काठमाडौं– सप्तकोसीको नदीको कोसी ब्यारेज पुलमा बससँग ठोक्किएपछि नदीमा ट्रक खसेको छ। सुनसरी र सप्तरी सीमामा पर्ने कोसी ब्यारेजको पुलमा बससँग ठोक्किएर नदीमा खसेको ट्रकमा सवार तीन जनालाई प्रहरीले उद्धार गरेको छ।
नदीमा खसेको ट्रक हालसम्म नभेटिएको सुनसरी प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोसी ब्यारेजको पुलमा बिहान ७ः४० बजेतिर ठोक्किएर दुर्घटना भएको हो।
ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोसी ब्यारेजको १० नम्बर ढोकातर्फको बार भत्किएको छ। बार भत्किएकै ठाउँबाट ट्रक नदीमा खसेको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी राजकुमार राईले बताए।
प्रहरीले डोरी टाँगेर ट्रकमा सवारको उद्धार गरेको हो। नदीमा पानीको बहाव बढेका कारण ट्रक देखिन छाडेको छ। उद्धार गरिएकामध्ये सामान्य घाइते ट्रक चालक २४ वर्षीय दिनेश खत्रीलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।