काठमाडौं- संघीय संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी एक्लिएको छ। सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेकपा एमाले र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी पनि संसदीय समितिमा भागबण्डा गरेपछि २१ सांसद भएको राष्ट्रिय स्वतन्त्र पार्टी एक्लिएको हो।
हाल नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीसहितको समर्थनमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार रहेको छ। यस सरकारलाई राष्ट्रिय जनमोर्चाले पनि समर्थन गरेको छ। तर, गत वैशाखमा समर्थन फिर्ता लिएको राष्ट्रिय स्वतन्त्र पार्टी हाल संसद्मा भने एक्लिएको हो।
संसदीय समितिमा नेकपा एमाले र राप्रपाले पनि भाग लिएपछि भने रास्वपा एक्लिएको हो। प्रतिनिधिसभाका विभिन्न १० वटा विषयगत समिति सभापतिमा सांसदहरूले सत्ता गठबन्धन र प्रतिपक्षी दलहरूले भागबण्डा मिलाएका हुन्।
प्रतिनिधिसभाका १० र संघीय संसदको संयुक्त दुई गरी १२ वटा समितिमा गठबन्धन र प्रतिपक्षी दलहरूबीच भागबन्डा भएको हो। नेकपा एमालेले प्रतिनिधसभातर्फका दुईवटा समिति पाएको छ। जसमा लेखा समिति सभापतिमा ऋषिकेश पोखरेल र बालबालिका तथा सामाजिक समितिको सभापतिमा किरण साह सभापति बन्ने भएका छन्।
त्यस्तै, नेपाली कांग्रेसबाट कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा देउवा, राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, अर्थ समितिको सभापतिमा सन्तोष चालिसे छन्। नेकपा माओवादी केन्द्रकी विमला सुवेदी कानुन, न्याय तथा मानव अधिकार समिति सभापति बन्ने भएकी छन्।
दलहरुबीच सहमतिमा माओवादीले पाएको भनिएको पूर्वाधार विकास समितिको सभापतिमा राप्रपालाई दिइएको छ। जसमा राप्रपाका दीपकबहादुर सिंह सभापति बन्ने भएका छन्। त्यस्तै जनमत पार्टीका अब्दुल खान उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति बन्ने भएका छन्।
एकीकृत समाजवादीका भानुभक्त जोशीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति पाएका छन्। अन्य दुईवटा संयुक्त समितिमा पनि सत्ता गठबन्धन र प्रतिपक्षीबीच भागबन्डा भएको छ। त्यस्तै, संसदको दुवै सदनको संयुक्त समिति– राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति भने एमालेले पाएको छ।
यता रास्वपाले भने उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवारी दिएको छ। यद्पि समिति सभापतिमा निर्वाचन हुने स्थितिमा रास्वापाको हार निश्चित छ।
रास्वपा सभापति रवि लामिछानेले यसअघि नै संसद्मा आफूलाई एक्ल्याएको आक्रोश व्यक्त गर्दै प्रमुख प्रतिपक्षी आफू नै भएको दाबी गरेका थिए। उक्त दाबीमा भने नेकपा एमालेले आपत्ति जनाएको थियो। नेकपा माओवादी केन्द्रका सांसद् माधव सापकोटाले रास्वपालाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको जानकारी दिएका छन्। सरकारको स्थिरताका लागि सबै दलहरु मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
रास्वपा सभापति लामिछानेले यसअघि आफूलाई संसद्मा बोल्न नदिइएको भन्दै संसद् हाइज्याक भएको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिको पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चर्को विरोध गरेको थियो।