काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी स्व. सीता दाहालको निधनप्रति पूर्वराष्ट्रपति डा रामवरण यादवले दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर पूर्वराष्ट्रपति डा यादवले आज प्रधानमन्त्री र उहाँको परिवारप्रति समवेदना प्रकट गरेका हुन्।
पूर्वराष्ट्रपति विद्या भण्डारीकातर्फबाट माधव भण्डारीले पनि प्रधानमन्त्री र उनको परिवारलाई भेट गरी दुःख व्यक्त गरेका छन्।
यस्तै, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधिले पनि प्रधानमन्त्री प्रचण्डलाई समवेदना प्रकट गर्नुभएको छ भने सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आजै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु बुद्धिमान तामाङ, रवीन्द्र मिश्रलगायतले पनि समवेदना प्रकट गर्नुभएको छ । यस्तै, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, शुभेच्छुकहरुले पनि प्रधानमन्त्री निवास बालुवाटार पुगी समवेदना प्रकट गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार राजनीतिक दलका नेता तथा कार्यकर्ता एवम् शुभेच्छुकले प्रधानमन्त्री पत्नी सीताको तस्विरमा माल्यापर्ण गरी श्रद्धाञ्जली अर्पण गरे। प्रधानमन्त्रीको सचिवालयले समवेदना प्रकट गर्न आउने शुभेच्छुकका लागि साँझ र बिहानको समय निर्धारण गरेको छ।