आइतबार, भदौ १, २०८२

तीन दशकअघिको विपत्तिले झस्किरहन्छ फेदीगाउँ

चारैतिर मुसलधारे पानीको वेग भएपछि चिन्ता बढ्नु स्वाभाविक थियो। बिहान उज्यालो भएपछि उनी बाढीको परवाह नगरी आफ्नो घरतिर लागे। जब उनी घरमा पुगे, त्यहाँ न उनले न घर देखे न परिवार नै।
 |  शुक्रबार, असार २९, २०८०
nespernesper

मणिराज गौतम

मणिराज गौतम

शुक्रबार, असार २९, २०८०

vianetvianet

मनहरी (मकवानपुर)- विपत्तिको कुरा सुन्नेबित्तिकै सरोजकुमार खनाल झस्याङ्‍ग हुन्छन्। उनले बाढीपहिरोबाट ११ जना परिवारका सदस्य गुमाउनुपर्ला भनेर कहिल्यै सोचेका थिएनन्। मकवानपुर जिल्लाको तत्कालीन पालुङ गाविस–९ फेदीगाँउमा बाढीपहिरोको परिवेशलाई सम्झँदा उनी भक्कानिन्छन्। 

फेदीगाँउमा एक सातासम्म पानी पर्दा पनि घुम ओढेर गोठालो जाने गरेका खनाललाई बाढीपहिरोले आँखै अगाडि गाउँ नै बगाएको देख्दा असह्य पीडा भएको थियो। बाढीपहिरो जाने कुनै सम्भावना नभएको उक्त ठाउँमा विनाशकारी बाढीले कसरी आँखा गाड्यो कल्पना गर्न कठिन छ उनलाई। 

कुरा २०५० सालको हो। साउन ४ गते खनाल आमाले पकाएको खाना खाएर पारीपट्टि रहेको तत्कालीन विकास घरमा बसेर काम गरिरहेका थिए। दिउँसो ४ बजेतिर यति ठूलो पानी पर्‍यो कि खनालले आजसम्म त्यस्तो पानी परेको देखेका थिएनन्। मुसलधारे वर्षाका कारण खनाल घर जान सक्ने अवस्था थिएन। उनी भन्छन्, ‘वर्षाले ठूलै विपत्ति ल्याउन सक्ने सहजै अनुमान गर्न सकिन्थ्यो। रातभर पानी परेको हेरेर भगवानसँग कुनै अकल्पनीय नहोस् भन्दै रात काटेँ।’

चारैतिर मुसलधारे पानीको वेग भएपछि चिन्ता बढ्नु स्वाभाविक थियो। बिहान उज्यालो भएपछि उनी बाढीको परवाह नगरी आफ्नो घरतिर लागे। जब उनी घरमा पुगे, त्यहाँ न उनले न घर देखे न परिवार नै। उनको घरपरिवारलाई रातको ठूलो वेगमा आएको बाढीसँगै बगाइसकेको थियो। बिहान घरमा पुग्दा परिवार पुरिएका थिए, गाईवस्तु केही पानीमा तैरिएका थिए भने धेरै पुरिएको अवस्थामा थिए। खाद्यान्न, नगदसँगै खनालको आफ्नो शरीरमा भएको एकसरो कपडाबाहेक केही बाँकी रहेनन्। उनको होस हरायो, केहीबेर अचेत बने।

जीवनमा यति ठूलो विपत्ति आइलाग्ला भनेर कल्पना नगरेका उनी केहीबेर त लडीबुडी गर्दै रुनेकराउने गरे तर उनको त्यो चित्कार सुन्ने कोही थिएन। रातभर घरपरिवारमा केही नहोस् भनेर भगवानसँग गरेको प्राथनाको कुनै अर्थ रहेको थिएन। बाढीले उनका बुबा, आमा, श्रीमती, भाउजु, दुई भाइ, दुई भतिजा, आफ्ना तीन बच्चा गरी ११ जनालाई उनबाट खोसेर लगेको थियो। ३० वर्षअघिको घटना सुनाउँदै उनी भन्छन्, ‘मलाई दैव र दशा एकैपटक लाग्यो।’

