आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जहाँ मर्नका लागि छोडिएकी शिशुदेखि पतिबाट बलात्कृतसम्मले पाएका छन् न्यानो

बाध्यताले खुलेको एउटा अनाथालय
Siddartha premir insuranceSiddartha premir insurance

जहाँ मर्नका लागि छोडिएकी शिशुदेखि पतिबाट बलात्कृतसम्मले पाएका छन् न्यानो

तुलसाय आश्रमकी प्रमुख सरु सुवेदीले नचिताएको एउटा परिस्थितिलाई सम्बोधन त गरिन् तर त्यो त्यति सहज भने अवश्य थिएन।
 |  शनिबार, भदौ १६, २०८०
nespernesper

विजेता

विजेता

शनिबार, भदौ १६, २०८०

सुन्दर, शान्त र सानो परिवार बस्ने आफ्नै घरमा अनाथाश्रम खोल्ने रहर त कसको हुँदो हो र ! घरमा श्रीमान्-श्रीमती र एउटी छोरीसँग हाँसीखुशी बसिरहेकी सरु सुवेदीलाई सामाजिक काममा रुचि सानैदेखि थियो। त्यही भएर महिला समूहमा आवद्ध हुनु, पर्दा सक्दो सहयोग गर्नु, आमाबाबुको नाममा संस्था खोल्नुजस्ता काम उनले रहरले गरिरहेकी थिइन्।

triton college

तर उनले कहिल्यै सोचेकी थिइनन् होला- स्वाभाववश गर्ने सहयोगले एकदिन उनलाई कर्तव्य र जिम्मेवारीको ठूलो भारी बोकाउने छ र आफ्नै घरलाई पनि आश्रममा परिणत गर्नुपर्ने अवस्था आइलाग्नेछ। साधारण मानिसको लागि यो कल्पनाभन्दा बाहिरका कुरा हो। तर भनिन्छ नि हाम्रो भूमिका पहिल्यै तय हुन्छ। हामीले यस्ता कुरा नमाने पनि सम्भवतः सरुलाई पहिल्यै यस्तो भूमिकाको लागि छानिएको रहेछ। नत्र यत्रो आँट गर्नु र परिवारले साथ दिनु सबैको हकमा लागू हुँदैन।

भारी हिमपातको बेला हुम्लाजस्तो विकट ठाउँबाट तीन वटा डाँडा र खोला तरेर आफ्नै खल्तिबाट ८० हजार खर्च गरेर मर्नको लागि छोडिएकी २० दिने नवजात शिशुको उद्धारका लागि कुन चेतनाले डोरिन्छ होला मान्छे? किन हुम्लाकी एउटी बच्चीको लागि उनको मन यतिविधि व्याकुल भएको होला ?

यस्ता प्रश्न अनेक छन्। हुन पनि अनाथ बालबालिका र वृद्धवृद्धाको अनुहार देखाएर यस्ता अनाथालय र वृद्धाश्रमलाई मागी खाने भाँडो बनाएकाहरु पनि छन्। आश्रममै यौन दुर्व्यवहारमा परेका घटना त कति हो कति। त्यसैले पनि यी र यस्ता संस्थामाथि विश्वास गर्न मन लाग्दैन, गर्नु पनि हुँदैन। तर सरुले यो संस्था जन्माएकी होइनन्, बरु सडकबाट उद्धार गरी ल्याइएकालाई सडकमै पुर्याउन नसक्ने उनको नैतिकताले संस्था र सरु दुवैलाई जन्माएको भन्दा उचित होला।   

यसरी जन्मियो तुलसालय  
'पहिलो लकडाउनको समय थियो। सरकारले हिँडडुल नगर भन्दाभन्दै सधैं मर्निङ वाक गर्ने बानी भएकोले बरु एकाबिहानै ४ बजे नै हिँडेर आइहाल्ने विचारले त्यसदिन पनि म र मेरी एकजना बहिनी सयरमा निस्क्यौं। उज्यालो राम्रोसँग भइसकेको थिएन। यस्तोमा एकजना वयस्क मान्छे हातमा केही बोकेर हाम्रोतिर दौडँदै आइरहेका थिए। पहिले त मनमा चिसो पस्यो, किनभने एक त निषेधको समय त्यसमाथि सुनसान सडकमा को होला यसरी पछि लाग्ने ? मनमा अनेक कुरा खेल्यो। नजिकै आएपछि देखेँ- उसको हातमा काटेको आधा लौका थियो जो लिएर उनी हाम्रो पछिपछि दौडँदै आइरहेका थिए।

