वास्तु शास्त्र प्राचीन विज्ञान हो। वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश। यसर्थ, “वास्तु शास्त्र” भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ। वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ। हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ।
प्रवेशद्वार
वास्तु शास्त्रमा घरको मुख्य प्रवेशद्वार सुशोभित हुनुपर्छ भनेर भनिएको छ। प्रवेशद्वार बनाउँदा ख्याल गर्नुपर्ने कुराहरु यस प्रकार रहेका छन्:
प्रमुख प्रवेशद्वार अन्य ढोकाभन्दा अग्लो तथा ठूलो हुनुपर्छ
ढोका राम्रोसँग खुल्ने तथा कुनै आवाज ननिस्कने हुनुपर्छ र ढोका आफै खुल्ने-बन्द हुने हुनुहुँदैन।
घरको कुनै पनि ढोका धरातलभन्दा तल हुनुहुँदैन।
पर्खालको पूर्व र उत्तरतर्फ प्रमुख द्वार बनाउनु उचित हुन्छ।
द्वार नैऋत्य र वायव्य कोणमा बनाउनु पर्छ।
पूजास्थल
हिन्दु धर्ममा पूजाले ठूलो महत्व बोकेको छ र श्रद्धा भक्तिपूर्वक गरिने यस कार्यका लागि घरमै छुट्टै पूजा स्थल बनाउने गरिन्छ। पूजास्थल बनाउदा ख्याल गर्नुपर्ने कुराहरु यस प्रकार रहेका छन्:
पूजाघरको द्वार टिन वा फलामको हुनुहुँदैन।
पूजा कोठा शौचालयको ठीक माथि वा तल हुनुहुँदैन।
पूजा कोठा शौचालय संग एकै पर्खालले जोडिएको हुनु हुँदैन।
पूजा कोठाको रंग हलुका क्रिम तथा सेतो हुनुपर्छ भने पूजा कोठा सयन कक्षमा बनाउनु हुँदैन।
भगवानको तस्बिर वा मूर्ति नैऋत्य कोणमा राख्नु हुँदैन।
घरमा कुलदेवताको चित्र हुनु अत्यन्त शुभ मानिन्छ। यसलाई पूर्व वा उत्तर भित्तामा झुन्डाउनु पर्छ।
भान्सा घर
वास्तु शास्त्र अनुसार भान्साको पवित्रता तथा स्वच्छता कुनै मन्दिरको भन्दा कम हुँदैन। त्यसैले भान्सा बनाउदा निम्न कुराहरु ख्याल गर्नु पर्छ:
भान्सा घर दक्षिण-पूर्वी क्षेत्रमा बनाउनु उत्तम मानिन्छ तर ठाउँ नभए उत्तर-पश्चिममा निर्माण गर्न सकिन्छ।
खाना पकाउने स्थानले पूर्वी र उत्तरी भित्तालाइ छुनु हुँदैन।
पूर्वमा फर्केर खाना पकाउनु उचित मानिन्छ।
घरको ग्यास र चुल्हो बाहिरबाट नदेखिने स्थानमा हुनुपर्छ।
पानीको धारा र चुल्होलाइ नजिकै राख्नु हुँदैन।
खाना भान्साको बीचभागमा बसेर खानुपर्छ।