काठमाडौं- भारतको मणिपुरमा दुई महिलामाथि चरम यौन उत्पीडन भएको भिडियो सार्वजनिक भएपछि आक्रोश बढेको छ। आक्रोशित महिलाहरुले घटनाको मुख्य अभियुक्तको घर जलाइदिएका छन्। यी महिलाहरु मणिपुरमा दशकौंदेखि सामाजिक आन्दोलन चलाइरहेको मीरा पैबी संगठनका सदस्य हुन्।
दुई महिलालाई पूर्ण रुपमा नग्न बनाएर हिँडाइएको भिडियो बुधबार सोसल मिडियामा सार्वजनिक भएकव थियो। उक्त भिडियोमा ती दुई महिलालाई भीडले समातेर घिसार्दै खेतमा धकेलेको देखिन्छ। भिडियोमा देखिएकी एक महिलाको उमेर झन्डै २० वर्ष र अर्कीको उमेर ४० वर्ष जति रहेको बताइएको छ।
आदिवासी जनजातिहरूको संस्था आईटीएलएफले जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार काङपोकपी जिल्लामा कुकी-जो आदिवासी समुदायका महिलाहरूलाई त्यसरी यातना दिइएको थियो। उक्त संस्थाले उनीहरूमाथि सामूहिक बलात्कार समेत भएको दाबी गरेको छ। भारतको संघीय सरकारले सबै सामाजिक सञ्जाल प्रयोगकर्तालाई भिडियो हटाउन निर्देशन दिएको छ।
यो घटनामा अहिलेसम्मम चारजना पक्राउ परेका छन्। मुख्य अभियुक्त पक्राउ परेको केही घण्टामै महिलाहरुले उसको घर जलाइदिएका थिए। साथै गाउँलेहरुले सबै अभियुक्तको परिवारलाई गाउँ निकाला गर्ने निर्णय गरेका छन्। प्रहरीले भिडियो खिच्नेलाई पनि नियन्त्रणमा लिएको छ। पक्राउ परेका अभियुक्तहरुलाई बलात्कार मुद्दा लगाइने भएकव छ।
मणिपुर घटनाले संसद्मा पनि प्रवेश पाएको छ। विपक्षीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुरमा जारी हिंसाबारे नबोलेको भन्दै उनीमाथि प्रश्न उठाएका छन्। जवाफमा मोदीले उक्त घटनाले भारतलाई लज्जित बनाएको भन्दै घटनाका दोषीलाई उम्किन नदिने बताएका छन्।
उनले भने, 'म पूरै राष्ट्रलाई विश्वस्त तुल्याउन चाहन्छु कि कानुन आफ्नो बाटो समाउँछ। मणिपुरका छोरीहरूमाथि जे भएको छ त्यसलाई कहिल्यै माफी दिइने छैन। मणिपुरको घटनाले मेरो मन दुखेको छ। कुनै पनि सभ्य समाजका लागि यो लज्जाको विषय हो। पाप गर्ने कति जना छन् र को हुन् त्यो कुरा आफ्नो ठाउँमा छ तर यसबाट पूरै भारतको बेइज्जत भइरहेको छ। म मुख्यमन्त्रीहरूलाई आ-आफ्ना राज्यमा कानुन व्यवस्था सुदृढ बनाउन आग्रह गर्छु,' मोदीले भने।
भारतको सर्वोच्च अदालतले पनि महिलामाथि भएको आक्रमणबारे चासो देखाएको छ। प्रधानन्यायाधीश डीवाई चन्द्रचूडले उक्त भिडियोले आफूलाई विचलित बनाएको भन्दै त्यसबारे यथोचित कदम चाल्न सरकारलाई भनेका छन्। सर्वोच्च अदालतले यो घटनालाई आफ्नो जानकारीमा लिँदै पूरा घटनाबारे जुलाई २८ मा सुनुवाइ गर्ने बताएको छ।
मणिपुरका मुख्यमन्त्री बीरेन सिंहले यो घटनाका दोषीहरूलाई आफूले मृत्युदण्ड दिन लगाउने प्रयास गर्ने बताएका छन्। विगत साढे दुई महिनादेखि मणिपुरमा मैतेई र कुकी समुदायबीच हिंसात्मक द्वन्द्वका घटनामा १३० जनाको ज्यान गएको छ भने ६० हजार विस्थापित भएका छन्।