Metro Mart
vianet

मैले पूरै बल लगाएर हिँड्दाहिँड्दै भनेँ- किन हाम्रो पछि लागेको ? उनले काटेको आधा लौका किन्न अनुरोध गरे। मैले भनेँ- मलाई चाहिएको छैन। हामी झन् रफ्तारमा हिँड्न थाल्यौं। तर उनी पछि आउन छोडेनन्। उनी भन्दै थिए- मेडम सुन्नुस् न मलाई समाचार सुन्नु छ। यो लौका लिनुस् र मलाई २० रुपैयाँ दिनुस् न। मैले रेडियोमा हाल्न ब्याट्री किन्नु छ। गाउँमा मेरा बच्चाहरु छन्, उताको समाचार सुन्नु छ। अनि म अडिएँ। उनीमाथि दया लागेर आयो। उनले भने, म सुदूरपश्चिमको मान्छे हो। कमाउन भारत गएको थिएँ। यहीँ नेपालमै काम पाइन्छ कि भनेर श्रीमतीसहित फर्कें। चैत ११ गते बन्द (लकडाउन) हुनु अगाडि म्यानेजरसँग सम्पर्क गरेर घर फर्केको थिएँ, यतै बिलखबन्दमा परेको छु। खान नपाएर मर्न लागेको छु। उता गाउँमा मेरा बच्चा र बाआमा हुनुहुन्छ, केही खबर थाहा पाउन सकेको छैन।

अनि मैले सोधेँ- तपाईंहरु कति परिवार हुनुहुन्छ ? उनले भने- आठ परिवार। मैले भनेँ- अहिले अँध्यारै छ। पाँच बजेतिर तपाईंहरु जति परिवार हुनुहुन्छ सबै जना यहीँ आउनुस्। म फर्केर आउँदा उनीहरु सबै जम्मा भइसकेका थिए।

त्यहाँका वडाध्यक्षले स्थानीय नागरिकता मागे तर उनीहरु बाहिर जिल्लाका थिए। सहयोग गर्ने निकायहरु पनि असहयोगी भएका थिए। सहयोगी हातहरु भीड र सडकमा मात्रै हिँडेका थिए। खोला किनारका यस्ता ठाउँसम्म पुगेका थिएनन्। अवस्था बिजोग थियो। त्यो दिन म उनीहरुलाई सहयोग गर्ने आश्वासन दिएर सम्पर्क नम्बरसहित घर आएँ। कोभिडको बेला भए पनि हाम्रो २५ जनाको महिला समूह थियो। हामीले उनीहरुलाई सहयोग गर्ने भयौं। यसरी हामीले दाल-चामल, च्यूरा लगायत खाद्यान्न सामान सबै गरेर सक्दो सहयोग गर्यौं। यो पहिलो पटक थियो। त्यसै दिन बेलुका बोलाएर राहत वितरण गर्यौं।

Saru subedi1693560796.jpg
सरु सुवेदी

त्यसपछि एक दिनमा ५० पोका वितरण गर्ने उद्देश्य राख्यौं। किनभने बाहिर भोकभोकै बिचल्ली पर्नेहरुको भीड ठूलो थियो। कस्तोसम्म अवस्था देख्यौं भने घरबाट बाहिर निस्के घरबेटीले भित्र पस्न नदिने भित्रै बस्यो भने खाने के भन्ने चिन्ता। हामीले मोबाइल सर्भिस गरेर दुई दिन एक ठाउँमा राहत वितरण गरेपछि अर्को दुई दिन दोस्रो स्थानमा जान्थ्यौं। किनभने एकै ठाउँको मान्छे मात्रै लाभान्वित नहोउन्। पीडित सबैले राहत पाउन् भन्ने हाम्रो ध्याउन्न थियो। खाना पकाएर वितरण गर्ने काम पनि गर्यौं। तर मैले के पाएँ भने हिँड्न सक्ने खुट्टा दह्रो भएको मान्छे गएर खाए तर घरमा सुत्केरी र बिरामी, वृद्धवृद्धाहरु बन्चित हुने भए। यसरी हामीले पुनः तरिका बदल्यौं। हामीले कोभिडकालमा २ सय ९० दिन लगातार राहत वितरण गर्यौं। २ लाख ५० हजार बढीलाई राहत दियौं।

