आइतबार, वैशाख २७, २०८३

डेंगु संक्रमण भदौ-असोजमा पिकमा पुग्ने प्रक्षेपण

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ। ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेंगु रोग लाग्दछ।
 |  शुक्रबार, साउन ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ५, २०८०

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु संक्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ। एक वर्षको डेंगु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेंगु संक्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको हो।

National life

इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार असोजपछि भने डेंगु संक्रमण क्रमशः कम हुँदै जाने छ। वर्षायाम सुरु भएसँगै असारको अन्तिम सातादेखि संक्रमण ह्वात्तै बढेको छ। गत वर्ष पनि वैशाखदेखि नै संक्रमण देखिन थालेको र भदौदेखि कात्तिकसम्म उच्च संक्रमण भई देशभरिका ७७ जिल्लामा फैलिएको थियो।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ। ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेंगु रोग लाग्दछ।

महाशाखाका अनुसार यही असार २७ गते एक हजार तीन सय ३७ संक्रमण भएकामा साउन १ गतेसम्म आइपुग्दा संख्या बढेर दुई हजार नौ सय ३० पुगेको छ। महाशाखाले डेंगु रोगको रोकथाम र उपचारका लागि घरदैलो कार्यक्रम सञ्चालन गर्ने बताएको छ। 

यसैगरी जोखिम नक्सांकन तथा हट–स्पट पहिचान गर्ने, डेंगु सेरोटाइपको पहिचान, लामखुट्टेमा डेंगु भाइरसको आइसोलेसन गर्ने, अस्पतालमा डेंगु रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गर्ने, डेंगु रोगको निदानका लागि आवश्यक किटको व्यवस्था गर्नेसमेत योजना छ।

गत वर्ष ५५ हजारभन्दा बढीलाई संक्रमण र ८८ जनाको संक्रमणको कारणले निधन भएको थियो। डेंगुबाट मृत्यु भएकामध्ये ५० प्रतिशतभन्दा बढी मृत्यु ५५ वर्ष वा सोभन्दा बढी उमेर समूहका रहेको पाइएको छ। मृत्यु भएका व्यक्तिमा डेंगुसँगै निमोनिया, स्क्रवटाइफसलगायतका संक्रमणसमेत पाइएको छ।

नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो। मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरेको छ। यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ।

प्रकाशित: Jul 21, 2023| 07:17 शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्