काभ्रे– जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गरिने मूल्यांकनमा पहिलो हुन सफल चार पालिकालाई सम्मान गरेको छ। समितिको सातौं जिल्लासभा अवसरमा गाउँपालिकातर्फबाट महाभारत र खानीखोला गाउँपालिका तथा नगरपालिकातर्फबाट धुलिखेल र बनेपा नगरपालिकालाई सम्मानपत्रद्वारा सम्मान गरिएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा तयार पारिएको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा आर्थिक वर्ष २०७८/७९ को नतिजामा जिल्लाका गाउँपालिकामध्य डाँडापारिस्थित महाभारत गाउँपालिका प्रथम र नगरपालिकामध्येमा धुलिखेल नगरपालिका प्रथम भएका थिए।
त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा तयार पारिएको स्थानीय तह संस्थागत क्षमता मूल्यांकनमा आव २०७८/७९ मा गाउँपालिकामा डाँडापारिस्थित खानीखोला गाउँपालिका र नगरपालिकामा बनेपा नगरपालिका प्रथम भएका थिए।
सम्मानप्राप्त गर्ने पालिकाका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको टोलीलाई अर्थमन्त्री डा प्रकाशशरण महतले संयुक्त रुपमा सम्मानपत्र प्रदान गरे। जिल्लामा ६ वटा नगरपालिका र सात वटा गाउँपालिका छन्।
महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जिल्ला समन्वय समितिले सम्मान गरेर जनसेवाको काममा थप ऊर्जा मिलेको बताए। जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले सातौँ जिल्लासभामा आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
उनले जिल्ला समन्वय समितिबाट आव २०७९/८० मा सम्पादित १८ बुँदे महत्त्वपूर्ण कार्य, आव २०८०/८१ का लागि ५५ वटा प्रस्ताविक नीति कार्यक्रमका साथै २०७८/७९ को वित्तीय प्रगतिलगायतका प्रतिवेदन पेस गरेका थिए।–रासस