काठमाडौं- आमरूपमा राजा वीरेन्द्रलाई उदार र प्रजातान्त्रिक भएको टिप्पणी गरिन्छ। २०३२ सालमा राजा वीरेन्द्रले गाउँ र नगर पञ्चायतका प्रधान र उपप्रधान पञ्चसम्म छान्ने आम जनताको अधिकार पनि खोसे। २०३३ सालमा राजासँगै सम्बन्ध विस्तार गर्छु भन्दै निर्वासनबाट फर्किएका वीपी कोइरालासहितका नेताहरुलाई जेलमा राखे।
पछि जनमत संग्रहमा मुलुक जाने भनिएपछि राजद्रोह लागेका सबैलाई नयाँ वर्षको अवसरमा आममाफी दिने घोषणा भयो। २०३७ वैशाख २० गते भएको निर्दल रोज्ने कि बहुदल भन्ने विषयमा भएको जनमत संग्रहमा निर्दलीय व्यवस्थाको विजय भयो। जनमत संग्रहमा धाँधली भएको भन्दै कांग्रेस नेताहरुले नतिजा स्वीकार नगर्ने भन्दै विद्रोहको तयारी गर्नुपर्ने तर्क गरिरहेका थिए। तर, वीपी कोइरालाले जनमत संग्रहको परिणामलाई व्याख्यै गर्न नसकिने नतिजा भनेर टिप्पणी गरे। उनले 'कम्तिमा हामीजस्ता प्रजातन्त्रवादीले जनमत भएकाले अस्वीकार गर्छु भन्न मिल्दैन' भन्दै अन्य नेताहरुलाई सम्झाए।
कुलबहादुर गुरुङले वीपीले नतिजा स्वीकार गर्न आफूहरुलाई सम्झाएको स्मरण गर्दै भनेका छन्, 'नहुनु पर्ने थियो, भइहाल्यो। तर यो गलत हो भनेर जनतालाई भन्न समय लाग्छ भन्नुहुन्थ्यो। हुन पनि जनमत संग्रहको नतिजा स्वीकार्ने निर्णय सही ठहरियो।'
यसबीचमा राजाले २०३७ पुस १ मा तेस्रो संशोधनसहितको पञ्चायती संविधान जारी गरे। संविधानको नयाँ संशोधन जारी भइसकेपछि २०३७ पुस १४ गते जन्मदिनको अवसरमा राजदरबारमा ठूलो समारोह आयोजना गरिएको थियो। उक्त समारोहमा पूर्वप्रधानमन्त्रीहरुलाई पनि बोलाइएको थियो।
त्यस्ता समारोहमा औपचारिक र अनौपचारिक दुवै खाले हुने गर्दछन्। औपचारिक कार्यक्रम हो भने ड्रेस कोड तोकिएको हुन्थ्यो। बेलुकाको समारोह भए कालो टोपी, कालो कोट र कालो जुत्ता तोकिन्थ्यो। दिउँसोको समारोहका लागि टोपी र जु्त्ता कालो भए पनि कोट खैरो तोकिएको हुन्थ्यो।
यद्यपि जन्मदिनको समारोह भने औपचारिक र साँझपखको थियो। पूर्वप्रधानमन्त्रीका हिसाबले वीपीलाई पनि निम्तो गरिएको थियो। अब दरबारले बोलाउँछ भनेर कसैले पोशाक तयार गरेर राख्ने कुरा भएन। त्यसैले वीपी अनौपचारिक पोशाकमै गए।
दरबार परिसरमा फलानो तहका व्यक्तिलाई फलानो पालामा बस्ने भन्ने नियम पनि बनाइएको हुन्थ्यो। पूर्वप्रधानमन्त्रीको ठाउँमा वीपी थिए। वीपी अनौपचारिक पोशाकमा सहभागी भएको कुरा कसैले राजाको कानमा पुर्याए। राजाले उनलाई पोशाक नमिलेको भन्दै एडीसी लगाएर बाहिर निकाल्न आदेश दिए।
एडीसीले त्यो कुरा वीपीलाई सुनायो र दरबारभित्र पसिसकेका वीपी फर्किएर घरतिर लागे। पोशाक नियम मान्ने वा नमान्ने व्यक्तिगत कुरा भए पनि व्यवस्थालाई नै अस्वीकार गरेर बसेका वीपी राजाको निम्तो स्वीकार गर्दै सहभागी हुन पुग्नु नै ठूलो कुरा हो। तर, राजाले भने उनलाई बेइज्जत गर्नका लागि निम्ता गरेको देखियो। राजाले पनि त्यसरी निम्ता स्वीकार गरेर दरबार पुगेका वीपीसँग सम्बन्ध सुधार गर्ने मौका गुमाए।
२०२५ साल कात्तिक १४ जेलमुक्त वीपी कोइरालासहितका नेताहरु भारत निर्वासनमा गए। भारतमा पनि तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको सार्वभौमिकतामाथि नै आँच आउने प्रस्ताव वीपीलाई गरिन्। वीपीविरुद्ध नेपालमा सात-आठवटा मुद्दा थिए, देशद्रोहका। यहाँ फर्किंदा मारिने सम्भावना धेरै थियो। त्यत्रो जोखिम हुँदाहुँदै मारे भने नेपालमै मर्छु भनेर वीपी फर्किए।
करिब ८ वर्षको निर्वासनपछि २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किएका थिए।
(सूर्यबहादुर थापा: मेरा नौ दशक- पाँच व्यवस्था, पाँच राजा, पाँच पटक प्रधानमन्त्री, पृष्ठ २९३)