काठमाडौं– नेपाल पर्यटन बोर्डले सन् २०२३ को आठ महिनामा ६ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक सार्वजनिक गरेको छ। बोर्डका अनुसार जनवरीदेखि अगस्तसम्म ६ लाख १ हजार ३६० पर्यटक नेपाल भ्रमणमा आएका हुन्।
पछिल्लो अगस्तमा मात्रै ६७ हजार १५३ पर्यटकले नेपाल भ्रमण गरेको बोर्डको विवरण छ। अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ४१ हजार ३०४ जना पर्यटक नेपाल आएका थिए। सन् २०१९ मा ७३ हजार ८१४ पर्यटक नेपाल आएका थिए।
पछिल्ला महिनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेको बोर्डका प्रेस संयोजक टीपी भुसालले बताए। पर्यटक आगमन संख्या निरन्तर बढ्दै जाँदा सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य भेट्याउन मुस्किल नहुने उनको भनाइ छ।
यो अवधिमा सबैभन्दा बढी भारतबाट २६ हजार ६६५, चीनबाट ५ हजार २७, अमेरिकाबाट ४ हजार ६२९, श्रीलंकाबाट ३ हजार ५५८ र बंगलादेशबाट ३ हजार १९० पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्यांक छ।
यस्तै, बेलायतबाट २ हजार ७११, स्पेनबाट १ हजार ५८८, जापानबाट १ हजार ५२०, इटालीबाट १ हजार ४९६ र अस्ट्रेलियाबाट १ हजार ३४७ पर्यटकले नेपाल भ्रमण गरेका छन्।