शनिबार, जेठ ३०, २०८३

तीव्र गतिमा गुड्ने गाडीको निगरानी गर्न सडकमा क्यामेरा जडान

 |  शुक्रबार, साउन ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ५, २०८०

काठमाडौं- उपत्यका ट्राफिक प्रहरी कार्यालयले गाडीको तीव्र गति नियन्त्रणका लागि ‘अटोमेटिक नम्बर प्लेट रिकग्निसन सिस्टम विथ डिटेक्स’ (एएनपिआर क्यामरा) जडान गर्न थालेको छ।

National life

यसरी सडकमा जडान गरिएका क्यामरा (उपकरण) ले तीव्र गतिमा गुडिरहेको गाडीको पहिचान गरी त्यसको अभिलेख ट्राफिक प्रहरी कार्यालयको नियन्त्रण कक्षमा रहेका सर्भरमा पुर्याउने गरेको बताइएको छ।

अहिले चक्रपथका तीन स्थानमा ‘एएनपिआर बेस्ड, राडार बेस्ड सिस्टम’ का क्यामरा जडान भएको उपत्यका काठमाडौं ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

जडान भएका क्यामेराको काम सडकमा भएको सवारी साधनको तीव्र गति तथा दुर्घटना नियन्त्रणका गतिविधिलाई चौबिसै घण्टा निगरानी गर्नु रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।

उनले भने, ‘तीव्र गति तथा दुर्घटना नियन्त्रणका लागि यो प्रणाली जडान गरिएको हो, यसले अब ट्राफिक प्रहरीलाई चौबिसै घण्टा सडकमा उभिनु पर्दैन, यसको सबै डाटा सर्भरमा रेकर्ड हुन्छ।’

Shivam cement

अहिले चक्रपथको कोटेश्वर, थसिखेल र धोबीघाट नयाँबाटोमा यो प्रणाली जडान गरिएको तथा अन्य ठाउँमा पनि यो उपकरण जडान गर्ने तयारी रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

तीव्र गतिमा गाडी हुइँक्याएर दुर्घटना गरेर भाग्ने अर्थात् ‘हिट एन्ड रन’ का घटना धेरै भएका कारण त्यस्ता गाडी पहिचान गर्न सकियोस् भनेर यो प्रणाली जडान गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

सडक विभागले कोटेश्वरदेखि कलङ्की–चक्रपथ खण्ड तथा भक्तपुरको सडकमा ५० किलोमिटर प्रतिघण्टाको दूरीमा सवारी साधन चलाउन पाइने तथा भित्री सडकको गति भने ३० किलोमिटर प्रतिघण्टा तोकेको छ।

अहिले चक्रपथका तीन ठाउँमा जडान भएको उक्त प्रणालीले ५० किलोमिटर तथा त्यसभन्दा मुनिको गतिलाई सामान्य मानेको छ। त्यसभन्दा माथिको गतिमा गाडी कुदाएमा त्यसलाई तीव्र गति मानिनेछ र त्यसै अनुसार ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको छ।

यतिमात्र नभई अहिले जडान भएको प्रणाली अर्थात् ‘एएनपिआर क्यामरा विथ स्पिड डिटेक्सन क्यामरा’ले तोकिएको भन्दा बढी गतिमा गुड्ने गाडीको फोटो खिचेर नियन्त्रण कक्षमा पठाउने तथा त्यसलाई हेरेर ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता भट्टले जानकारी दिए।

प्रकाशित: Jul 21, 2023| 22:01 शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्