शुक्रबार, वैशाख २८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • टीबीएमको कमाल: रेकर्ड राख्नेगरी खनिँदैछ सुनकोशी-मरिण डाइभर्सन सुरुङ

टीबीएमको कमाल: रेकर्ड राख्नेगरी खनिँदैछ सुनकोशी-मरिण डाइभर्सन सुरुङ

सुनकोशी-मरिण डाइभर्सन आयोजनाले हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ। हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ।
 |  आइतबार, भदौ ३, २०८०

रमेश लम्साल

रमेश लम्साल

आइतबार, भदौ ३, २०८०

काठमाडौं- अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ। नेपालमा पनि यो गतिमा यसरी काम हुन सक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन्। आयोजना  निर्माणमा देखिएको सकारात्मक प्रभाव अन्यमा समेत पर्ने भन्दै खुसी व्यक्त गर्नेहरु पनि उत्तिकै छन्।

triton college

सरकारले विकास निर्माणको कामबाट आर्थिक समृद्धिको मार्गप्रशस्त गर्ने र नेपाली नागरिकको विकासप्रतिको भोकलाई सम्बोधन गर्ने लक्ष्यका साथ सुरु गरेका एकाधबाहेकका अधिकांश ठूला आयोजना समयमा निर्माण सम्पन्न भएका छैनन्। केही आयोजना निर्माण सम्पन्न भएर पनि अपेक्षित रुपमा सञ्चालन हुन सकेका छैनन्। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले अपेक्षित लाभ प्रदान गरे पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएर पनि लाभ प्राप्त हुन सकेको छैन।

यही मेसोमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी-मरिण डाइभर्सन आयोजनाले उल्लेखनीय प्रगति गरेको छ। आयोजना प्रमुख मित्र बरालका अनुसार कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये हालसम्म आठ किलोमिटर बराबरको सुरुङ निर्माण सम्पन्न भएको छ। सुरुङ निर्माणमा हालसम्म ६० प्रतिशत भौतिक प्रगति भएको छ। नेपालका विद्युत तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ  मेशिन (टीबीएम) प्रयोग गरेर खनिएको छ। यसअघि भेरी-बबई डाइभर्सन आयोजनामा पनि टीबीएमको प्रयोग गरिएको थियो।

पहाडी भूभाग बढी भएको नेपालमा विकास निर्माणको काम अगाडि बढाउन अब टीबीएम प्रभावकारी उपकरणका रुपमा स्थापित भएको छ। यसबाट अन्य आयोजनामा समेत अब सोही प्रकृतिको मेसिन प्रयोग गर्न सकिने वातावरण बन्दै गएको देखिन्छ।

सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काम सुरु हुन सकेको छैन। भेरी-बबई आयोजनामा पनि दुई वर्ष पहिल्यै सुरुङ निर्माण सम्पन्न भए पनि बाँधस्थल र विद्युत गृह निर्माण सकिएको छैन। ती काम कहिले सकिन्छ भन्न सक्ने अवस्थामा आयोजनाका सम्बद्ध अधिकारी छैनन्।

corrent noodles
Metro Mart

सुनकोशी-मरिण डाइभर्सन आयोजनाले हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ। हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ। यस्तै बाँधस्थल निर्माणका लागि निर्माण व्यवसायी परिचालित भइसकेका छन्। वर्षाका कारण काम सुरु हुन सकेको छैन। नदीमा पानीको सतह घट्न थालेपछि बाँधस्थल निर्माण सुरु गर्ने तयारीमा आयोजना छ।

यस्तै, विद्युत गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ। प्रसारण लाइन निर्माणका कारण प्रभावित हुने स्थानमा वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न हुने चरणमा छ। यसका लागि निर्माण व्यवसायी परिचालन गर्ने तयारी भइरहेको छ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनाको सुरुङ निर्माण भएको करिब ११ महिनामा नै आठ किमी बराबरको सुरुङ निर्माण हुन आफैंमा महत्वपूर्ण उपलब्धि हो। गत असोज २८ गतेदेखि सो आयोजनाको सुरुङ निर्माण सुरु भएको हो। टीबीएमको प्रयोग गरिएकाले सोचेभन्दा धेरै राम्रो प्रगति भएको आयोजनाको भनाइ छ।

गत जेठमा मात्रै सो आयोजनाको कुल एक हजार दुई सय २४ मिटर बराबरको सुरुङ निर्माण सम्पन्न भएको आयोजना प्रमुख बरालले जानकारी दिए। विश्वव्यापी रुपमा पनि यति छिट्टै यति धेरै सुरुङ निर्माण हुनु पनि आफैंमा रेकर्ड नै भएको जानकारी दिँदै उनले विश्व रेकर्डका लागि नाम लेखाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको बताए।

सो आयोजनाबाट तराई-मधेसका कुल एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ। टीबीएमको प्रयोग गरेर दैनिक तीन सत्रमा निर्माण जारी रहेको उल्लेख गरे। चारवटै कामका लागि समानान्तर रुपमा प्रक्रिया अगाडि बढाइएको स्पष्ट पार्दै उनले तोकिएको समयभन्दाअगावै सुरुङ निर्माण प्रक्रिया पूरा हुने बताए। चुरे पर्वत शृङ्खलाबाट महाभारत पर्वत शृङ्खलामुनि हाल सुरुङ निर्माण भइरहेको र कडा चट्टानयुक्त क्षेत्र भएकाले काम थप सहज भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि सो आयोजनालाई सबै प्रकारको साधन र स्रोत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। तर, सो आयोजनामा स्रोतको व्यवस्थापन हुन कठिनाइ भइरहेको छ। ऊर्जामन्त्री शक्ति बस्नेतले सो आयोजनामा भुक्तानीको समस्या देखिएकाले तत्काल समाधान गरिदिन यसअघि नै प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका थिए।

राष्ट्रिय गौरवको आयोजना भएकाले स्रोतको कुनै अभाव नहुने प्रधानमन्त्री र ऊर्जामन्त्रीको प्रतिबद्धता छ। यसअघि सुरुङ निर्माणमा भौगर्भिक रुपमा रहेको जटिलताका कारण दुईपटक समस्या देखिएको थियो। सुरुङ निर्माणका क्रममा एकपटक नौ दिन र एक पटक २६ दिन काम नै रोकिएको जानकारी दिँदै आयोजना प्रमुख बरालले महाभारत पर्वत शृङ्खलामुनि निर्माण भइरहेकाले हाल कुनै पनि जटिलता उत्पन्न नभएको बताए।

सुनकोशी गाउँपालिका-७ कानढुंग्रीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदी पथान्तरण गरिनेछ। सुनकोशीको करिब ६७ क्युसेक पानीलाई सुरूङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका-२ कुसुमटारस्थित मरिण खोलामा पानी खसालिनेछ। त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ। त्यस्तै सो आयोजनाबाट ३१ मेगावाट बराबरको बिजुलीसमेत उत्पादन हुनेछ।

आयोजनाको सुरुङ निर्माणको काम चाइना ओभरसिज इन्जिनियरिङ गरिरहेको छ। बाँध निर्माणका लागि नेपालको रमण समूहसँग एक विदेशी ठेकेदार कम्पनीको संयुक्त उपक्रमले जिम्मा पाएको छ।    -रासस

प्रकाशित: Aug 20, 2023| 16:30 आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्