शनिबार, जेठ ३०, २०८३

बाँकेमा लम्पी स्किनविरुद्ध चौपायालाई खोप

 |  शनिबार, साउन ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०

बाँके- चौपायामा देखिएको लम्पी स्किन रोगको नियन्त्रणका लागि बाँकेमा खोप दिन थालिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख कमला अधिकारीले छ हजार दुई सय डोज (मात्रा) खोप बाँकेमा आएको र यसबाट दुई हजार पाँच सय खोप तीन वटा पालिकामा वितरण गरिएको जानकारी दिइन्।

National life

पहिलो चरणमा व्यावसायिक पशुपालन गरेका कृषकको फार्ममै पुगेर लम्पी स्किन रोगविरुद्धको खोप दिन सुरुआत गरेको उनको भनाइ छ। ‘पहिलो चरणमा पशु फार्म खोलेर व्यावसायिक पशुपालन गरेका कृषकको फार्ममै पुगेर खोप दिन सुरु गरेका छौँ।’ उनले भनिन्, ‘पहिलो चरणको वितरण सकिएपछि कृषकका घरघरमा पुगेर दोस्रो चरणको खोप दिन सुरु गर्छौं।’

बाँकेका आठवटा पालिकामध्ये कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकामा हालसम्म छ सयका दरले खोप वितरण गरी सकिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिइन्। बिहीबारदेखि खोप दिन प्राविधिक खटाइएको उनले बताइन्।

जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ, पशु चिकित्सक रुपेन्द्रकुमार ओलीले पशुमा देखिएको रोगको पहिचानका लागि प्रयोगशाला परीक्षण र लक्षणअनुसारको उपचार भइरहेको जानकारी दिए।

घाउ, खटिरा आएकालाई ‘ड्रेसिङ’ गर्ने काम भइरहेको जानकारी दिँदै पशु चिकित्सक डा ओलीले ‘भाइरस’बाट सर्ने रोग भएकाले यसको दिगो उपचार नभएको बताए। साथै उनले तालिम प्राप्त ५० जना ‘भ्याक्सिनीयटर’ले पालिकामा पुगेर शुक्रबारदेखि खोप लगाउन सुरु गरेका बताए।

Shivam cement

नेपाल भेटेरिनरी एसोसिएसनका सचिव डा शङ्कर न्यौपानेले सङ्क्रमणबाट पशुको मृत्युपछि किसानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको बताए। उनले भने, ‘किसानलाई खेती गर्न पशु र पशुको मल आवश्यकता पर्ने हुँदा पशु नै मर्न थालेपछि यसको मार किसानलाई नै परेको छ।’

सङ्क्रमण भएको पशु भए त्यसलाई सामूहिकरुपमा चराउन नलैजाने, पशुको ढुवानी कार्य बन्द गर्ने र आवतजावतमा कडाइ गरेर लम्पी स्किनको सङ्क्रमण न्यूनीकरण हुनसक्ने उनको सुझाव छ। उनका अनुसार रोगी पशुलाई लामखुट्टे, झिँगा वा किर्नाले टोकेपछि अन्यलाई पनि यो रोगको सङ्क्रमण फैलन्छ।

नेपालगञ्ज उपमहानगरपालिकासहित सबै स्थानीय तहमा उक्त ‘भाइरस’को सङ्क्रमण देखिएको छ। उक्त रोगबाट सबैभन्दा बढी बाँकेको खजुरा, राप्तीसोनारी र वैजनाथ गाउँपालिका प्रभावित भएको भेटेरिनरी अस्पतालले जनाएको छ।

बाँकेमा करिब एक लाखको हाराहारीमा भैँसी र ६० हजारको हाराहारीमा गाई छन्। तीमध्ये सात हजार पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको छ।

लम्पी स्किन रोगको सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ। सङ्क्रमण जिल्लाभर फैलिएपछि मात्र किसानले खोपको सुविधा पाएका हुन्।

प्रकाशित: Jul 22, 2023| 09:08 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्