राहत वितरण गर्दा के लाग्यो भने चुलो हुनेले त पकाएर खाए तर चुलो र बस्ने ठाउँ नभएका अलपत्र परेकाहरु पनि थिए सडकमा। जसको लागि हाम्रो राहतको पोकोको कुनै उपयोगिता थिएन। अनि हामीले दिउँसो राहत वितराण गर्ने र बेलुकी घरमै पकाएर राति ५० पोका र पानी लिएर अलपत्र बसेका मान्छेलाई टाढाबाटै खाना र पानी दिने काम पनि गर्यौं। यसरी एकदमै जोशका साथ समूह र परिवार नै राहत वितरणमा लागेका थियौं। बाहिर निस्किँदा बाटोमा लुगा च्यातिएका, जुम्रा परेका, आङ नै देखिने गरी बसेकाहरु पनि भेट्यौं। अनि फेसबुक मार्फत लाउन मिल्ने तर फाल्न लोभ लाग्ने लुगा सहयोगको अपिल गर्यौं। थुप्रैले छ भने तर लकडाउनको बेला ल्याउने कसरी ?

अनि हामीले गाडीबाट लुगा ल्याएर सडकमा बाँड्यौं। राहत वितरणको क्रममा कस्तोसम्म अवस्था देख्यौं भने एउटा प्लास्टिकको बोरा ओछ्याएर अर्को ओढेर सुतेको छ। ज्याला–मजदुरी गरेर खाने मान्छेहरु सडकमै थिए। अनि मैले फेसबुकमा लेखेँ- हामीले म्याट र ब्लांकेट वितरण गर्ने योजना बनाउँदै छौं। कसैले चाहे सहयोग गर्नुस्। यस्तोमा कस्तो फिडब्याक आयो भने सडकको मान्छे आज नयाँ दियो भने बेचेर रक्सी खान्छ भोलि फेरि उस्तै। कतिपयले आर्थिक सहयोग पनि गरे र हामीले पातलो ब्लांकेट र म्याट वितरण गर्यौं। खासमा हामी सबै कोभिड पीडित थियौं। त्यसपछि मनमा विचार आयो- यसरी कहिलेसम्म पकाएर राहत वितरण गर्ने ?

खाद्यान्न, लत्ताकपडा कहिलेसम्म घर–घर गएर बटुलेर बाँडिरहने वा सुत्ने ओछ्याउने कहिलेसम्म वितरण गर्ने ? त्यसपछि हामीले सडकमा अलपत्र पीडितहरुलाई व्यवस्थित आश्रममा पुर्याउने निर्णय गर्यौं। अलपत्र बालबालिकालाई बालआश्रममा, वृद्धवृद्धालाई वृद्धाश्रममा र मनोरोगीलाई संरक्षण गर्ने ठाउँमा पुर्याउने विचार गर्यौं। निर्णय गरिसकेपछि सडकमा अलपत्र परेका वृद्धवृद्धा, मानसिक रोगीलगायतलाई उद्धार त गर्यौं तर सम्बन्धित आश्रमहरुमा पुर्याउन जाँदा कसैले राख्न मानेनन्। उनीहरुको जवाफ थियो- हाम्रो अहिले उद्धार कार्य रोकिएको छ।

किन रोकिएको छ भनेर सोध्दा यहाँका बाआमा बिरामी छन्। हामीसँग श्रोतसाधन प्रशस्त छैन, हामी नै बिरामी छौं भन्ने उत्तर आयो। जति वटा ठाउँमा चाहारे पनि कसैले राख्न मानेनन्। यसरी हामीले उद्धार त गर्यौं तर त्यसको व्यवस्थापन भएन। सडकबाट ल्याइसकेका वृद्धवृद्धा र अशक्तलाई फेरि सडकमै पुर्याउनलाई हाम्रो नैतिकताले दिएन। त्यो त अमानवीय काम भयो। अनि मैले सोचेँ- आफ्नै आमाबाबुको नाममा खोलेको संस्था तुलसादेवी हरिहर फाउण्डेसन हामीसँग छ। हामी दर्ता भइसकेका थियौं र अडिट गरिरहेका थियौं। समस्या के थियो भने हामीले त्यस्तो कुनै संस्था सञ्चालन गरेका थिएनौं। अनुभव पनि थिएन। न त आश्रमको रुपमा ल्याउने कुनै तयारी थियो। अपर्झट आइपरेको समस्यालाई व्यवस्थापन गर्नु थियो। अनि आफ्नै घरमा ती सडकबाट उद्धार गरेर ल्याएकालाई संरक्षण दिनुपर्यो। यसरी बाध्यतामा तुलसालयको जन्म भएको हो।

