बुधबार, साउन २०, २०८३

धादिङमा दुई तिहाइ खेत बाँझै

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

असारको अन्तिम दिनसम्म धादिङका दुई तिहाइ खेतमा रोपाइँ हुन सकेको छैन। धान बालीको पकेट क्षेत्र मानिएको फाँटहरुमा अघिल्लो बाली पाकिनसकेका कारण रोपाइँ हुन नसकेको हो। 

यो वर्ष असार मसान्तसम्म ३५ प्रतिशतमा मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले जानकारी दिए। वर्षात ढिला भएको र चैते धान र मकै पाकिनसकेको कारण रोपाइँ ढिलो भएको शर्माको भनाइ छ। 

खोलाको पानी लाग्ने खेतमा भर्खर मात्रै रोपाइँको रौनकले छोएपनि टारी खेतमा मकै पाकेकै छैन। “मनसुनका लागि चैते धान रोपाइँ नै ढिलो भयो। त्यसैले मकै ढिला लगाइयो”, कृषि प्रसार अधिकृत शर्माले भने, “अहिले टारी खेतमा चैते धान र मकै दुवै भित्र्याउने बेला हुँदैछ, त्यसले पनि यो वर्ष रोपाइँ ढिलो भएको हो।”

धादिङमा वार्षिक ५० हजार मेट्रिकटन वर्षे धान र २० हजार मेट्रिकटन चैते धान उत्पादन हुँदै आएको छ। विशेष गरी कम उचाइ भएका ठाउँका किसानले मकवानपुर १, सावीत्री, सुख्खा १, २, ३, ४, ५ रामधान जस्ता धान लगाउने गरेका छन्। बढी उचाइ भएका ठाउँका किसानले खुमल ४, खुमल १०, हर्दिनाथ १, हर्दिनाथ २, सुमलचार, खुमल ११, गोरखनाथ, वायोसिट जातका धान लगाउँदै आएका छन्।

जिल्लाको नीलकण्ठ नगरपालिका, सल्यानटार, गजुरी, नौविसे, जीवनपुर, गोगनपानी, कल्लेरी, ज्यामरुङ, सांकोष, त्रिपुरेश्वर, मार्पाक र दार्खा धान खेती हुने पकेट क्षेत्र मानिँदै आएको छ।
 

प्रकाशित: Jul 16, 2023| 08:20 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्