काठमाडौं- संखुवासभा जिल्ला मकालु गाउँपालिकाका १५ र १६ बर्षका ३ जना किशोरीलाई काठमाडौंमा जागिर लगाइदिने आश्वासनमा सोही जिल्ला घर भई काठमाडौं बसोबास गर्दै आएकी लाचेन शेर्पाले गाडीमा इलामको पशुपतिनगर हुँदै भारत लैजान लाग्दा माइती नेपाल, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्वार गर्यो। यो २०७७ सालको घटना हो। शेर्पाले भारतको दार्जिलिङमा काम खोजिदिएको र महिनाको ९ हजार तलब हुने बताएर एक व्यक्तिलाई फोन गरेर बोलाएर उनकै साथमा दार्जिलिङ पठाउन लागेको सोधपुक्षका क्रममा खुलेको थियो।
गत मंसिरमा मात्र चोर बाटोको प्रयोग गरेर मानव तस्करले दोलखा र मकवानपुरका ६ जना बालक र चार जना बालिकालाई भारततर्फ लैजाने क्रममा संयुक्त टोलीले उद्वार गर्न सफल भएको थियो। उद्वार गरिएका सबैलाई परिवारको जिम्मा लगाइएको थियो।
यी दुई प्रतिनिधि घटनामात्र हुन्। नेपालमा ठूलो संख्यामा बालबालिका हराउने र हराएका सबै फेला नपर्ने क्रम बढ्दो छ। फेला परेका पनि के कसरी हराएका हुन् र फेला नपरेका कहाँ पुग्छन् भन्ने सम्बन्धमा सरकारी निकाय गम्भिर देखिएका छैनन्।
मानव अधिकार आयोगका प्रवक्ता एवं सहसचिव डा. टीकाराम पोखरेल बालबालिका कसरी हराउँछन् र फेला नपरेकाहरु कहाँ पुग्छन् भन्ने विषयमा पर्याप्त अध्ययन हुन बाँकी रहेको बताउँछन्। आयोगले गत वर्ष गरेको मानव बेचविखन सम्बन्धी राष्ट्रिय अध्ययन प्रतिवेदनअनुसार हराएकामध्ये कतिपय बालबालिका मानव बेचबिखनबाट पीडित हुने अनुमान आयोगको रहेको उनले बताए।
नेपालमा वर्षेनी ठूलो सङ्ख्यामा बालबालिका हराउनु, हराएकामध्ये कतिपय बालबालिकाहरु फेला नपर्नु, हराउनेमा किशोरी तथा बालिकाको सङ्ख्या उच्च हुनु आदिले यसको सम्बन्ध मानव बेचबिखनसँग भएको आयोगको अनुमान छ।
देशभित्र नै पनि बेचविखन
देशभित्र नै बालबालिकाहरु बाध्यकारी श्रम, यौन दुर्व्वयहार तथा शोषणबाट पीडित तथा प्रभावित भई मानव बेचविखनको उच्च जोखिमको अवस्थामा रहेको आयोगको अध्ययन प्रतिवेदनमा उल्लेख छ। आन्तरिक बेचबिखन बाहेक भारतमा यौन व्यवसाय, श्रमिकको रुपमा, बालबिवाह तथा र चीनमा विवाह तथा सांस्कृतिक कार्यक्रमको नाममा, सञ्जाल व्यवसायको नाममा, अर्को राष्ट्रामा नाच्नका लागि, घुमफिरका नाममा, मनोरञ्जन क्षेत्रमा रोजगार दिलाउने बहानामा समेत बेचबिखन तथा ओसारपसार भइरहेको पाइएको प्रतिवेदनमा उल्लेख रहेको छ।
२०७७-७८ मा ३ हजार ६५८ बालबालिका हराएको तथ्यांकले देखाएको छ। जसमध्ये ७६.७ प्रतिशत बालिका र २३.२ प्रतिशत बालक रहेका छन्। हराउनेमध्ये अधिकांश बालिका छन्। हराएका मध्ये ८२.२ प्रतिशत फेला परेका छन् र यसरी फेला पर्नेमा ७६.३ प्रतिशत बालिका र करिब २३.६ प्रतिशत बालक छन्।
कुल हराएकामध्ये जम्मा ८१.७ प्रतिशत बालिका मात्र फेला परेको देखिन्छ भने बालक ८३.८ प्रतिशत फेला परेका छन्। त्यस्तै आर्थिक वर्ष २०७६–०७७ मा २ हजार ७२९ बालबालिका हराएकोमध्ये ६९.५ प्रतिशत बालिका र ३०.५ प्रतिशत बालक रहेका छन्। हराउनेमध्ये अधिकांश बालिका छन्। हराएका मध्ये ८१.३ प्रतिशत फेला परेका छन् र यसरी फेला पर्नेमा ६८.९ प्रतिशत बालिका र करिब ३१ प्रतिशत बालक छन्।
