काठमाडौं- यो वर्षको साउन २ गते मंगलबारबाट अधिकमास सुरु भएको छ। अधिकमासलाई पुरुषोत्तम मास भनेर पनि भन्ने गरेको पाइन्छ किनभने अधिकमासमा भगवान नारायणको पूजा गर्ने, कथा सुन्ने र दान गर्ने परम्परा रहेको छ।
यो अवधिभर कुनै पनि शुभ कार्यहरू वा साइतहरू हुँदैनन् त्यसैले महिनाभरी विवाहादि, व्रतवन्ध लगायतका कुनै पनि कार्यहरू हुँदैनन्। यो अवधिमा दैनिक रूपमा गर्दै आएका नित्य कर्महरू पूजापाठ गर्न चाँहि पाइन्छ।
अधिक मास प्रत्येक तीन वर्षमा एकपटक आउँछ। यो फागुनदेखि कात्तिकको बीचमा पर्ने गर्छ। जुन वर्ष अधिक मास पर्छ त्यो वर्ष १२ को स्थानमा १३ महिना हुन्छ। अधिक मासको निर्णय सूर्य सङ्क्रान्तिको आधारमा गरिन्छ। जुन महिनामा सूर्य सङ्क्रान्ति हुँदैन त्यसलाई अधिक मास भनिन्छ।
एक वर्षमा १२ महिना र ३६५ दिन हुन्छ। सूर्यको गतिअनुसार गणना गरिने मास (महिना) लाई सौरमास भनिन्छ भने चन्द्रमासको गतिको आधारमा गणना गरिने मासलाई चन्द्रमास भनिन्छ। सामान्यतया सौरमासमा संक्रान्तिदेखि मसान्तसम्ममा २९ दिनदेखि ३२ दिनसम्मको एक महिना हुन्छ भने चन्द्रमासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ।
त्यस्तै सौरमासको गणनाअनुसार एक वर्षमा जम्मा ३६५ दिन हुछन् भने चन्द्रमास अनुसार दिन गणना ३५४ दिन मात्र हुन्छ। सौरमासभन्दा चन्द्रमासको दिन गणनाअनुसार ११ दिन बढी वर्षमा हुने गर्दछ। यसरी गणना गर्दा ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पुगेपछि एक अधिकमासबाट अर्को अधिकमास पर्दछ वा आउँछ। यस क्रमले हरेक वर्षमा ११ दिनको फरकलाई जोड्दै जाँदा तीन वर्षमा एक महिना सौरमास भन्दा चन्द्रमास वढि हुन पुग्छ।
ज्योतिषशास्त्रका अनुसार अधिकमास भन्नाले जुन चन्द्रमासभित्र सूर्य संक्रान्ति पर्दैन त्यसलाई भनिन्छ। त्यस्तै जुन चन्द्रमासभित्र २ वटा सूर्य संक्रान्ति पर्दछ, त्यसलाई क्षयमास भनिन्छ। अधिकमास हरेक ३२ महिना १६ दिन १ घण्टा, ३६ मिनेटपछि आउँछ भने क्षयमास घटीमा १९ वर्ष र बढिमा ४१ वर्षमा एक पटक आउने गर्दछ।
यस्ता ग्रहगत अधिकमास र क्षयमासका समय समायोजन गर्ने कार्यहरूमा विभिन्न स्थानमा बेग्ला बेग्लै विधि र किसिम पनि पाइन्छ। यसै सौरमास र चन्द्रमासलाई तीन वर्षमा समायोजन गरिने हुँदा यस अवधिलाई अधिकमास भनेर भनिएको हो। सौरमास जब सूर्य–चन्द्रमाको गतिमा आधारित हुने र चान्द्रमास तिथिमा आश्रित हुने भएकाले सौर्यमास जस्तो चान्द्रमास सामान्यतया गतिमा निश्चित हुँदैन।
यहि नियम अनुसार अधिकमास वा महिना बृद्धि हुने हुन्छ। अधिकमास खासै यहि महिनामा हुन्छ भन्ने हुँदैन। चान्द्रमासको गति अनुसार जुनसुकै महिनामा पनि पर्न सक्छ। सर्वेषु मासेष्वधिमासकः स्यात भन्ने प्रमाणबाट अधिक मास जुनसुकै महिनामा पनि पर्न सक्छ।
यो अवधिमा वार्षिकी कार्यहरु गर्न मिल्छ, सधैं गर्दै आएका नित्य कर्म , विहान बेलुकाको पूजा पनि गर्न मिल्छ र पुरुषोत्तम पूजा तथा कथा श्रवण गर्न पाइन्छ।
