काठमाडौं- एसईईको नतिजा भर्खरै आए पनि कक्षा ११ मा भर्ना हुने प्रकृया भने पहिल्यै पुर्याइसकिएको हुन्छ। कलेजहरुले कक्षा ११ को लागि एसईई परीक्षा सकेको केही दिनमै ‘प्रि–रजिष्ट्रेशन’खुलाउँछन् र सीट सीमित हुने घोषणा समेत गर्छन्। जसले गर्दा अभिभावक तथा विद्यार्थीहरुलाई भर्ना हुन हतार हुनु स्वाभाविक हो। पहिले कक्षा ११ मा अधिकांशको रुचि विज्ञान भए पनि अहिले जीपिएले नै विषय र भविष्य निर्धारण गर्ने अवस्था सिर्जना भएको छ। यद्यपि अहिलेका युवाहरुमा व्यवस्थापन विषयप्रति आकर्षण बढ्दो रहेको पाइएको छ।
उच्च शिक्षाअन्तर्गत मानविकीलगायतका केही चल्तिका संकायहरु धराशायी हुने अवस्थामा रहेको बेला भने व्यवस्थापन संकायमा माग र आकर्षण निरन्तर बढ्दो रहेको पाइएको छ। विज्ञान बाहेकका केही यस्ता सदाबहार विषयहरु छन् जसले विद्यार्थीलाई राम्रो भविष्य दिन सक्छ।
ठूलो स्कोप
काठमाडौं मीनभवनस्थीत नेपाल कमर्स क्याम्पसका एमबीएस विषयका कोर्डिनेटर चूडामणि पाण्डे भन्छन्, ‘कुनै पनि कार्यालय वा संस्थाहरु कुशल व्यवस्थापक विना चलाउन सम्भव छैन। त्यही भएर पनि व्यवस्थापकको माग बढ्दो छ। व्यवस्थापन एउटा यस्तो विषय हो जो जुनसुकै स्थानमा पनि काम लाग्न सक्छ।’
व्यवस्थापन विषयका विज्ञसमेत रहेका पाण्डे भन्छन्, 'कक्षा ११ देखि नै व्यवस्थापन पढ्न सकिन्छ। व्यवस्थापन विषयले बैंकिङदेखि लिएर ठूलठूला कर्पोरेट हाउस र संघसंस्था लगायतमा सम्मानित जागिर गर्न सकिन्छ। व्यवस्थापन विषय पढेर नेपालमा जागिरको लागि भौतारिनु पर्ने अवस्था आउँदैन किनभने यसको स्कोप वृहत छ।’
उनी थप्छन्, 'बैंक, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, प्रशासकलगायत क्षेत्रमा उत्कृष्ट अवसर पाउने भएपछि विद्यार्थीले व्यवस्थापन विषय पढ्न थालेका छन्। सैद्धान्तिक र व्यावहारिक दुवै विषय पढाइ हुने भएको कारण यसले बजारमा चाँडै व्यवस्थापन हुने र काम पाउने शिक्षा दिइरहेको छ। त्यसैले पनि यसको आकर्षण बढ्दो छ।'
ट्रिटन इन्टरनेशनल कलेज काठमाडौंका प्रधानाध्यापक एसोसिएट प्रो. मदन शाक्यले कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीको आकर्षण व्यवस्थापनमा पनि यतिबेला बढ्दो रहेको बताए। उनले विषयगत हिसाबले एकाउन्टिङ, इकोनोमिक्स र होटेल मेनेजमेन्टमा विद्याथीको आर्कषण बढ्दो रहेको बताए। कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थी संख्याको झण्डै ४५ देखि ५० प्रतिशतले व्यवस्थापन रोज्ने गरेका उनले सुनाए।
