काठमाडौं- हिन्दी चलचित्रमा देखिने हात्ती, घोडा, कुकुरलगायत जनावरहरुलाई देखेर के तपाईंको मनमा कहिले यस्तो प्रश्न उठ्यो- यी जनावरहरु आखिर कहाँबाट ल्याइन्छ र कहाँ जान्छन् ?
सलमान खानको चलचित्र ‘प्रेम रतन धन पायो’को हात्तीलाई सम्झनु हुन्छ? आमिर खानको ‘ठग्स अफ हिन्दूस्तान’का गधा, अमिताभ बच्चन र हेमा मालिनीको चर्चित चलचित्र ‘बागबान’मा दुई कुकुरको समेत अभिनय छ। अक्षय कुमारको चलचित्र ‘एंटरटेनमेंट’को कुकुर र राजकुमार रावको चलचित्र ‘मोनिका ओ माय डार्लिङ’ का इगुआना पनि सम्भवतः तपाईंलाई सम्झना होला।
यी सबै जनावर 'गुरुकुल’ का हिस्सा हुन्, जसलाई जावेद खान र उनको परिवार चलाउँछन्। जावेदका अनुसार यो काम उनको परिवारले ४५ वर्षदेखि गर्दै आएको छ। यो कामको सुरुवात उनका बुवा अयुब खानले राज कपूरको आरके स्टुडियो फिल्म्सबाट गरेका थिए। उनको 'गुरुकुल’मा विभिन्न २० नश्लका कुकुर, थुप्रै प्रकारका बिरालो, इगुआना, सुगा, मुसा र खरायो पनि राखिएको छ।
उनी चलचित्रको सुटिङको लागि यी जनावरहरु सप्लाइ गर्छन् र काम सकेपछि जनावरहरुलाई त्यही फिर्ता पठाइन्छ। चलचित्रहरुमा जनावर प्रयोगको विषयमा जावेद भन्छन्, 'यी जनावरहरुको एनिमल वेलफेयर बोर्ड अफ इन्डियामा रजिस्ट्रेशन गराउनु पर्छ। हामीसँग कति जनावर छन् भनेर बताउनुपर्छ। जनावरहरुको रजिस्ट्रेशन गर्नुपर्छ भन्ने कुरा आज पनि थोरैलाई मात्रै जानकारी होला।'
उनी सुनाउछँन्, 'कहिलेकाहीँ धेरै माग भएको बेला हामीले पर्याप्त जनावर उपलब्ध गराउन सक्दैनौं। जस्तै- सुरज बडजात्याको चलचित्र ‘प्रेम रतन धन पायो’ मा ६ वटा हात्ती चाहिएको थियो। हामीसँग दुई हात्तीको मात्रै रजिस्ट्रेशन थियो। त्यहि भएर उनीहरुले दुई हात्तीमात्र प्रयोग गर्न पाए।'
उनले थपे, 'कुनै चलचित्रको लागि निर्देशक वा निर्माता जनावरको माग लिएर आउँदा चलचित्रमा त्यसको के प्रयोग के छ भन्नेबारे पूरा जानकारी लिन्छौं। त्यसपछि त्यो जनावरलाई सिनको लागि ड्रेन्ड गर्छौं। जब चलचित्रको शुटिङ हुन्छ हामी त्यहाँ उपस्थित हुन्छौं र हामीले नै त्यो सिन गराउँछौं। किनभने उनीहरु अरु कसैले भनेको मान्दैनन्। सिनको समयमा उपस्थित हुनुको अर्को कारण जनावरलाई काबुमा राख्नको लागि पनि हो। शुटिङको मिति पाएसँगै उनीहरु सरकारसँग स्वीकृतिको लागि निवेदन हाल्छन्। कति दिनको शुटिङ हुन्छ र कति घण्टाको काम रहन्छ भन्ने कुराको जानकारी शुटिङ शुरू हुनुभन्दा पहिले नै जानकारी गराइन्छ। घोडा र हात्तीजस्तो ठूलो जनावरमाथि अधिक ध्यान दिनुपर्ने आवश्यकता हुन्छ। उनीहरुको लागि पर्याप्त खाना र उपचारको व्यवस्था गरिन्छ।'
रमाइला किस्सा
चलचित्र निर्माणका क्रममा कलाकारहरु र जनावरको रमाइलो किस्सा सुनाउँदै जावेद भन्छन्, 'अभिनेता अक्षय कुमारसँग हामीले 'वक्त’ चलचित्रमा काम गरेका थियौं। मुम्बईस्थित फिल्म सिटीमा हामीले शुटिङ गरेका थियौं। चलचित्रको एक सिनमा १५–१६ जर्मन शेफर्ड कुकुर अक्षय कुमारको पछाडि दौडन्छन्। एकदमै राम्रो सिन थियो। किनभने शुटिङको समयमा अक्षय सर प्रायः हाम्रो कुकुरहरुसँग दौडने गर्नुहुन्थ्यो।'
अक्षय कुमारको चलचित्र 'एंटरटेनमेंट’मा जुन कुकुरले 'ब्रूनो’ को भूमिका खेलेको थियो। उसैले एक विज्ञापनको लागि दीपिका पादुकोणसँग पनि काम गरेको थियो। 'ठग्स अफ हिन्दुस्तान’ चलचित्रको एक सिनमा आमिर खानलाई गधाको सवारी गर्नु थियो। जावेद खान बताउँछन्, 'चलचित्रको समयअनुसार हामी एक महिनाको लागि राजस्थानमा त्यो गधालाई लिएर गएका थियौं। गधाको नाम नवाब थियो। आमिर चाहन्थे- उसनलाई सबैले इज्जतका साथ उसको नाम लिएर बोलाओस्। त्यही भएर सेटमा सबैले उसलाई नवाब भनेर नै बोलाउँथे।'
जावेदका अनुसार उनका पिता अनाथालयमा हुर्के–बढे। त्यहीँ नजिकै रहेको 'आरके फिल्म्स’ को बाहिर आफ्नो मालिकको कुकुरलाई घुमाउने काम गर्थे। एक दिन आरके फिल्म्समा शुटिङको लागि एक कुकुर चाहिएको थियो। त्यतिबेला जावेदको बुवालाई भित्र बोलाएर राम्रो पैसा दिने भए। यो काम उनलाई मन पर्यो र उनले जनावरहरुलाई प्रशिक्षित गर्न थाले र विस्तारै यो काम बढ्दै गयो। त्यतिबेलादेखि अहिलेसम्म नै उनको परिवारले १ हजारभन्दा धेरै चलचित्रमा जनावर पुर्याएका छन्। जसमा हिन्दी, तमिल, तेलुगूदेखि हलिउड चलचित्र पनि छन्।
चलचित्रमा काम गरेबापत जनावरहरुलाई दैनिक रुपमा नै पारिश्रमिकको व्यवस्था गरिएको हुन्छ। जावेदका अनुसार एक जनावरको एक दिनको शुटिङगको लागि ७ हजारदेखि १० हजारसम्म दिने गरिएको छ। ठूलो जनावरको पारिश्रमिक सानोको भन्दा धेरै हुन्छ। एउटा हात्तीले दैनिक १ सय ८५ किलोसम्म खाना खान्छन्। उसको लागि पूरै स्टक नै राख्नुपर्छ। साथै उनीहरुको लागि उपचारको व्यवस्था पनि शुटिङ स्थलमा राख्नुपर्छ।
- बीबीसी हिन्दीका लागि मधु पालले तयार गरेको रिपोर्टको भावानुवाद