अधिकमासमा श्राद्ध तथा पितृकर्म, विवाह व्रतवन्ध, चूडाकर्म,सप्ताह, नवाह, महारुद्रि, शतचण्डी, शुभ मूर्हुतका कुनै पनि कर्म गर्नु हुँदैन जस्तो गृह प्रवेश, नयाँ कार्यको थालनी, यात्रा, कार्यको शुभारम्भ गर्न अशुभ मानिन्छ त्यस्तै अधिक मासमा विवाह गरेमा गृह सुख हुँदैन भन्ने पनि धार्मिक बिश्वास छ।
पौराणिक कथन
प्रत्येक राशि, नक्षत्र, करण, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मल मासको स्वामी छैनन्। यसकारण अधिक मासमा सम्पूर्ण शुभ कार्य, देव कार्य एवं पितृ कार्य वर्जित मानिएको छ। यद्यपि, पुराणमा अधिक मास पुरुषोत्तम मास ब कसरी बन्न पुग्यो भन्ने रोचक कथा दिइएको छ।
कथाअनुसार स्वामी अर्थात् मालिक नभएका कारण अधिक मासलाई सबैले मल मास भन्न थाले। यसबाट मल मासको निन्दा हुन थाल्यो। यो कुराबाट दुःखी भएको मल मास भगवान् विष्णुकहाँ पुग्यो र आफ्नो दुःख बिसायो।
भक्तवत्सल श्रीविष्णुले उसलाई गोलोक लिएर गए। गोलोकमा भगवान् कृष्ण विराजमान थिए। दयासागर श्रीकृष्णले मलमासको व्यथा बुझेर उसलाई सान्त्वना दिँदै भने– ‘अबदेखि म तिम्रो स्वामी भएँ। यसबाट मेरा सबै दिव्य गुण तिमीमा समाविष्ट हुनेछन्। म ब्रह्माण्डमा पुरुषेत्तमका नामले प्रसिद्ध छु तसर्थ आजदेखि तिम्रो नाम पनि पुरुषोत्तम हुनेछ। आजदेखि तिमी मल मास नभएर पुरुषोत्तम मासका नामले चिनिनेछौ। यसका साथै तीन तीन वर्षमा हुने तिम्रो आगमनमा जसले श्रद्धाभक्तिपूर्वक राम्रा काम गर्छन् ती व्यक्तिलाई अन्य समयमा गरेको उति नै अनुपातको कर्मबाट भन्दा बढी पुण्य प्राप्त हुनेछ।’
यसरी भगवानले अधिक वा मल मासलाई पुरुषोत्तम मास बनाएर धर्मकर्मका लागि उपयोगी बनाइदिए। यो दुर्लभ महिनामा जसले स्नान, पूजाआराधना, यज्ञअनुष्ठान एवं दानधर्म गर्छ उसले अत्यधिक पुण्य प्राप्त गर्दछ।
यसकारण हिन्दू धर्मशास्त्रहरूमा अधिक मासलाई निकै पवित्र मानिएको छ। भगवान् कृष्ण अर्थात् विष्णुको महिना भएकाले यो महिनामा गरिने व्रत पारायण, पवित्र नदीस्नान एवं तीर्थयात्राबाट साह्रै ठूलो पुण्य प्राप्त हुने कुरा शास्त्रहरूमा बताइएको छ।
हामीकहाँ लौकिक रूपमा नव विवाहित दम्पतीले मलमास छल्नुपर्ने भएकाले दुलही माइत गएर बस्ने प्रचलन छ। विशेष गरी यो महिनामा यौनसम्पर्क राख्नु वर्जित मानिएकाले यस्तो नियम लगाइएको हुनसक्छ।
नव दम्पतीले के गर्नु हुँदैन मल मासमा ?
– विवाह गरेको एक वर्ष पूरा नभएका पतिपत्नीबीच यौनसम्पर्क भए पतिको आयु क्षीण हुन्छ। यसको अर्थ पुराना दम्पतीलाई चाहिँ छुट छ भनिएको होइन।
– यो अवस्थामा समागम भएर गर्भ रहे सन्तान स्वस्थ जन्मँदैन। गर्भ रहेर बच्चा जन्मिए पनि आयु थोरै हुन्छ।
– नयाँ जोडी मलमासभर एउटै घरमा बस्न नहुने र एउटै धाराको पानी पिउन नहुने शास्त्रीय मान्यता छ।