आइतबार, वैशाख २७, २०८३

कोशीका ११ जिल्लामा फैलियो डेंगु

 |  बिहीबार, साउन ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ४, २०८०

झापा- लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमण झापा, मोरङ, सुनसरीलगायत कोशी प्रदेशका ११ जिल्लामा फैलिएको छ। एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मानिसमा यसको सङ्क्रमण फैलिन्छ।

National life

कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत (डेङ्गु फोकल पर्सन) विवेचना चम्लागाईँका अनुसार सात महिनायता झापामा २४, मोरङमा २५ र सुनसरीमा दुई सय ४० जना डेङ्गुका बिरामी फेला परेका छन्। उनका अनुसार यो अवधिमा कोशी प्रदेशका ११ जिल्लामा डेङ्गु रोगीको सङ्ख्या तीन सय १२ जना पुगिसकेको छ। मधेस, पहाड र हिमाली जिल्ला सबैतिर डेङ्गु फैलिएको पाइएको छ।

गर्मी र बर्खायाममा डेङ्गु फैलिने गरेको छ। डेङ्गुका अधिकांश बिरामी एक महिनाभित्र फेला परेका हुन्। सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापाका अस्पतालमा डेङ्गुका बिरामीको उपचार भइरहेको छ।

पछिल्लो सातामात्रै सुनसरीमा ५३, मोरङमा नौ, झापामा चार, तेह्रथुममा पाँच, भोजपुरमा चार, ताप्लेजुङमा एक र खोटाङमा एक जना डेङ्गुका बिरामी फेला परेका छन्। कोशी प्रदेशको सोलुखुम्बु, उदयपुर र पाँचथरबाहेक सबै जिल्लामा डेङ्गुका बिरामी भेटिएका छन्। सबैभन्दा बढी बिरामी सुनसरीमा रहेका छन्। कोशी प्रदेशभर पाइएका डेङ्गुका बिरामीको दुईतिहाइ सङ्ख्या सुनसरीमा नै छन्।

स्वास्थ्य कार्यालय झापाका स्वास्थ्य निरीक्षक कुलप्रसाद पौडेलले झापामा बिरामी देखिन थालेको बताए। प्रादेशिक अस्पताल भद्रपुरमा डेङ्गुका बिरामीको उपचार भइरहेको र डेङ्गु फैलिन नदिन जनचेतना कार्यक्रम सञ्चालनको तयारी भइरहेको उहाँले जानकारी दिए।

आम ज्वरोभन्दा निकै तीव्र ज्वरो आउनु डेङ्गुको लक्षण हो। खानामा स्वाद थाहा नहुनु, टाउको दुख्नु, गम्भीर अवस्थामा आँखा र नाकबाट रगत बग्नुजस्ता लक्षण डेङ्गुका बिरामीमा देखिन्छन्।

प्रकाशित: Jul 20, 2023| 21:08 बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्