मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • परासी क्षेत्रका उद्योगलाई बिजुली दिन पाँच सबस्टेसन जोड्ने रिङ बनाइँदै

परासी क्षेत्रका उद्योगलाई बिजुली दिन पाँच सबस्टेसन जोड्ने रिङ बनाइँदै

औद्योगिक क्षेत्र विस्तारको प्रचुर सम्भावना रहेको परासीमा बुटवल, सुनवल, गण्डक तथा हकुई १३२ केभी र नयाँ बुटवल २२० केभी सबस्टेसन जोडी विद्युत् आपूर्तिका लागि प्रसारण लाइनको रिङ बनाइने हो।
 |  बुधबार, साउन १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

काठमाडौं– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योग र स्थानीयलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि ५ वटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्ने भएको छ। 

National life

औद्योगिक क्षेत्र विस्तारको प्रचुर सम्भावना रहेको परासी क्षेत्रमा बुटवल, सुनवल, गण्डक तथा हकुई १३२ केभी र नयाँ बुटवल २२० केभी सबस्टेसन जोडी विद्युत् आपूर्तिका लागि प्रसारण लाइनको रिङ बनाइने हो। 

विद्युत् प्राधिकरणले परासी र रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युत्को बढ्दो मागलाई सम्बोधन गर्न, प्रसारण क्षमता वृद्धि गर्न, प्राविधिक चुहावट घटाउन, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि सुनवल–हकुई १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अगाडि बढाएको छ।  गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३ केभी सिंगल सर्किट प्रसारण लाइन चालू अवस्थामा छन्। 

सुनवल सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि निर्माणाधीन ३३ केभीका डबल सर्किट थप तीन वटा फिडरमध्ये एउटा सञ्चालनमा आएको छ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त डबल सर्किट लाइन उद्घाटन गरे। 

घिसिङले नयाँ लाइन सञ्चालनमा आएसँगै यस क्षेत्रका उद्योग र स्थानीयलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि पूर्वाधार बनेको बताए। उनले निर्माणाधीन ३३ केभी डबल सर्किटका दुई वटा फिडर निर्माण तत्काल सम्पन्न गर्न निर्देशन दिए।

सुनवल सबस्टेसनबाट यसअघि ३३ केभीका तीन वटा फिडरबाट त्यस क्षेत्रमा सञ्चालित सिमन्ट, स्टिल उद्योगसहित स्थानीय रुपमा विद्युत् आपूर्ति भइरहेको थियो। साथै, सबस्टेसनबाट ११ केभीका फिडर लाइन पनि निकालिएको छ। 

परासी क्षेत्रमा सञ्चालित सिमेन्ट, स्टिललगायतका ठूलासाना उद्योगले अहिले करिब ७५ मेगावाट विद्युत् खपत गरिरहेका छन्। सञ्चालित उद्योगको क्षमता विस्तार र नयाँ खुल्ने उद्योगका लागि करिब ४० मेगावाट गरी त्यस क्षेत्रमा ११५ मेगावाट विद्युत् खपत हुने प्रक्षेपण गरिएको छ। साथै, रुपन्देहीको भैरहवासहित त्यस क्षेत्रमा करिब ३ सय मेगावाट विद्युत् खपत हुने अनुमान छ। 

कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् कालीगण्डकी करिडोर २०० केभी प्रसारण लाइनबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्म पुग्नेछ। कालीगण्डकी करिडोरको साउनभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको छ। 

साथै, हेटौंडा–भरतपुर–बर्दघाट र बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइनमार्फत नयाँ बुटवल सबस्टेसनमा विद्युत् आपूर्ति हुनेछ। त्यस क्षेत्रमा विद्युत् आपूर्ति र नेपाल–भारतबीच विद्युत् व्यापारका  लागि नयाँ बुटवल सबस्टेसन अर्को ठूलो विद्युत् हब बन्नेछ। 

हेटौंडा–भरतपुर २२० केभी प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ। भरतपुर–बर्दघाट प्रसारण लाइनलाई साउनभित्र र नयाँ बुटवल–बर्दघाटलाई आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 

अहिले पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनको क्षमतालाई नधान्दा भरतपुरबाट पश्चिम (बुटवल)तर्फ विद्युत् प्रवाहका लागि समस्या छ। हेटौंडा–भरतपुर–बर्दघाट र बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि उक्त समस्या समाधान हुनेछ।

प्रकाशित: Jul 26, 2023| 13:26 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्