कूल हराएकामध्ये जम्मा ६९ प्रतिशत बालिकामात्र फेला परेको देखिन्छ भने बालक ८३ प्रतिशत फेला परेका छन्। यसले हराएका बालबालिकामध्ये बालिका फेला पर्ने सम्भावना बालकको तुलनामा कम रहेको देखिन्छ। यसले हराएका बालबालिकामध्ये बालिका फेला पर्ने सम्भावना बालकको तुलनामा कम रहेको देखिन्छ।
मानव बेचबिखन तथा ओसारपसारमा परेका तथा उच्च जोखिम अवस्थामा रहेका बालबालिकाहरु पारिवारिक कलह तथा कुटपीट, मोबाइल (विदुतिय उपकरण)को प्रलोभन, जागिरको प्रलोभन तथा सामाजिक सञ्जालको माध्यम, घरेलुकामदार आदिको कारणबाट अभिभावकत्वबाट विच्छेद भएका तथ्यहरु प्राप्त भएको आयोगले जनाएको छ। त्यस्तै सञ्चार माध्यममा आउने गरेका बालबालिकासँग सम्बन्धित घटनाहरुको विश्लेषणले पनि कतिपय बालबालिका जोखिममा छन् भन्ने प्रष्ट हुन्छ।
आर्थिक वर्ष २०७७–७८ मा जम्मा ८० जना बालबालिका बेचबिखनबाट पीडित भएको औपचारिक तथ्यांक छ। जसमा ७९ जना अर्थात ९८.७ प्रतिशत बालिका र करिब १.२ प्रतिशत मात्र बालक रहेको देखिन्छ। यसरी बेचबिखनमा पर्नेमा ११ देखि १६ वर्ष उमेर समूहका बालबालिका सबैभन्दा बढी रहेको देखिन्छ। कूल बेचबिखनमा परेकामध्ये ११ देखि १६ वर्ष उमेर समूहका करिब ६० प्रतिशत छन् जसमध्ये ९७.९ प्रतिशत बालिका पीडित छन्। त्यसपछि सबैभन्दा बढि १७ देखि १८ वर्ष उमेर समूहका ३७.५ प्रतिशत बालबालिका रहेका छन्।
त्यस्तै आर्थिक वर्ष २०७६–०७७ मा जम्मा ७४ जना बालबालिका बेचबिखनबाट पीडित भएको औपचारिक तथ्यांक छ। जसमा ७० जना अर्थात ९४.५९ प्रतिशत बालिका र करिब ५.४० प्रतिशत मात्र बालक रहेको देखिन्छ। यसरी बेचबिखनमा पर्नेमा ११ देखि १६ वर्ष उमेर समूहका बालबालिका सबैभन्दा बढी पीडित छन्।
कूल बेचबिखनमा परेकामध्ये ११ देखि १६ वर्ष उमेर समूहका करिब ६२.१६ प्रतिशत छन्। जसमध्ये ९७.८ प्रतिशत बालिका पीडित छन्। त्यसपछि सबैभन्दा बढि पीडित १७ देखि १८ वर्ष उमेर समूहका बालबालिका अर्थात ३६.४ प्रतिशत छन्। यो उमेर समूहमा पीडित बालिका ९२.५ प्रतिशत देखिन आउँछ। यसले बालबालिका बेचबिखनको जोखिममा रहेको र त्यसमा पनि किशोरावस्थाका बालिकाहरु मानव बेचबिखनको उच्च जोखिममा रहेको संकेत गर्दछ।
यो उमेर समूहमा बालिका ३७.५ प्रतिशत देखिन आउँछ। यसले किशोरावस्थाका विशेष गरी बालिकाहरु मानव बेचबिखनको उच्च जोखिम अवस्थामा रहेको देखिन्छ। बेचबिखनमा पर्नेमध्ये सबैभन्दा बढि लुम्बिनी र सुदूरपश्चिममा देखिन्छन् भने कर्णालीमा र बाग्मती (उपत्यका) बाहेकमा यस्तो घटनाको रिपोर्टिङ कम भएको मानव अधिकार आयोगको अध्ययन प्रतिवेदनमा उल्लेख छ। प्राय सबै प्रदेशमा मानव बेचबिखनको जोखिम अवस्थामा बालबालिका परेको देखिन्छ।
माइती नेपालकी कानुन अधिकृत उमा तामाङका अनुसार, सीमानाकाबाट उद्वार भएका बालबालिकाहरुलाई परिवारको जिम्मा लगाएपछि परिवारको मन्जूरीले प्रहरीमा जाहेरी दर्ता हुने गर्छ। तर धेरै जसो घटनाहरुमा परिवारले हाम्रो बच्चा भेटिहाल्यो अब मुद्दा नगर्ने भनेर बालबालिका जिम्मा लिएर जान्छन्। तर माइती नेपालले घटनाको गाम्भीरयर्तालाई हेरेर बालबालिकाको हकमा आफैं संरक्षकत्व भएर पनि कानूनी उपचारमा गएको छ।