Metro Mart

बाढीपहिरोले यसरी सर्वस्व लैजाला भन्ने उनले कल्पनासमेत गरेका थिएनन्। अग्लो डाँडामा घर भएको थियो र तल सानो दुईवटा खोल्सा थिए। यही खोल्सामा बगाएर ल्याएका उत्तिसका रुखका जराहरु अड्केर पोखरी बन्न पुग्यो। एक्कासि बाँध फुटेर आउँदा घर बगाएको हुन सक्ने तत्कालीन गाविस अध्यक्ष रामहरि विष्टको अनुमान छ। ‘डाँडाको बीचमा भएको खोच भरिँदै आएर फुटेपछि यसबाट निस्केको वेगले नै घर बगाएको हुन सक्छ’, उनले भने। 

आखिर विपद् सहनुबाहेक उनको अर्को विकल्प पनि थिएन। उनको यस्तो दुर्दशामा सिंगो गाउँ नै रोइरहेको अवस्थामा सरकारले राहतको नाममा दिएको सामान्य दालचामलको भरमा उनी गोठमा ओत लागे। यतिका समय बितिसक्दा पनि उनले परिवार गुमाउनुको पीडाले छोडेको छैन। 

खनालमात्रै होइन, त्यतिबेलाको विपत्तिमा फेदीगाउँ निवासी हर्कबहादुर तामाङ पनि बाढीपहिरो प्रभावित व्यक्ति हुन्। उनी त्यसबेलाको कहालीलाग्दो अकल्पनीय बाढीपहिरोका प्रत्यक्षदर्शी हुन्। यसरी गाउँ नै सखाप पार्ने गरी बाढी आउला भन्ने उनको मनमा पनि कहिल्यै आएको थिएन। तर हुने हार दैव नटार भनेझैं प्रकोपको त्यो बेगले हर्कबहादुरका अगाडि केही लागेन। अन्ततः धेरै घरहरु आफ्नै आँखा अगाडि बगेको देख्दा उनले केही गर्न सक्ने कुरा थिएन। 

बाढीपहिरो आउँछ, सचेत हुनुपर्छ भन्ने खासै सचेतना नपाएका हर्कबहादुरलाई कसरी सुरक्षित बस्ने, पूर्वसूचनाका बारेमा कुनै जानकारी पनि थिएन। उनी भन्छन्, ‘त्यतिबेला सूचना दिने चलन पनि थिएन, बाढी आउँछ बगाउँछ भन्ने थाहा भइदिएको भए त गाउँका धेरैलाई बचाउन सकिने थियो कि।’ 

चारैतिर मुसलधारे पानीको वेग भएपछि चिन्ता बढ्नु स्वाभाविक थियो। बिहान उज्यालो भएपछि उनी बाढीको परवाह नगरी आफ्नो घरतिर लागे। जब उनी घरमा पुगे, त्यहाँ न उनले न घर देखे न परिवार नै।

त्यो बेला हर्कबहादुरको परिवार फेदीगाउँको स्कुल नजिक बस्ने गरेको थियो। सामान्य परिवारका उनी खेती किसानी तथा व्यापार गरेर जीविकोपार्जन गर्दै आएका थिए। फेदीगाउँमा ढुंगामाटोका घरहरु रहेकाले उनीहरु आफ्नो घर सुरक्षित रहेको महशुस गर्थे। हर्कबहादुरलाई पनि यस्तै लागेको थियो। स्कुलसँग जोडिएको हुनाले बाढी आउनासाथ हत्तपत्त परिवारलाई स्कुलमा राखेर अकालमा ज्यान गुमाउन नपरेको उनी बताउँछन्। आफूले परिवार नगुमाए पनि अरुको परिवार गुमेको देख्दा उनको मन थाम्ने अवस्था थिएन। बाढीले आफ्नै आँखा अगाडि घर बगायो, अन्नपात, खसीबोका सबै बगाएको थियो। 