हाल प्रायः उच्च माध्यमिक विद्यालय (कक्षा ११ र १२) र सरकारी तथा निजी उमावि र क्याम्पसहरुले व्यवस्थापन विषय अध्यापन गराउने गरेका छन्। पाण्डे भन्छन्, 'व्यवस्थापनअन्तर्गत अर्थशास्त्र, एकाउन्टेन्सी, होटल म्यानेजमेन्ट, कम्प्युटर गणित, फाइनान्स, को–अपरेटिभ म्यानेजमेन्ट र ग्रामीण विकास र ओएमएसपी हटाएर बिजनेस म्यानेजमेन्ट समावेश गरी पाठ्यक्रम तयार गरेको छ।'
कमर्स क्याम्पसका विहानी सिफ्टका एमबीएस कोअर्डिनेटर वासु न्यौपानेका अनुसार व्यवस्थापन विषय पढ्न चिकित्सा वा इन्जिनियरिङजस्तो खर्च पनि नलाग्ने र पढाइ सक्ने वित्तिकै काम पाइने हुँदा यसको आकर्षण सधैं सदाबहार रहेको छ। उनी भन्छन्, कतिपयले त इन्जिनियरिङ र कानुन पढेर समेत हाम्रोमा एमबीए पढ्न आएका छन्। व्यवस्थापन अहिलेका युवाहरु र खासमा महिलाहरुको प्राथमिकतामा परिरहेको छ।'
कोर्डिनेटर तथा विज्ञ पाण्डेका अनुसार कक्षा ११ र १२ देखि नै व्यवस्थापन पढेका विद्यार्थीको काम गर्ने क्षमता राम्रो हुन्छ। उनी थप्छन्, बेसिकदेखि पढेपछि अरु कसैलाई सोध्नु पर्दैन। त्यही भएर एसईईपछि कक्षा ११ र १२ मा व्यवस्थापन राम्रो विकल्प हुन सक्छ। त्रिविअन्तर्गतका सबै क्याम्पसहरुमा अन्य संकायको तुलनामा व्यवस्थापनमा मात्रै ५० प्रतिशत विद्यार्थी रहेका छन् भने बाँकी अन्य संकायहरुमा ती ५० प्रतिशत बाँडिएका छन्।' यसरी व्यवस्थापन विषयप्रतिको आकर्षण बढ्नुको कारण ति युवाहरुले बजार हेरिरहेको उनको बुझाइ रहेको छ। व्यवस्थापन पढ्न सी ग्रेड ल्याउनेले पाउँछन्। डी ग्रेड ल्याउनेले पाउँदैन।
व्यवस्थापन विषयका विज्ञ चूडामणि पाण्डे भन्छन् 'कमर्स क्याम्पसमा प्रत्येक कक्षामा ६० प्रतिशत संख्या महिला विद्यार्थीको छ। व्यवस्थापनमा महिलाको रुचि अचम्मसँग बढ्दो छ। कक्षा ११ र १२ मा पनि व्यवथापन पढ्ने ६० प्रतिशत नै महिलाहरुको संख्या छ। हाम्रोमा बीबीएमा पुरुषहरुको संख्या ३० प्रतिशतमात्रै रहेको र महिलाहरुको संख्या ७० प्रतिशत रहेको छ।
मागअनुरुपको नयाँ विषय
कोअर्डिनेटर वासु न्यौपाने भन्छन् 'अहिले हामीले बीबीए फाइनान्स भन्ने नयाँ विषय थपेका छौं। सेल्फ सस्टेनेनबल प्रोग्रामअन्तर्गत पछिल्लो पटक बीबीएम, बीआइएम, बीबीएलगातयका विषयहरु थपिएको थियो। त्यस्तै स्नातकोत्तर तहमा एमबीएस र एमबीएम भन्ने नयाँ विषयहरु थपेका थियौं। विद्यार्थीको रुचि, बजारको मागअनुसार नयाँ विषय थप्दै लगकोले पनि व्यवस्थापनप्रति विद्यार्थीको रुचि बढेको हो।
त्रिभुवन विश्वविद्यालयमा अन्य संकायभन्दा प्राविधिक र व्यवस्थापनमा धेरै विद्यार्थी संख्या रहेको त्रिविले जनाएको छ।