मंगलबार, असार २४, २०८२

दिल्लीले ओली र प्रचण्डलाई भाइ कांग्रेस बनायो

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
नारायणमान बिजुक्छे नेपाली वाम राजनीतिमा आदर्श नेताका रूपमा परिचित छन् । उनी साँचो कुरा बोल्न कसैसँग डराउँदैनन् । भावनामा नबग्नु र आवेगमा नआउनु उनको विशेषता हो । बिजुक्छे जे बोल्छन् यथार्थ बोल्छन् । प्रस्तुत छ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष बिजुक्छेसँग समसामयिक सन्दर्भमा नेपाल समयले गरेको कुराकानी -

तपाईं अचेल राजनीतिमा पहिला जति सक्रिय देखिनुहुन्न नि ? 

मेरो स्वास्थ्यमा समस्या छ । घुँडा दुख्ने रोग छ । फिजियोथेरापी गरिरहेको छु । मेरी पत्नी पनि बिरामी भएकाले उपचारमा बढी संलग्न हुनुपरेको छ । त्यसैले राजनीतिक गतिविधिमा कम देखिएको हुँ । 

पार्टीको कामचाहिँ कसरी व्यवस्थापन गरिरहनुभएको छ ? 

पार्टी काममा मेरो संलग्नतामा कमी आएको छैन । काम विभाजन गरेको छु । अरू साथीहरूले बढी समय दिनुहुन्छ । बाहिर जानुपरे साथीहरू जानुुहुन्छ । नजिकका ठाउँमा म पनि जाने गरेको छु । 

राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका खुम्च्याउन थाल्नुभएको हो ? 

त्यो होइन । परिस्थितिले त्यस्तो बनाएको हो । 

तपाईं नेपाली कम्युनिस्ट आन्दोलनको एउटा खम्बा हुनुहुन्छ । अहिले कम्युनिस्ट नेतृत्वको दुई तिहाई सरकारले कस्तो काम गरिएको देख्नुहुन्छ ? 

अरू कुरा त छोडिदेऊँ, उहाँंहरू आफैंले लेखेको घोषणापत्रअनुसार पनि काम भइरहेको छैन । कम्युनिस्टले गर्ने काम गर्नुभएको छैन । भूमिमा किसानको मोहियानी हकको व्यवस्था गर्न सक्नुभएको छैन । हामीले नेपाली जनतालाई काम दिने हो, विदेश पठाउने होइन । तर अहिले त युवा बेचिएसरह भएका छन् । बजारमा युवाको मूल्य तोकिएको छ । कम्युनिस्ट सरकारले गर्ने काम हो यो ? 

यो कम्युनिस्ट सरकार त हो नि ? 

हामी यसलाई कम्युनिस्ट सरकार मान्दैनाै । यसमा कम्युनिस्ट सरकारको कुनै चरित्र छैन । 

यसको चरित्र कस्तो हुनुपथ्र्यो ? 

जमिन जोत्नेको नाम हुने व्यवस्था र मोहियानी हकलाई प्राथमिकता दिनुपथ्र्यो । युवालाई योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुनुपथ्र्यो । व्यक्तित्व विकासमा समान अवसरको व्यवस्था हुनुपथ्र्यो । यस्ता कुरामा सरकार चुकेको छ ।

ठूला दुई कम्युनिस्ट पार्टी मिलेको कुरा ऐतिहासिक होइन र ? 

उनीहरूमा कम्युनिस्ट चरित्र छैन । उनीहरूबाट कम्युनिस्टले गर्ने काम भएको छैन । त्यसैले यसलाई कम्युनिस्ट एकता भन्न मिल्दैन । मैले त यिनीहरूलाई पहिलादेखि नै भाइ कांग्रेस भन्दै आएको हुँ । 

दुई पार्टी मिल्नुको कारणचाहिँ के होला ? 
​​​​​​
यो भारतको डिजाइन हो । 

एमाले र माओवादी कोचाहिँ भारततिर ढल्केका हुन् ? 

