काठमाडौं- हत्या आरोपमा झापामा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–८ मुनियाँटोलका ५६ वर्षीय रामजी किसान र ४८ वर्षीय सुनरसी किसान छन्।
सोही ठाउँका ३५ वर्षीय सुन्दरलाल किसानको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिएको हो। गएको साउन ३२ गते बिहान प्रहरीले सुन्दरलालको शव फेला पारेको थियो। सोही टोलको सडक नजिक झाडीमा बुट्यानले छोपेको अवस्थामा शव भेटिएको थियो।
अनुसन्धानका क्रममा हत्यामा रामजी र सुनरसीको संलग्नता देखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूबीच झगडा भएको थियो। साउन ३१ गते साँझ मादक पदार्थ सेवन गरी एक्लै हिँडिरहेका सुन्दरलालले रामजी र सुनरसीलाई गालीगलौज गरेका थिए।
सोही कारण भएको झगडाका क्रममा फलामको खन्ती र सिक्कल प्रहार गरी उनको हत्या गरिएको थियो। त्यसपछि शव उक्त झाडीमा लगेर छोपिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।