मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख : अर्थमन्त्री महत

अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख : अर्थमन्त्री महत

 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

गण्डकी- अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख बनेको बताएका छन्। पोखरा पर्यटन परिषद्को वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले भूकम्प, कोभिडलगायत विभिन्न कारणले मुलुक अप्ठ्यारोबाट गुज्रिए पनि निराश बन्नुपर्ने अवस्था नरहेको बताए।

National life

नकारात्मक कुराले केवल आत्मविश्वास घटाउने भन्दै उनले अलिकति समस्या आयो भन्दैमा निराश हुन नहुनेमा जोड दिए। राजस्व संकलनको अवस्था गत आर्थिक वर्षको तुलनामा राम्रो भएको बताउँदै उनले राम्रा दिन आउनेतर्फ सकारात्मक छलफल सुरु गर्नुपर्नेमा जोड दिए।

आर्थिक क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकार निरन्तर क्रियाशील रहेको बताउँदै अर्थमन्त्री डा महतले पुँजीगत खर्चलाई प्रभावकारी ढंगले बढाउने बताए। पर्यटनलाई समृद्धिको महत्वपूर्ण आधारका रुपमा लिइएको बताउँदै उनले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने उल्लेख गर्दै ट्रान्जिट धेरै भए पर्यटकीय गतिविधि बढ्ने बताए।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका सम्बन्धमा प्रदेश र संघीय सरकारले ध्यान दिएको बताए। पछिल्ला समयमा छोटिएका पदमार्गलाई कसरी विस्तार गर्ने सम्बन्धमा छलफल आवश्यक भएको बताउँदै उनले उत्पादन र रोजगारी वृद्धिलाई जोड दिनुपर्ने बताए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पाँच सय रूपैयाँ दरका भारतीय नोट नचल्दा भारतीय पर्यटक समस्यामा परिरहेको र त्यसले उनीहरूको आगमन प्रभावित भएको बताए। पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा चाँडो यसतर्फ ध्यान जानुपर्ने बताउँदै उनले निर्माणाधीन पोखरा-मुग्लिन सडकको ढिलाइका कारण पोखराको पर्यटनमा प्रत्यक्ष असर पारिरहेको बताए।

प्रकाशित: Sep 04, 2023| 19:50 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्