काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्दो क्रममा छ। निरन्तर बढ्दै गएको इन्धनको मूल्य यो वर्षकै उच्च विन्दुमा पुगेको छ।
यो साता शुक्रबार बजार बन्द हुँदा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५.५५ डलर कायम भएको छ। शुक्रबार एकै दिन २.३ प्रतिशतले मूल्य बढेको हो। त्यस्तै ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८८.५५ डलर कायम भएको छ भने मुर्बान तेलको ९०.६९ डलर पुगेको छ।
आयल प्राइस अनलाइनका अनुसार एक सातामै अमेरिकाको तेल मौज्दात २.४ प्रतिशत (१ करोड ६ लाख ब्यारेल) घटेको छ। यसले गर्दा तेलको माग बढ्न गई मूल्य बढ्न गएको हो।
त्यस्तै आगामी अक्टोबरदेखि रुस तथा साउदी अरेबियाले कच्चा तेलको उत्पादनमा कटौती गर्ने तयारी गर्नुले पनि केही त्रास बढेको छ। रुसले यो साता तेल कटौतीबारेको निर्णय पारित गर्नेछ भने साउदीले दैनिक करिब १० लाख ब्यारेल कटौतीको तयारी गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको सिधा असर नेपालमा पनि पर्छ किनकी यहाँ इन्धन उत्पादन हुँदैन। नेपालले भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्रशोधित इन्धन आयात गर्छ। आईओसीले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र आफ्नो लागतसमेत हिसाब गरी प्रशोधित तेलको मूल्य निर्धारण गरेर १५–१५ दिनमा नेपाल आयल निगमलाई मूल्यसूची पठाउने गरेको छ।
यही सूचीका आधारमा नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन हुँदै आएको छ। केही दिन अघिमात्र निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ र पेट्रोल-डिजेलमा प्रतिलिटर ३-३ रुपैयाँ मूल्य बढाएको छ। अब १६ सेप्टेम्बरमा फेरि मूल्य समायोजन हुनेछ।