बिहीबार, जेठ २८, २०८३

नारायणी नदीले कटान गरेको क्षेत्र तत्काल मर्मत गर्न आग्रह

 |  सोमबार, साउन २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २९, २०८०

चितवन- नारायणी नदीले कटान गरेको क्षेत्रमा तत्काल मर्मतको काम सम्पन्न गर्न भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आग्रह गरेकी छन्। भरतपुर– २७ को न्यूरेचोकमा आइतबार नारायणी नदीले कटान गरेपछि आज स्थलगत निरीक्षणका क्रममा उनले आग्रह गरेकी हुन्। 

National life

सरोकारवालासहित नदी तटीय क्षेत्रमा निरीक्षणमा पुगेकी प्रमुख दाहालले ठेक्का लगाएका क्षेत्रमा ठेकेदारमार्फत र अन्य क्षेत्रमा नारायणी नदी व्यवस्थापन आयोजनालाई आफैले कटान रोक्ने काम अघि बढाउन आग्रह गरिन्।

स्थानीयसँग उनले कटान गरेलगत्तै आइतबारै आयोजनालाई काम अघि बढाउन र आवश्यक परे महानगरका तर्फबाट जुनसुकै सहयोग गरिने बताएको जानकारी दिइन्। उनले स्थानीयलाई भनिन्, ‘तपाईहरु ढुक्क हुनुहोस् नदी बस्ती पस्न दिइदैन।’

सो ठाउँमा आयोजनाले कटान गरेको ठाउँमा एक सय बोरामा ढुङ्गा भरेर राखेको छ। त्यसैगरी आज दिउँसोसम्म चार ट्रक ठूला ढुङ्गा राखेर नदी नियन्त्रण गरिएको छ। थप ढुङ्गा आउने क्रम जारी रहेको दाहालले जानकारी दिइन्। सो ठाउँमा गरिएको तटबन्ध कटान गरेपछि आइतबार राति ११ बजेबाट काम थालिएको प्रमुख दाहालले बताइन्। 

सोही क्रममा उनले भरतपुर–२८ को लौखरीको तामाङ टोल र वडा नं २६ को भगडीको शिवालय मन्दिर नजिक नारायणी नदीले कटान गरेका क्षेत्रको स्थलगत अवलोकन गरेकी थिइन्। सो क्रममा सँगै पुगेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, विभिन्न सुरक्षा निकायका प्रमुख, नारायणी नदी व्यवस्थापन आयोजनाका इञ्जीनीयर, वडाध्यक्षलाई दाहालले सबैले हातेमालो गरेर नदी कटान रोक्न लाग्न आग्रह गरेका थिए।

Shivam cement

तटबन्धको काम धमाधम भइरहेकाले अर्को वर्षबाट समस्या नहुने उनको भनाइ थियो। तामाङ टोल र शिवालय मन्दिर छेउमा नदीले कटान थालेसँगै आवश्यक सावधानी तथा तटबन्धका काम गर्नुपर्ने देखिएको छ। नदी किनारलाई पाँच भागमा विभाजन गरेर तटबन्धको काम भइरहेको छ। कटान क्षेत्र पुग्नुभएका नारायणी नदी व्यवस्थापन आयोजनाका डिभिजनल इञ्जीनीयर शङ्कर बुढाथोकीले नदीले कटान गरेका कतिपय क्षेत्रमा आयोजना र निर्माण व्यवसायीले काम गरेका क्षेत्रमा उनीहरूलाई कटान रोक्न भनिसकिएको बताए। 

नदीको भरतपुरतर्फको ३५ किलोमिटरमध्ये २२ किलोमिटर क्षेत्रमा अहिले तटबन्ध गरिँदै छ। विगत १० वर्षदेखि थालिए पनि बजेट अभावमा थोरै–थोरै काम हुँदै आएकामा रकमको निकासासँगै गत वर्षबाट नदी किनारका महानगरपालिकातर्फका अधिकांश भू–भागमा काम थालिएको हो। 

पाँच खण्ड बनाएर काम गरिएको छ। तीमध्ये नारायणी नदी बीच मोडलको काम सम्पन्न भइसकेको छ। बुढाथोकीका अनुसार समग्रमा ३५ प्रतिशत काम सम्पन्न भएको छ।

प्रकाशित: Aug 14, 2023| 18:44 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्