बिहीबार, जेठ १५, २०८२

सन्दर्भ: पुष्पलालको ४५औं स्मृति दिवस

कांग्रेस-कम्युनिस्ट मिलनका सूत्रधार पुष्पलाल

पुष्पलाललाई नेपालका वाम पार्टीले मात्र नभएर प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानलाई पुराना कांग्रेसीहरूले पनि सम्झिने गर्छन्।
 |  आइतबार, साउन ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

vianetvianet

काठमाडौं- आज साउन ७ गते। प्रजातन्त्रका लागि कांग्रेस-कम्युनिस्ट मिलेरै राणा र शाह शासन समाप्त पार्नुपर्ने मान्यतामा अडिग नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै छ।

पुष्पलाललाई नेपालका वाम पार्टीले मात्र नभएर प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानलाई पुराना कांग्रेसीहरूले पनि सम्झिने गर्छन्। यसको कारणचाहिँ पुष्पलाल कम्युनिस्ट पार्टीका संस्थापक भए पनि प्रजातान्त्रिक शासन व्यवस्थाका लागि कांग्रेससँग हिमचिम राख्थे।

बीपी कोइराला, कृष्णप्रसाद भट्टराईहरूसँग त पुष्पलालको उठबस लामो समयसम्म भयो। १५ असार १९८१ मा त्यतिबेलाको पूर्व २ नं. रामेछापमा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा जन्मिएका पुष्पलाल सानैदेखि क्रान्तिकारी स्वभावका रहेको उनको इतिहास पढ्दा थाहा हुन्छ।

इतिहासविद् हरिराम जोशीका अनुसार नेपालमा पहिलोपल्ट सरकारी कर्मचारीको हडताल भयो, २००९ सालमा। पुष्पलालका पिता भक्तलाल सरकारी कर्मचारी थिए। २००९ को अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीको हडतालको क्रममा एक्सन कमिटीको अध्यक्ष पनि बनेका थिए।

राणा शासनको जगजगी रहेका बेला शासकविरुद्ध बोल्नु, लेख्नु त्यतिखेर काल निम्त्याउनु सरह हुन्थ्यो। राणा शासनविरोधी मोर्चाको नेतृत्व लिएको बात लगाएर १९९७ मा गंगालाल श्रेष्ठलाई राणा शासकले गोली हानी मृत्युदण्ड दिए। यिनै पुष्पलालका दाजु थिए, गंगालाल। दाजुलाई गोली ठोकी मार्नु अघिल्लो दिन भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गंगालालले पुष्पलाललाई ‘माइला, मैले प्रजातन्त्रका निम्ति बालेको दियोलाई तैंले प्रज्वलित पार्नेछस्’ भनेका रहेछन्। दाजुको यही वचन पुष्पलाललाई राजनीतिमा होमिन र प्रजातन्त्रका लागि राणा शासन अन्त्य गर्न प्रेरणा स्रोत बन्यो।

National life insurance

राणा शासनको जग भत्काउन पुष्पलालले १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गरे। संघमा रहेका सदस्यले आ–आफ्नो रगतले प्रतिज्ञापत्रमा सही गरेर पार्टीमा लाग्नुपर्ने नियम बसाइएको थियो। संघले राणाशासनको विरोध गर्ने, विद्यालयहरू खोली विभिन्न खाले तालिम दिने गरिन्थ्यो। 

पुष्पलालले भारतमा पनि राणाविरोधी गतिविधि अगाडि बढाउन १९९७ देखि बन्दी जीवन बिताइरहेका नेपाल प्रजा परिषद्का नेताहरूसित गोप्य सम्पर्क राखी टंकप्रसाद आचार्यलगायत अरू नेताहरूको नेलसहितको फोटो सन् १९४२ मा पटनाबाट प्रकाशित हुने ‘जनता’ पत्रिकामा प्रकाशित गर्न सहयोग पुर्‍याएको इतिहासविद् जोशी सुनाउँछन्।

२००४ मा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकार र प्रजातन्त्रका लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, साहना प्रधानलगायतले गरेका थिए। जनताद्वारा गरिएको पहिलो आन्दोलनका कारण दबाब खेप्न नसकेर तत्कालीन राणा शासक पद्मशमशेरले सुधारको कदम चाल्ने घोषणा गरेका थिए, २००४ सालमा।

