चालन गर्नेको फोन नम्बरसहितको सूची जिल्ला आपतकालीन सञ्चालन केन्द्रले राखेको छ।

विपद् समय परिचालन गर्नका लागि तीनवटै सुरक्षा निकायको तालिमप्राप्त जनशक्ति र एम्बुलेन्स पनि तयारी अवस्था रहेको जनाइएको छ।–रासस

प्रकाशित: Sep 05, 2023| 10:45 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्