घरलाई आश्रम बनाउँदाको सकस
तुलसाय आश्रमकी प्रमुख सरु सुवेदीले यसरी नचिताएको एउटा परिस्थितिलाई सम्बोधन त गरिन् तर त्यो त्यति सहज भने अवश्य थिएन। उनी एक साधारण महिलाबाट सडकबाट ल्याइएका अनेक प्रवृत्ति र परिस्थितिका मानिसको संरक्षक बन्न पुगेकी थिइन्। भैंसेपाटी, ललितपुरका प्रहरीहरु साक्षीछन् जसले उद्धार गरेर त्यस्ता सडकका थप मानिस ल्याइदिएका थिए।

सरु बताउँछिन्, 'कोभिडको बेला उद्धार गरेका सबैलाई हामीले आफ्नै घरमा राख्नुपरेको कारण एउटा साधारण घर आश्रममा परिणत भयो। यसै कारण तुलसालयमा यति धेरै प्रकारका मान्छे छन्। सबैलाई घर ल्याएको दिन आफ्नै घरमा भाडामा दिएको तल्लो तल्लाको भाइबहिनी जो घर गएका थिए तिनीहरुसँग एउटा कोठामा सामान राखेर बाँकी म प्रयोग गर्छु भनेर सबैलाई राखेँ। म्याट र ब्ल्यांकेट ओढ्ने दिएर संरक्षण दिनुपर्ने अवस्था आइलाग्यो। सुरुमा अप्ठयारो त पर्यो तर मानवीय काम हो लौ गर्दै जाउँ भन्ने मनस्थितिका साथ लाग्दै गयौं र बाटो बन्दै गयो।

सुरुवातमा डेढ वर्षकी एउटी नानीमात्र थिइन्। भैंसेपाटी प्रहरीले मानसिक बिरामी आमा र डेढ वर्षकी छोरीलाई ल्याइदिएको थियो। सुरुमा महिला समूहको सहयोगमा राहत कार्यको सुरुवात गर्यौं। पछि कतिपयले सहयोग पनि गरे। मैले गोदावरीमा रहेको जग्गा बेचेकी थिएँ चोकमा घर बनाउनको लागि। सुरुको १५ प्रतिशत एड्भान्स बुझेको थिएँ। त्यसैबाट कोभिडकालमा अनवरत राहत वितरण गरेको हो। आफूले गोजीबाट खर्च गरुन्जेल चुनौती शून्यजस्तै हुन्छ तर आर्थिक अवस्था सबल नभएपछि भयंकर चुनौतीपूर्ण हुन्छ। हुन त दाताहरु र सहयोगी हातहरुले सहारा नदिएका होइनन् तर त्यो पुग छैन। ४ देखि १३ वर्षका २२ जना बालबालिका विद्यालय पढ्न जान्छन्। अहिले १५ र १८ महिने बालिकासहित ३० जना बालबालिका, बिहान-बेलुका खाना पकाउने २ जना सहयोगी, १० जना विभिन्न अवस्थाका वयस्कलगायत आश्रममा आश्रित छन्।