पुष्पलालले मार्क्सवाद–लेनिनवादलाई सर्वोपरी विचारधारा ठानेर २००६ मा कलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरे। कम्युनिस्ट पार्टी स्थापना गर्नुको कारणचाहिँ सोही वर्ष कलकत्तामा भारत कम्युनिस्ट पार्टीका नेता अजय चक्रवर्तीसँगको भेट ठानिएको पुष्पलालको जीवनी पढ्दा बुझ्न सकिन्छ।

पुष्पलाललाई नेपालका वाम पार्टीले मात्र नभएर प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानलाई पुराना कांग्रेसीहरूले पनि सम्झिने गर्छन्। यसको कारणचाहिँ पुष्पलाल कम्युनिस्ट पार्टीका संस्थापक भए पनि प्रजातान्त्रिक शासन व्यवस्थाका लागि कांग्रेससँग हिमचिम राख्थे।

पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको प्रचार–प्रसार गर्न उबेलै कम्युनिस्ट पार्टीको घोषणापत्रसमेत नेपालीमा अनुवाद गराएका थिए। कम्युनिस्ट राजनीति इमान, निष्ठा र सिद्धान्तबाट विचलित हुन नहुने मान्यतामा अडिग रहने पुष्पलालले नेपालको प्रजातान्त्रिक आन्दोलनमा खेलेको भूमिकाकै कारण नेपालमा वामपन्थीहरूको फैलावट हुन सकेको इतिहासविद् जोशीको बुझाइ छ। कम्युनिस्ट राजनीति इमान, निष्ठा र सिद्धान्तबाट विचलित हुन नहुने मान्यतामा अडिग पुष्पलालले प्रजातान्त्रिक आन्दोलनमा खेलेको भूमिकाकै कारण नेपालमा वामपन्थीहरूको फैलावट हुन सकेको जोशी बताउँछन्। 

एमाले नेतृ सहान प्रधानसँग वैवाहिक बन्धनमा बाँधिएका पुष्पलालले प्रजातन्त्रका लागि परिवारलाई कम र देशका लागि ठूलो समय खर्चिए। २०१५ को आमनिर्वाचनमा तनहुँको बन्दीपुरबाट निर्वाचन जितेका थिए उनले। २०१६ मा उनले सोभियत संघमा सम्पन्न कम्युनिस्ट अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई सोही वर्ष चीनको भ्रमणसमेत गरे।

नेपाली कांग्रेसका नेता वीपी कोइराला नेतृत्वको बहुमतको प्रजातान्त्रिक सरकारलाई तत्कालीन राजा महेन्द्रले १ पुस २०१७ मा सैन्य कुमार्फत अपदस्थ गरे। राजा महेन्द्रको प्रजातन्त्रमाथिको कुबाट रुष्ट पुष्पलाल त्यसपछि भूमिगत र निर्वासित जीवन बिताउन थाले। पुष्पलालले छरिएका कम्युनिस्टहरूलाई जमघट गराएर तेस्रो महाधिवेशन गरे।

इतिहासविद् जोशीका अनुसार वीपी र पुष्पलालबीच राजनीतिक र वैचारिक मतभेद भए पनि व्यक्तिगत सम्बन्ध असाध्यै राम्रो थियो। यसको उदाहरण १० वर्षसम्म वीपी–पुष्पलाल प्रवासमा रहँदा एउटै कोठामा बसेका थिए। वीपीले पुष्पलाललाई कहिल्यै नराम्रो व्यवहार गरेनन्।

वीपी १७ पुस २०३३ मा स्वदेश फर्किए। स्वदेश फर्किनु ठीक पाँच दिनअघि वीपी र पुष्पलालबीच सारनाथमा अन्तिम भेट भएको जोशी सुनाउँछन्। त्यो भेटमा उनीहरूबीच नेपालको प्रजातान्त्रिक आन्दोलनका विषयमा लामो छलफल भयो। पुष्पलालले वीपीलाई नेपाल नफर्किन सम्झाएका थिए।

