NadaNada
सोमबार, भदौ २, २०८२

खोटाङमा किवी र लिचीको उत्पादन बढ्यो

 |  बिहीबार, साउन ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ४, २०८०

vianetvianet

खोटाङ- अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९/२०८० मा  खोटाङमा किबी र लिचीको उत्पादन वृद्धि भएको छ। दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष किबी तीन दशमलव १५ मेट्रिक टन र लिची पाँच मेट्रिक टनले उत्पादन बढेको हो।

जिल्लामा ४० हेक्टर क्षेत्रफलमा किबी खेती गरिए पनि ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले मात्रै उत्पादन दिने गरेको छ। आर्थिक वर्ष २०७८/७९ मा ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले २० दशमलव ३५ मेट्रिक टन उत्पादन दिंदा  आर्थिक वर्ष २०७९/२०८० मा ३७ हेक्टर क्षेत्रफलमै लगाइएको किबीले २३ दशमलव पाँच मेट्रिक टन उत्पादन दिएको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका कृषिप्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताएका छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मा, नेर्पा, जालपा र प्रायः सबै वडामा तथा साकेला गाउँपालिकाको बाँझे च्यानडाँडा, खिदिमा, रतन्छा, दिप्रुङ चुइँचुम्मा गाउँपालिकाको याम्खा, सप्तेश्वर छितापोखरी, छितापोखरी, टेम्मा, खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी, लिकुवापोखरी, वाप्लुखा, सावाकटहरे, बड्कादियाले, सिमपानीमा किबी खेती गरिन्छ।

जन्तेढुंगा गाउँपालिकाको बोपुङ, चिसापानी, बराहपोखरी गाउँपालिकाको सुन्तले, ऐंसेलुखर्क गाउँपालिकाको ऐंसेलुखर्क, जलेश्वरी, महेश्वरी, केपिलासगढी गाउँपालिकाको फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर र रावाबेंसी गाउँपालिकाको हौंचुरका किसानले व्यावसायिक रूपमा किबी खेती गरेका छन्।

जिल्लामा हेवार्ड, एलिसन र रातो किबी लगाउने गरिएको किसानले बताएका छन्। ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा कृषि तथा पशुपक्षी फर्म जालपाले पाँच लाख ९९ हजार २५० रुपैयाँ, नमूना कृषि फर्म ऐंसेलुखर्क र नमुना कृषि तथा वन नर्सरी व्यवस्थापन केन्द्र ऐंसेलुखर्कले किबी खेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत छ/छ लाख रुपैयाँ अनुदान पाएका छन्।

Metro Mart

यस्तै आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा पाँच मेट्रिक टनले लिचीको उत्पादन बढेको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ मा एक सय ४८ मेट्रिक टन लिची उत्पादन भएको जिल्लामा २०७९/८० मा एक सय ५३ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ।

जिल्लाभर एक सय ५२ हेक्टर क्षेत्रफलमा लिची रोपिए पनि ३० हेक्टर क्षेत्रफलमा लगाइएको लिचीले मात्रै उत्पादन दिंदै आएको जनाइएको छ। जिल्लाको कुभिण्डे, खार्पा, हौंचुर, दुवेकोल, डुम्रे धारापानी, बुइपा, विजयखर्क, महादेवस्थान, धितुङ लगायतका स्थानमा व्यवसायिक रूपमा लिची खेती हुँदै आएको छ।

रावाबेंसी गाउँपालिका-१ कुभिण्डेमा गत वर्ष एक करोड रुपैयाँ बढीको लिची उत्पादन भएको थियो। जिल्लामा उत्पादित लिची सदरमुकाम दिक्तेल, धरान, विराटनगर तथा राजधानी काठमाडौंमा समेत निर्यात हुँदै आएको छ।

यस्तै, खोटाङमा गत वर्षको तुलनामा यसवर्ष आँपको उत्पादन घटेको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ मा एक सय ९० मेट्रिक टन उत्पादन भएको आँप आर्थिक वर्ष २०७९/८० मा एक सय ८५ मेट्रिक टनमा झरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

गत वर्षभन्दा यस वर्ष बढी कीरा लाग्नाले आँपको उत्पादन घटेको किसानले बताएका छन्। जिल्लाभर ९८ हेक्टर क्षेत्रफलमा आँप खेती गरिए पनि ५९ हेक्टर क्षेत्रफलमा लगाइएको आँपले मात्रै उत्पादन दिंदै आएको छ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा फलफूल खेती प्रवर्द्धनका लागि हरेक स्थानीय तहले किसान समूहलाई बर्सेनि फलफूलका बिरुवा निःशुल्क वितरण गर्दै आएको छ। स्थानीय तहले निःशुल्क वितरण गरेको फलफूलका बिरुवाले समेत उत्पादन दिन थालेको पाइएको छ। खाली रहेको जग्गालाई उपयोग गर्दै स्थानीय बासिन्दालाई आफ्नै गाउँमा रोजगारी सिर्जना गरेर उनीहरुको आम्दानीको स्रोत वृद्धि गर्ने उद्देश्यका साथ निःशुल्क बिरुवा वितरण गरिएको स्थानीय तहहरूले बताएका छन्। जिल्लामा उत्पादित फलफूललाई जिल्लामै प्रशोधन गरेर उपयोग गर्ने गरी स्थानीय तहले तयारी थालेका छन्।

प्रकाशित: Jul 20, 2023| 23:02 बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्