काठमाडौं- नयाँ बानेश्वर हुँदै हिँड्ने गर्नुभएको छ वा सवारीसाधन चलाउने गर्नुहुन्छ भने एउटा कुरा पक्कै ख्याल गर्नुभएको होला। चोकबाट मीनभवनतिर जाने बाटोको दायाँपट्टि पूरै हरियाली थियो। मेन लेन र साइड लेनको बीचमा रहेको भागमा लगाइएका बिरुवा हुर्किसकेका थिए। लाइनै रुखहरुले सो क्षेत्र आकर्षक देखिन्थ्यो।
तर, अहिले त्यही ठाउँ उजाड छ। रुखहरु काटिएका छन् र त्यहाँ डोजर लगाइएको छ। दैनिकजसो बानेश्वर भएर हिँड्ने यात्रु र सवारीचालक यहाँ के भइरहेको छ भनेर अचम्मित परिरहेका हुन्छन्। सडक नै सुन्दर बनाएका रुख काटेर के गर्न खोजिएको हो भनेर आलोचना गरेको पनि सुनिन्छ। पर्यावरण नै बिगारेर बनाउन खोजेको चाहिँ के हो त ?
'राइट टर्निङ होल्डिङ जोन' बनाउन बानेश्वरका रुख काटिएको हो। चोकबाट दायाँ जानुपर्ने सवारीसाधन रोक्नका लागि यो संरचना बनाउन लागिएको हो। जापानी सहयोग नियोग जाइकाको सहयोगमा राति-राति यसको काम भइरहेको छ। रातिको समयमा सवारीसाधन डाइभर्ट गरी धमाधम काम भइरहेको छ।
माइतीघर-तीनकुने सडक खण्डमा ओहोरदोहोर गर्ने सवारीसाधन पुरानो बानेश्वर र शंखमूलतर्फ जाने क्रममा नयाँ बानेश्वर चोक र सो क्षेत्रमा जाम नहोस् भन्ने उद्देश्यसहित ‘राइट टर्निङ होल्डिङ जोन’ निर्माण सुरु गरिएको सडक विभागले बताएको छ। परीक्षणको रुपमा पहिलो पटक बानेश्वरमा यस्तो संरचना बनाउन लागिएको हो।
नयाँ बानेश्वर चोकदेखि पूर्व र पश्चिममा यस जोनको निर्माण भइरहेको छ। यही कामका लागि माइतीघर-तीनकुने सडक खण्डको बीच (मेडियन)मा लगाइएका रुखबिरुवा उखेल्ने र तार तथा पोल हटाउने काम भइरहेको विभागले जनाएको छ। यसमा जाइकाको करिब ६० लाख रुपैयाँ अनुदान सहयोग रहेको र बढीमा डेढ महिनाभित्र निर्माण सम्पन्न हुने विभागको भनाइ छ।
अहिले सडकको बीचमा रहेको ‘मेडियन’ लाई साँघुरो पारेर नयाँ लेन निर्माण गरिने छ, जुन लेनबाट माइतीघरतिरबाट आउने सवारीसाधन शंखमूलतर्फ जाँदा अरू लेनका सवारीसाधन रोक्नु पर्दैन। त्यसैगरी तीनकुनेतिरबाट आउने सवारीसाधन पुरानो बानेश्वरतर्फ जाँदा अन्य लेनलाई असर गर्दैन। यसले गर्दा नयाँ बानेश्वर चोकमा ट्राफिक व्यवस्थापन सहज हुनुका साथै सो क्षेत्रमा सवारी जाम कम हुने अपेक्षा गरिएको छ।
यो जोनको निर्माणपछि पुरानो बानेश्वर र शंखमूलतर्फ जाने सवारीसाधन सम्बन्धित लेन भएर मात्र त्यसतर्फ जानेछन्। चोकको पूर्व र पश्चिमतर्फ करिब दुई सय मिटरसम्म सो जोनको निर्माण हुनेछ। त्यसतर्फ जाने सवारीसाधन त्यही लेनमा उभिनुपर्छ। मोडिने सवारीसाधनले मात्र यो लेन प्रयोग गर्न पाउनेछन्। नयाँ बानेश्वरपछि लैनचौरलगायत अन्य व्यस्त चोकमा पनि ‘राइट टर्निङ होल्डिङ जोन’ बनाउने योजना सडक विभागको छ।पहिलेको हरियाली