नयाँ दिल्ली- सञ्जना मात्र २२ वर्षकी छन्। पेशाले इन्जिनियर हुन् उनी। सञ्जना भन्छिन्, ‘कजेल पढ्दा म प्रेममा थिएँ तर हाम्रो ब्रेकअप भयो। त्यसपछि म सानोसानो कुरामा रुने, रिसाउने भएको थिएँ। पढ्न मन लाग्न छोड्यो। हरेक कुरामा दुविधा हुन्थ्यो। म मेरो जीवनको सबैभन्दा कमजोर अवस्थामा थिएँ। त्यतिबेलै साथीहरुको संगतमा म गाँजा र रक्सी खान थालें र यसको लतमा पर्दै गएँ।’
उनी थप्छिन्, 'मैले यसअघि कहिल्यै रक्सी खाएको थिइनँ तर सबै अचानक भएको थियो। तनाव महसुस भएपछि म गाँजा र रक्सी खान्थेँ र परिवारसँग आँखा बचाउँदै घर पुगेर सुत्थेँ। महिनौंसम्म त्यसरी नै चल्यो। न खानपिनको ठेगान हुन्थ्यो न आवश्यकता नै महसुस हुन्थ्यो। साथीहरुको माध्यमबाट घरमा सबैले थाहा पाएपछि सम्झाउने कोसिस गरेका थिए। मेरो परिवारले मेरो समस्या बुझ्ने कोसिस गरे र मेरो उपचार गराए। काउन्सिलिङ गराए अनि रिह्याब सेन्टमा मेरो उपचार भयो। धेरै महिनाको प्रयासपछि म अब ठीक छु र जागिरको लागि पुणे जाने तयारीमा छु।’
सञ्जना प्रतिनिधि पात्र मात्र हुन्। उनीजस्ता थुप्रै छन् जो कहिले साथीहरुको दबाबमा आएर त कहिले भावनामा बगेर विभिन्न प्रकारको नशाको लतमा पर्ने गर्छन्। भारतको पटनामा रहेको एन्टी एडिक्शन सेन्टरकी चिकित्सक प्रतिमाका अनुसार अधिकांश मामिलामा धुम्रपानको लत अन्जानवश नै लाग्ने गर्छ। तपाईंलाई आफू लतको शिकार हुँदै गएको थाहा नै हुँदैन।
डा. प्रतिमा सुनाउँछिन्, ‘कतिपय मान्छेलाई के लाग्छ भने सबै कुरा उनको कन्ट्रोलमा छ। उनलाई नशाको लत लाग्दैन तर उनीहरु विस्तारै लती हुँदै जान्छन्। प्रायले सोख वा साथीभाइको लहैलहैमा एक पटक रक्सी-चुरोट खान्छन् अनि सोच्छन् पछि छोडिहालिन्छ। तर त्यस्तो प्रायः हुँदैन। एक-दुई पटक खायो भने पनि त्यसको अमल हुन थाल्छ र मान्छे विस्तारै त्यसको लतमा पर्दै जान्छ।’
उनका अनुसार जति नै लत लागे पनि यसको फन्दाबाट बाहिर निस्किन भने सकिन्छ। परिवारको सहयोग रह्यो भने केही महिनाको उपचार र काउन्सिलिङले बाहिर निस्किन सकिन्छ।
किंग्स कलेज लन्डनका प्राध्यापक शैली मार्लवले पुरुषको तुलनामा महिला प्रायः चाँडै लतको चपेटामा आउने दाबी गरेकी छन्। उनी आफ्नै उदाहरण दिँदै भन्छिन्, ‘२५ वर्षको उमेरमा मलाई धुम्रपानको लत बसेको थियो जसबाट छुटकारा पाउन थेरापी लिनुपरेको थियो।'
भारत सरकारको सूचना प्रसारण मन्त्रालयद्वारा जारी एक आकडाअनुसार सन् २०१८ मा १८ देखि ७५ उमेर समूहका १५ करोडभन्दा धेरै भारतीयलाई रक्सीको लत बसेको थियो। यसबाहेक उनीहरुमा अन्य थुप्रै प्रकारको नशाको लतसमेत रहेको उल्लेख छ। उक्त आकडामा महिला र पुरुषको संख्या नछुट्याइए पनि सो संख्या चिन्ताजनक रहेको छ।
चर्चित मनोवैज्ञानिक डा. बिन्दा सिंहका अनुसार कुनै प्रकारको लतलाई लिएर महिलाहरुमा आज पनि जागरुकताको अभाव छ। उनी भन्छिन्, ‘धुम्रपानको मामिलामा उनीहरुको हिचकिचाहट हटेको होइन। बरु लत रक्सी, चुरोट, गाँजाको मात्र नभएर सोसल मिडिया प्रयोगको बढ्दो लत, धेरै साफसफाइ गर्ने लतले महिलाहरुको दिनचर्या र स्वास्थ्यमाथि नकारात्मक प्रभाव पार्दै लगेको छ। कुनै पनि त्यस्तो बानी जसमाथि हाम्रो नियन्त्रण छैन भने त्यो एक प्रकारको एडिक्शन अर्थात लत हो। यसको लागि सक्दो चाँडो चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ।’
मुम्बईस्थित महिलाहरुको एक एडिक्शन रिह्याब सेन्टरकी चिकित्सक आशा लिमयेका अनुसार महानगरका महिलाहरु सानो सहर र गाउँको तुलनामा अधिक जागरुक हुन्छन्। उनीहरुले आफ्नो समस्या बताउँछन् र उनीहरुलाई उपचार र राहत चाँडै उपलब्ध हुन्छ। यद्यपि सेन्ट्रल इन्स्टिट्युट अफ साइक्याट्रीको ड्रग एडिक्शन सेन्टरका चिकित्सक रोशन खनन्डे भने लतको शिकार संख्या साना सहरहरुमा पनि बढ्दो रहेको बताउँछन्।
यसमा १८/२८ उमेर समूहका युवतीहरुको संख्या धेरै रहेको छ। उनीहरुलाई रक्सी, गाँजा, ड्रग्स, व्हाइटनर, नशाको औषधि लगायतको लतसमेत रहेको छ। डा. रोशन भन्छन्, ‘महिलाहरु थोरै मात्रामा मात्र रिह्याब सेन्टरमा उपचारको लागि पुग्न थालेका छन्।’ उनले यो राम्रो पक्ष रहेको बताए। यद्यपि प्रत्येक १५ जनामा महिला १ जनामात्र हुने गरेका छन्। यसको कारण सामाजिक डर रहेको उनले बताए।
नशा विमुक्ति केन्द्रकी प्रमुख नर्स अन्ना बार्केका अनुसार कतिपय महिला लत छुटेपछि पुन: लतको चंगुलमा फस्ने गरेका छन्।
लतबाट कसरी बच्ने ?
– कुनै पनि गाह्रो परेको अवस्थामा परिवार या साथीभाइसँग आफ्नो समस्या सेयर गरौं।
– लत सनो वा ठूलो हुँदैन। कसैलाई ३० एमएल रक्सीले नै नशाको लत पर्छ भने कोही धेरै रक्सी खाएर यसको शिकार हुने गर्छन्।
– समस्याको निदान कुराकानीबाट खोज्यो भने लत लाग्नबाट जोगिन सकिन्छ।
– धुम्रपानको लत बस्यो भने केही महिनाको उपचार र काउन्सिलिङबाट ठीक गर्न सकिन्छ।
- बीबीसी हिन्दीबाट