मंगलबार, असार २४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • राज्य संयन्त्रबाट हुने कतिपय निर्णयले अर्थतन्त्र प्रभावितः मन्त्री महत 

राज्य संयन्त्रबाट हुने कतिपय निर्णयले अर्थतन्त्र प्रभावितः मन्त्री महत 

देशको अर्थतन्त्रलाई लयमा ल्याउन पत्रकारको योगदान महत्त्वपूर्ण रहेको  मन्त्री महतको धारणा।
 |  शनिबार, भदौ १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०

vianetvianet

काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगको चुनौती थपिएको बताएका छन्। आज आर्थिक पत्रकार समाज (सेजन) को २५औं वार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री  महतले राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत् पनि परीक्षणको दौडबाट गुज्रिइरहेको औंल्याए।

राजनीतिक क्षेत्रबाट राज्य संरचनामा जिम्मेवारीमा पुगेका, कर्मचारी, सुरक्षा निकाय, निजी क्षेत्र वा पत्रकार जगत् सबै क्षेत्रमा प्रविधिले चुनौती थपेको मन्त्री डा. महतले बताए। उनले भने, ‘हामीले पूर्ण व्यवसायका साथ जिम्मेवारीका साथ काम गर्नुको विकल्प छैन। अर्थ मन्त्रालयको जिम्मा पाएपछि इमानदारीपूर्वक कसरी देश र जनताका लागि काम गर्ने भन्ने मानसिकताबाट काम गर्ने प्रयास गरेको छु। यसलाई साथीहरुले आत्मसात् गर्नुभएको छ। कतिपय अवस्थामा प्रश्न पनि गर्नुभएको छ।’

संसद्भित्र र बाहिर आफ्ना निर्णय आधारसहित प्रतिरक्षा गर्दै आएकाले सबैले स्वीकारेका मन्त्री महतले दाबी गरे। ‘आर्थिक पत्रकार समाजलगायत सञ्चार जगतले अर्थमन्त्रालय र मेरा विषयमा कुनै जिज्ञासा भए प्रत्यक्ष रुपमा चासो, चिन्ता, द्विविधा र प्रश्नका लागि म सधैं खुला छु,’ उनले भने।

राम्रो गर्न खोज्दाखोज्दै कतिपय अवस्थामा निर्णय गर्न सही सूचना र सबैको सहयोग आवश्यक पर्ने उनको धारणा छ। त्यसका लागि आर्थिक पत्रकार समाज सेजनसँग निरन्तर अन्तरक्रिया रहिरहोस् भन्ने आफ्नो चाहना रहेको उनलेब बताए। ‘कामका सिलसिलामा लागिरहँदा हाम्रो कुरालाई ध्यान दिएन कि अथवा सुनेन कि भन्ने लाग्यो भने समयमै मलाई जानकारी दिन आग्रह गर्छु,’ उनले भने।

देशको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास गरिरहेको उनले बताए। मन्त्री महतले भने, ‘पत्रकार, बैंकिङ र निजी क्षेत्रबाट पनि म त्यही किसिमको सहयोग अपेक्षा गर्छु। राज्यबाट पनि तपाईंहरुले सहयोगको अपेक्षा गर्नुभएको छ, त्यो स्वाभाविक हो। त्यसको सहजीकरण हुन्छ।’

पर्यटन क्षेत्र सुधार भइरहेको, विदेशी मुद्राको सञ्चिति पर्याप्त रहेको उनको भनाइ छ। ‘आर्थिक गतिविधि अगाडि बढाउनका लागि जे समस्या छ, त्यसलाई सम्बोधन गर्न सरकार लागिरहेको छ। आगामी दिनमा देशको अर्थतन्त्र सकारात्मक दिशामा जानेछ’, उनले भने। 

सरकारले अनुमान गरेअनुसार राजस्व नबढे पनि पोहोर सालको तुलनामा वृद्धि भइरहेकाले आउँदो वर्ष लक्ष्यमा पुग्ने विश्वास लिएको उनले जानकारी दिए। उनले भने, ‘राज्य संयन्त्रले गर्ने कतिपय निर्णयले पनि अर्थतन्त्र प्रभावित भइरहेको छ। निजी क्षेत्रको समस्यालाई माइक्रो म्यानेजमेन्ट गर्नेतर्फ लाग्यो भने पनि समस्या आउँछ।’

प्रकाशित: Sep 02, 2023| 13:00 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्