शुक्रबार, साउन २, २०८२

सुन तस्करीमा छोरा मुछिएपछि मिडियामाथि खनिए ईश्वर पोखरेल

 |  शुक्रबार, भदौ १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०

vianetvianet

काठमाडौं- त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भएर सिनामंगल पुर्‍याइएको अवस्थामा बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलिरहेको छ। नेकपा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध गरिरहेको छ। यही क्रममा सुन तस्करी प्रकरणमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल र उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीकको पनि संलग्‍नता भएको भन्‍ने समाचार नेपाल खबर अनलाइनले प्रकाशन गर्‍यो। 

'६० किलो सुन तस्करी प्रकरणमा दावाको बयानः स्वराज र प्रतीकसँग व्यापारिक साझेदारी थियो' भन्‍ने शीर्षकको समाचार नेपाल खबरले प्रकाशन गरेपछि एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल मिडियामाथि खनिएका छन्। साउन ३२ गते प्रकाशित समाचारप्रति आक्रोश व्यक्त गर्दै उनले आम सञ्‍चारमाध्यमलाई नै आरोपित गर्ने काम गरेका छन्। उनले समाचार प्रकाशित भएको करिब ९ घण्टापछि सामाजिक सञ्‍जालमा आक्रोश व्यक्त गरेका हुन्। 

उनले सामाजिक सञ्‍जालमार्फत भनेका छन्, 'माओवादी नेताको लगानी रहेको नेपाल खबर नामक अनलाइनले पत्रकारिता पेशाको सामान्य मर्यादा पनि नराखी नियोजित रूपमा मेरो परिवारलाई जोडेर लेखेको शतप्रतिशत झुटो समाचारको म घोर निन्दा, भर्त्सना र खण्डन गर्न चाहन्छु।'

उनले आफ्नो छोराको संलग्‍नता नभएको प्रमाण पेश गर्नुको साटो उल्टै नेपाल खबरमाथि रोष पोखेका छन्। उनले थप भनेका छन्, 'माओवादीका उपमहासचिवको लगानी रहेको र कतिपय लगानीकर्ताको लगानी समेत ठगी गरेको भनेर यसअघि नै विवादित त्यस अनलाइनले सरकारी कारखानामा तयार पारिएको समाचार प्रकाशित गरेर मालिकको सेवा गरेको प्रष्टै छ। यो हाम्रो पार्टीलाई बदनाम गरी सुन तस्करी प्रकरणलाई अन्तै मोड्ने प्रपञ्‍च हो। म चुनौतीका साथ भन्न चाहन्छु - मेरो परिवारको यस्ता कुनै कुरामा संलग्नता छैन। यस्ता कुराबाट भ्रमित नहुन म सबै शुभेच्छुक र पार्टी पंक्तिलाई आह्वान गर्दछु। यस सम्बन्धमा आज कानुनी कारबाही पनि अगाडि बढाउने सबैमा जानकारी गराउन चाहन्छु।'

Ishwor-pokherel1692364341.JPG

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले आफ्नो छोराले नेपाल प्रेस काउन्सिलामा समेत उजुरी दिएको जानकारी सामाजिक सञ्‍जालमार्फत नै गराएका थिए। स्वराज पोखरेलले आफूले सुन तस्करीमा पक्राउ परेका दाबालाई नचिनेको र दोषी भएको अवस्थामा कानुनअनुसार कारबाही भोग्‍न तयार रहेको उल्लेख गर्दै दुष्प्रचार गरेकोमा समाचारको खण्डन गरी माफी माग्‍न र कानुनी कारबाही गर्न अनुरोध'सहित व्यहारोको उजुरी नेपाल प्रेस काउन्सिलमा दिएका छन्। 

नेपाल प्रेस काउन्सिलले नेपाल खबरलाई पत्र पठाउँदै 'सम्बन्धित पक्षको भनाइलाई स्थान नदिई एकपक्षीय रुपमा सामग्री सम्प्रेषण भएको अनुगमनबाट देखिएको' उल्लेख गर्दै....सम्प्रेषित सामग्रीका सम्बन्धमा सम्बन्धित पक्षको भनाइलाई स्थान दिइ खण्डन सम्प्रेषण गरी २४ घण्टाभित्र काउन्सिललाई जानकारी गराउन' आग्रह गरेको छ। 

