शनिबार, जेठ ३०, २०८३

म्याग्दीमा १३ पक्की पुल निर्माण

 |  आइतबार, साउन ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

गलेश्वर- म्याग्दीका विभिन्न स्थानमा १३ पक्की पुल निर्माण भएका छन्। जिल्लाका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने गरी सडकको पहुँच पुर्‍याउने उद्देश्यले गण्डकी प्रदेश र सङ्घ सरकारको लगानीमा १३ पक्की पुल निर्माण भएका हुन्।

National life

प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले १०, सङ्घीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङले दुई र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत एक पक्की पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए। उनका अनुसार छ पुल निर्माण सम्पन्न भई यातायातका साधन सञ्चालन भइसकेका छन्।

अन्य पुल निर्माण सम्पन्न भए पनि औपचारिक रुपमा सञ्चालनमा आउन बाँकी रहेको अधिकारीले बताए। उनका अनुसार अन्नपूर्ण गाउँपालिकाको हिस्तान र राम्चेलाई जोड्ने सन्सारी खोला पुल, मालिका गाउँपालिका केन्द्र दरवाङको छयारछेरेको म्याग्दी खोलामा निर्माण भएको पुल र मराङ बेँसी अर्कला पुल निर्माणसँगै विकट ग्रामीण बस्ती पालिकाका केन्द्र र सदरमुकामसँग जोडिएका छन्।

मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि वडा नं ५ अर्मनलाई केन्द्रसँग जोड्न म्याग्दी खोलामा  ११ करोड २४ लाख २५ हजार ५२ लागतमा निर्माण भएको पुलबाट यातायातका साधन सञ्चालन भइरहेका छन्। विसं २०७५ पुस २५ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी लुम्बिनी प्राकृतिक जेभीसँग ठेक्का सम्झौता भएको थियो। कोरोना सङ्क्रमणका कारण निर्माण ढिला भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ। पुल ८० मिटर लम्बाइको छ।

त्यस्तै,  १० करोड ७२ लाख १२ हजार लागतमा बेनी नगरपालिका–४ सिङ्गादेखि मङ्गला गाउँपालिका–३ वरङ्जालाई जोड्ने पक्की पुल निर्माण भएको छ। उक्त पुलको लुम्बिनी प्राकृतिक जेभीले निर्माण गरेको हो।

Shivam cement

पूर्वाधार विकास कार्यालय म्याग्दीले मालिका–७ भारबाङघाटमा पक्की पुल निर्माण गरेको छ। भारवाङको पुल निर्माण गर्न देव एण्ड सायर बिएन जेभीसँग  छ करोड २४ लाख २३ हजारमा ठेक्का सम्झौता भएको थियो। पश्चिम म्याग्दीको मालिका–५ र धौलागिरि–७ को सिमाना दाङखोलामा  एक करोड ९३ लाखमा पक्की पुल निर्माण भएको छ। उक्त पुल निर्माणका लागि इन्द्रेणी फेवा जेभीले ठेक्का सम्झौता लिएको थियो।

बिमदेखि मराङ र मल्कबाङलाई जोड्ने अर्कलामा  दुई करोड ७२ लाखमा फेवा सावित्री जेभी पोखराले पुल निर्माणको जिम्मा लिएको थियो। म्याग्दीका विभिन्न बस्तीलाई सहरसँग जोड्ने गरी धमाधम पुल निर्माणले गति लिन थालेपछि स्थानीय उत्साहित भएका छन्।

अब हामी पनि सहरदेखि टाढा छैनौँ भन्ने महसुस हुन थालेको छ मालिका–६ का प्रेम सिउथानीले बताए। गाउँगाउँमा मोटर गुड्न थालेपछि बल्ल विकास भनेको यस्तो हुँदो रहेछ भनेर बुझ्न थालिएको स्थानीयको भनाइ छ।

प्रकाशित: Jul 23, 2023| 23:02 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्