त्यो बेलामा परेको मुसलधारे पानी आफूले अहिलेसम्म अनुभव नगरेको उनी बताउँछन्। त्यस रातको स्मरण गर्दै उनी भन्छन्, ‘चट्याङसहित मुसलधारे वर्षाले त्रसित बनाएको थियो। छिमेकका कुनै घरहरु देखिएका थिएनन्। बिहान उज्यालो भएपछि हेर्दा गाउँमा रहेको स्कुलबाहेक सबै घरहरु बाढीले लगेको थियो। गाउँ पूरै बगरमा परिणत भएको थियो। घर गोठहरु रहेका ठाउँमा ठूलाठूला ढुंगाहरु थिए। गाउँमा दुईतिर स–साना दुई वटा खोल्सा थिए। यी खोल्साहरु भरिएर दुवैतर्फबाट बाढी आएको थियो।’

हाल सो ठाउँ थाहा नगरपालिका–२ मा पर्छ। नगरपालिका क्षेत्रभित्र भए पनि फेदीगाउँको मुहार फेरिएको छैन। नगरपालिकाका पूर्व प्रमुख लवशेर विष्टले फेदीगाउँ पुनर्निर्माण र बाढीपहिरो नियन्त्रण गरी सुरक्षित गाउँ बनाउने अभियानले अझै पूर्णता पाउन नसकेको बताउँछन्। अहिले पनि फेदीगाउँ बाढीपहिरोको उच्च जोखिममा रहेको छ। 

हर्कबहादुर जस्तै उतिबेलाको यो विपत्तिका शिकार भएका मकवानपुरको तत्कालीन आग्रा गाविस–८ निवासी डम्बरबहादुर रुम्बासँग पनि यस्तै विपत्तिको कथा छ। घरबाट विद्यालय जाने क्रममा खोला तर्दा कापीकिताब र चप्पल खोलाले बगाएपछि उनको स्कुल जाने चाहना पूरा हुन पाएन। 

१३ वर्षको उमेरमा अध्ययनलाई बिट मार्दै पैसा कमाउन उनी काकाको साथमा राजधानी काठमाडौं छिरे। गरिबीका कारण पढ्न-लेख्न समस्या भएको बताउने हर्कबहादुर तीन दिन पैदल यात्रा गरी राजधानी काठमाडौं पुगे। कलंकीको एउटा होटलमा भाडा माझ्ने काम पाए। काम पाएपछि पैसा कमाएर परिवारलाई सुखी राख्छु भन्ने सोच पालेका उनको सपना त्यो दिन लुटियो, जुन दिन गाउँमा भीषण पानी परेको थियो।

२०५० साउन ४ गते रुम्बा आफ्नो जीवनको कालो दिन सम्झँदै भन्छन्, ‘बाढीले परिवारमा आमा, बुबा, एक दिदी, दुई भाइ र एक बहिनीलाई बगाएको थियो। मलाई अहिले पनि त्यो दिन कहिल्यै बिर्सन नसक्ने कालो दिन भएको छ।’ उनी राजधानीमा भएका कारण बाँच्न सफल भएका थिए। राजधानीमा काम गर्न थालेको झण्डै आठ महिना भएको थियो। यसबीचमा परिवारसँग देखभेट भएको थिएन। बाढीले घरपरिवारसँगै उनको घरमा भएको अन्नपात, छ वटा खसी एउटा बोको पनि बाँकी रहेनन्। २१ रोपनी खेत पनि बाढीले पुरेर काम गर्न नसक्ने बनाइदियो।

काठमाडौंबाट धादिङको महादेववेशीमा आइपुग्दा आफूलाई परिवार बाढीमा पुरिएको खबर एकजनाले सुनाएपछि अब एक्लो के बाँच्नु भनेर पुलबाट हामफाल्ने सोच उनमा नआएको पनि होइन। कसैले त्यसो गर्न रोकेपछि चार दिन हिँडेर उनी गाउँ आइपुगे। उनी गाउँ पुग्दा गाउँलेहरुले शव निकालिरहेका थिए। १३ वर्षको उमेरमा टुहुरो बन्नुपर्दा उनलाई संसार निकै बिरानो लाग्नु स्वाभाविक थियो। अहिले पनि उनलाई पटकपटक त्यतिबेलाको विभत्स अवस्थाले झस्काउने गर्छ। वर्षायाम सुरु भएसँगै फेरि पनि त्यस्तै विपत्ति आइलाग्ने हो कि भन्ने त्रासले उनलाई छाडेको छैन। - रासस

प्रकाशित: Jul 14, 2023| 16:07 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्