Untitled-1-Recover55661692364525.jpg

प्रेस काउन्सिलले पत्र पठाइसकेपछि नेपाल खबरले भने एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई आमसञ्‍चारमाध्यममाथि लगाइएको आरोप पुष्टि गर्न आग्रह गरेको छ। नेपाल खबरले 'ईश्वर पोखरेलले नेपालखबरमाथि लगाएका आरोप पुष्टि गरून्' शीर्षकको सम्पादकीय नोटमा 'प्रमुख प्रतिपक्षी दलका वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका पोखरेलले नेपाल खबरमाथि गम्भीर झुटा आरोप लगाएका छन्। र, केही आरोप त ‘साइबर क्राइम’ आकर्षित हुने खालको' रहेको उल्लेख गरिएको छ।

नेकपा एमालेले यसअघि १५५ किलो तौलको ब्रेक सुसहितको सुन बरामद भएदेखि नै उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद् अवरोध गरेको थियो। सरकारले कानुनले मान्यता दिएका सरकारी संयन्त्रबाट नै सुन तस्करीको छानबिन हुने भन्दै संसदीय छानबिन समिति बनाउन आवश्यक नरहेको जवाफ दिएको छ। यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्‌मा जवाफ दिने क्रममा 'विगतमा संसदीय छानबिन समिति बनाएर तयार पारिएका प्रतिवेदन लागू नगरिएको' उल्लेख गर्दै संसदीय छानबिन समिति बनाउन तत्काल आवश्यक नभएको बताएका थिए। 

एमालेले लगातार उच्चस्तरीय संसदीय छानबिन समिति बनाउन माग गर्नुका साथै गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेको थियो। एमालेले निरन्तर उच्चस्तरीय संसदीय छानबिन समिति बनाउन माग गरेर संसद् अवरोध गरेपछि रास्वपालगायतका साना दलहरुले एमालेले संसद्लाई हाइज्याक गरेको आरोप लगाएका थिए। यससँगै सुन तस्करीमा एमाले नेताहरुको पनि संलग्‍नता हुन सक्ने आशंकाहरु पनि बढ्दै गएको थियो। एमालेकै विरोध हुन थालेपछि संसदीय छानबिन समिति बनाउने अडानबाट पछि हटेर उच्चस्तरीय निष्पक्ष छानबिन समिति बनाउन माग गरेको एमालेले हाल छानबिन समिति बनाउनुपर्ने बताइरहेको छ। 

यही समयमा हङकङबाट ल्याइएको तस्करीको सुन सम्बन्धमा भइरहेको अनुसन्धानकै क्रममा राजस्व अनुसन्धान विभागले तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङलाई १० साउन २०८० मा पक्राउ गरेको थियो। उनीसँग विभागले र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) ले प्रारम्भिक बयान लिने क्रममा दावाले '६० किलो सुन प्रकरणमा दावाको बयान: स्वराज र प्रतीकसँग व्यापारिक साझेदारी रहेको' बयान दिएको समाचार प्रकाशन भएको थियो। त्यसपछि नेकपा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले मिडियाप्रति आक्रोश पोखेका हुन्। 

६० किलो सुन तस्करी प्रकरणमा हालसम्म २३ जनालाई पक्राउ गरेको छ। जसमा पक्राउ परेका अधिकांश चिनियाँ नागरिकबाट नेपाली नागरिकता फेला परेको छ। यसरी नेपाली नागरिकता फेला पर्नेहरूमा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसहित सातजना रहेको प्रहरीले जनाएको छ। चिनियाँ नागरिकसँग नेपाली नागरिकता फेला परेपछि अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नागरिता प्रकरणमासमेत अनुसन्धान गर्ने भएको छ। उच्चस्तरका राजनीतिक नेताहरुको संलग्‍नता बिना उनीहरुले नेपालको नागरिकता लिन सम्भव नहुने भएकोले यसबारे पनि अनुसन्धान सुरु गरिसकिएको जनाइएको छ। 

प्रकाशित: Aug 18, 2023| 19:05 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्