कांग्रेस र कम्युनिस्टहरू मिलेर संघर्ष गरे मात्रै नेपालमा राजशाही निरंकुश पञ्चायती व्यवस्था ढाल्न सकिन्छ भन्ने मान्यतामा अडिग पुष्पलालको ७ साउन २०३५ मा भारतको नयाँ दिल्लीस्थित अल इन्डिया मेडिकल इन्स्टिच्युटमा उपचार गर्दागर्दै निधन भयो।

पुष्पलाललाई कांग्रेसले कति मान्यता दिन्थ्यो भन्ने प्रमाणचाहिँ नयाँ दिल्लीमा उपचाररार्थ रहेका बेला कांग्रेस नेता गणेशमान सिंह, शैलजा आचार्यलगायतले पटक–पटक भेट गरेको प्रसंग पनि हो। नेपालको प्रजातान्त्रिक आन्दोलनमा कांग्रेस नेताहरूले पुष्पलालप्रति निकै ठूलो भरोसा राख्ने गरेको इतिहासमा प्रमाणित भइसकेको जोशीको बुझाइ छ।

पुष्पलालको प्रजातान्त्रिक आन्दोलनलाई अनेक विवादमा पारेर कम्युनिस्ट पार्टीभित्र तत्कालीन महासचिव (२०१९) केशरजंग रायमाझीहरूले निष्कासनसमेत गरे। केशरजंग तिनै हुन्, जसले पञ्चायती व्यवस्थामा प्रवेश गरेर राजालाई सहयोग पुर्‍याए। कम्युनिस्टभित्रकै सहयात्रीले राजनीतिमा अगाडि बढ्न नदिन अनेकौं बाधा–अड्चन थोपरे पनि पुष्पलाल अविराम प्रजातान्त्रिक र वाम आन्दोलनमा निरन्तर संघर्षरत रहिरहे।

पुष्पलालको प्रजातन्त्रप्रतिको अठोटकै कारण २०४६ मा कांग्रेस–कम्युनिस्टबीचको समझदारीले जनआन्दोलन हुन सक्यो। तत्कालीन राजा वीरेन्द्रले पञ्चायती व्यवस्थालाई हटाएर बहुदलीय प्रजातान्त्रिक शासन दिन सहमत भए। अझ पछिल्लो समय कांग्रेस–कम्युनिस्टहरूको मिलनकै कारण नेपालमा गणतान्त्रिक शासन व्यवस्था चलिरहेको छ। जनताले आफ्ना जनप्रतिनिधिमार्फत शासित हुने मौका पाएका छन्। 

राजनीतिलाई सही लिकमा ल्याउन आफ्नो जीवनलाई नै कम्युनिस्ट आन्दोलनमा समर्पित गरेका पुष्पलाल सही मानेमा प्रजातान्त्रिक शासन व्यवस्थाका मसिहा थिए। नेपालमा पुष्पलालले छाडेर गएको कम्युनिस्ट आन्दोलन सफल भए पनि चिराचिरा परेका वाम घटकहरूबीच अहिले पनि विचारको नभई सत्ताका लागि हानथाप चलिरहेको छ। पुष्पलाल आफूहरूकै मात्र भएको दाबी गर्नसमेत उनीहरू पछि पर्दैनन्।

चिराचिरामा विभक्त नेपालका कम्युनिस्ट पार्टीहरूबीच बेमेल अझ चर्किंदो छ। पछिल्लो समय पुष्पलालको मार्गनिर्देशनमा चल्ने भनिएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र माओवादलाई मूल एजेन्डा बनाएर राजनीति गरिरहेको नेकपा माओवादी केन्द्र हाल कांग्रेसको बलमा सत्तामा आसीन छन्। 

पुष्पलालको लिगेसी बोकेको भनिएको नेकपा एमाले र अरु कम्युनिस्ट पार्टीहरूबीच सत्ता सञ्चालन, राजनीति, आर्थिक, सामाजिक विषयमा ठूलो खाडल छ। यस्तो बेला कांग्रेस-कम्युनिष्ट मिलाउने पुष्पलालको आइडिया अझ बढी सान्दर्भिक भएको छ।

प्रकाशित: Jul 23, 2023| 07:48 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्