Tulasalaya1693560993.jpg
आश्रममा रहेका बालबालिका

नाट्यकर्मी डा. सावित्री कक्षपति मल्लले हुम्लाबाट उद्धार गरी ल्याएकी बालिकाको लागि भनेर ८ हजार प्रतिमहिना सहयोग गर्दै आइरहेकी छन्। त्यस्तै इनह्वील राजधानी नामक संस्थाबाट १ छोरीको पढाइको ७५ प्रतिशत खर्च सहयोग भएको छ। १२ जना मानसिक रोगीलाई पुनर्स्थापना गसिसकेको छ तुलसालयले। केही बालबालिकालाई आफन्तको जिम्मा लगाइएको छ। सहयोगीहरुले खाद्यान्न सहयोग गर्नुभएको छ। आफ्नै घरमा राख्नुपरेकोले चाहिने जति ठाउँको अभाव छ। त्यही भएर पनि व्यवस्थित गर्न सकेका छैनौं। खाद्यान्नबाहेक औषधिपानी, लाउने कुरा अपुग नै छ। प्रहरीहरु गस्तीमा जाँदा मानसिक रोगीहरु लिएर आउँछन्। व्यवस्थापन राम्रो हुन नसकेका कारण कतिले ढोका फोडेर भागिदने, माथिबाट हामफालेर भाग्ने गर्छन्। यस्तोमा तुरुन्त प्रहरीकोमा खबर गर्नुपर्छ, निवेदन हाल्नुपर्ने तनाव हुन्छ।

व्यवस्थापन बलियो बनाउन सके त मैले आफैं पनि मानसिक रोगीलाई काउन्सिलिङ गर्न सक्छु। पुनर्स्थापनाको लागि आफन्त खोज्छौं। पहिले फेसबुक पेजमार्फत प्रकाशित गर्छौं अनि त्यसरी सम्पर्कमा आउँछन्। मानसिक रोगी छ तर त्यसरी लान नसकिने अवस्था छ भने हामीले उपचार गराउँछौं। अनि परिवार-आफन्तको जिम्मा लगाउँछौं।

यहाँ ठाउँ साँघुरो भएपछि चाँगुनारायण नगरपालिका-४ मा यहाँबाट आश्रमका सबै बच्चा र वयस्कसहित उता सूचीकृत गरेर लगेर गएका थियौं। ठाउँ ठूलो र पुग्ने थियो तर भाडा महँगो थियो। ६ महिनाको अग्रिम भाडा दिएर गएको थिएँ तर त्यसपछि पैसाको व्यवस्थापन गर्न सकेनौं। भाडामा सहयोग गरिदिन त्यहाँका वडाध्यक्ष र मेयरलाई पटक पटक भेट्न खोज्दा पनि भेट्न चाहेनन्।

त्यहाँका स्थानीयले यहाँ आश्रम नबसोस् भनेर पानीको पाइप निरन्तर काटिदिने गरेर दु:ख दिए। त्यसपछि पुनः नख्खुस्थित आफ्नै घरमा फर्कनुपर्यो। समाजको मानसिकता अझै यस्ता असहाय र अशक्तप्रति कस्तो छ भन्ने कुराको यो एउटा उदाहरण हो। यहाँ ठाउँको व्यापक अभाव छ, तर जेनतेन चलाएका छौं।

तुलसादेवी–हरिहर फाउण्डेसनले ०६९ सालबाट काम गरे पनि दर्ता २०७५ मा भएको हो। कानुनी पाटोले गर्दा समय लाग्यो। राष्ट्रिय बाल परिषद्सँग हामी जोडिने प्रक्रियामा छौं। अहिले विधान संशोधन गर्न लागेका छौं। समाज कल्याणले हामीलाई स्वीकृति दिइसकेको छ। आश्रमले दीर्घकालीन कामका लागि चारवटा अक्षयकोष स्थापना गर्न लागेको छ। यज्ञप्रसाद कक्षपती–सावित्री कक्षपतीको नाममा १ लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना हुने भएको छ। तुलसालय असहाय उपचारको लागि १ लाखको अक्षयकोष स्थापना गर्न लागेका छौं।

तुलसालय पालनपोषणका लागि १ लाखको अक्षयकोष स्थापना हुँदैछ। ७५ वर्षिया बानेश्वर निवासी सविता ढुंगानाले वार्षिक रुपमा १ लाखको सहयोग गर्ने भएकी छन्। सहयोगी हातहरु छन्, नभएका होइनन्। सरकारले पनि सहयोग गरिदिए हुन्थ्यो। सरकारले अनुगमन गरेर बजेट छुट्याइदेओस्। बालबालिका हेर्ने मन्त्रालय, स्वास्थ्य, शिक्षालगायत हेर्ने विभाग र मन्त्रालयले अवस्था र आवश्यकताका आधारमा सहयोग गर्यो भने कोही पनि सडकमा बस्नु पर्दैन।

प्रकाशित: Sep 02, 2023| 09:13 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्