तनहुँ– तनहुँको भानु नगरपालिकाले नगरबासीको घर–घरबाट निस्कने फोहोरमैला निःशुल्क उठाउने गरेको छ। नगरपालिकाले दैनिक नगरबासीको घरबाट निस्कने फोहोरमैला उठाउने गरेको हो।
नगरपालिकाले बजार क्षेत्रका बस्तीबाट दैनिक फोहरमैला उठाउने गरेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए। ‘घर–घरबाट फोहरमैला उठाएर नगरपालिकाकै स्वामित्वमा रहेको जग्गामा व्यवस्थापन गर्ने गरेका छौं,’ उनले भने, ‘नगरपालिकाभित्र फोहोरमैलाको दुर्गन्ध फैलन नदिन निःशुल्क फोहोर उठाउने गरेका हौँ, सरसफाइ तथा फोहरमैलासम्बन्धी कार्यविधि बनाउने तयारीमा छौँ।’
नगरपालिकाले उठाएको फोहोरमैला वडा नम्बर १ अँधेरीखोला किनार नजिकै व्यवस्थापन गर्ने गरिन्छ। सबै वडाबाट संकलित फोहरमैला नगरपलिकाकै स्वामित्वमा रहेको ३५ रोपनी जग्गामा व्यवस्थापन गर्दै आएको नगरप्रमुख त्रिपाठीले बताए। सो जग्गा नगरपालिकाले फोहोर व्यवस्थापनकै लागि खरिद गरेको हो।–रासस