व्यवहारले दुवै उस्तै देखिन्छन् । माओवादी भारतमै जन्म्यो, भारतमै विकसित भयो र भारतकै हतियारले नेपालमा उपद्रो गर्‍यो । पुल उडाउने, स्कुल ध्वस्त पार्ने लगायतका धेरै विध्वंस गर्‍यो । एमालेले महाकाली सन्धिमा सही गरेकै हो । उनीहरूबीच अहिले भारतले मेल गराइदियो । 
 
माओवादी भारतमै जन्म्यो, भारतमै विकसित भयो र भारतकै हतियारले नेपालमा उपद्रो गर्‍यो । पुल उडाउने, स्कुल ध्वस्त पार्ने लगायतका धेरै विध्वंस गर्‍यो । एमालेले महाकाली सन्धिमा सही गरेकै हो । उनीहरूबीच अहिले भारतले मेल गराइदियो ।

नेपाली कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन भारतीय डिजाइन छ भन्न खोज्नुभएको हो ? 

हो, भारतको बदनाम गराउने डिजाइन छ । नेपाली जनता र चीनबीचको सम्बन्ध राम्रो मानिन्छ । जुन कुरा भारतलाई मन पर्दैन । यसका साथै नेपालमा माओत्सेतुङ विचारधाराको प्रभाव छ । त्यो पनि भारतलाई मन पर्दैन । माओत्सेतुङ विचारधाराको नामबाट चीनलाई हान्छांै भन्ने भारतीय डिजाइन हो । सो डिजाइनअनुसार भारतले माओवादका नाममा पार्टी गठन गर्न लगाएर देशलाई क्षतविक्षत गर्न लगायो । 

तपार्इंहरूसँग चाहिँ एकताका लागि प्रस्ताव आएन ? 
​​​​​​
आएको छैन । आएको भए त्यो प्रस्ताव फेल हुन्थ्यो । हामी सधैँ उनीहरूको आलोचना गर्दै आएका छौं । सैद्धान्तिक रूपले उनीहरू 'डिफेन्स' गर्नै सक्दैनन् । दोस्रो विश्वयुद्धपछि युरोपमा धेरै कम्युनिस्ट दल उदाए । उनीहरूले समाजवाद नामको टोपी लगाएका थिए । पछि त्यो टोपीको ठूलो बदनाम भयो । त्यसलै हामीले पार्टीको नाम कम्युनिस्ट राखेनांै । म एकपटक दैलेखमा एक कार्यक्रममा थिएँ । त्यहाँ एउटा प्रश्न आयो, 'लाइट आँउदै छ रे हो ?' लाइट भनेको के हो भनेर बुझ्दै जाँंदा 'नक्सलाइट' भनेको रहेछ । त्यसबेला भारतमा नक्सलाइट आन्दोलन चलिरहेको थियो । 

एमाले-माओवादी एकतामा कुनै स्वार्थले काम गरेको छ भन्न खोज्नुभएको हो ? 

नेपाली कांग्रेस, माओवादी र मधेसी दल एक भएर एमालेलाई एक्लै पारेको भए एमाले चुप लागेर बस्दैनथ्यो । भारतको विरोध त भइहाल्थ्यो । यो स्थिति आउन दिनुहुन्न भनेर भारतले आफ्नो भाइ नेपाली कांग्रेसलाई बाहिर राखेर दुई कम्युनिस्ट पार्टीलाई मिलाइदिएको हो । 

नेपाली राजनीतिका दुई पात्र केपी शर्मा ओली र प्रचण्डको सक्रियतालाई तपाईंले कसरी मूल्यांकन गर्नुभएको छ ? 
​​​​​​
यी दुवै सक्रिय छन् । पानीमा डुब्न लागेपछि हातखुट्टा त चलाउनैपर्‍यो । उनीहरूसँग अर्को उपाय छैन । अन्तिम पलसम्म लड्ने विधि हो यो । कि पानीमा बग्न तयार हुनुपर्‍यो, नभए पौडन हातखुट्टा चलाउनैपर्‍यो । उनीहरू बगे भने इतिहासको फोहोर फाल्ने भाँडोमा पुग्नेछन् । 



एमाले र माओवादी मिल्दा एमालेकरण भयो कि माओवादीकरण ? 

न एमाले न माओवादी, खराब जति सबै एक भएका हुन् । 

एकीकरणपछि पनि नेकपामा विवाद देखिएको छ नि ? 

त्यो उनीहरूको हातको कुरा होइन, बाहिरको कुरा हो । उनीहरू बाहिरले मिल भने मिल्छन् फुट् भने फुट्छन् । 

दुई तिहाईको वर्तमान सरकारले पाँंचवर्षे कार्यकाल पूरा गर्ला त ? 

यो  पनि बाहिरको हातमा छ । उनीहरू देश र जनताको हितमा काम गरेर स्वतन्त्र ढंगले अगाडि बढे भने बाहिरले मिल्न दिँदैन । माओवादीले भारतमा बसेर गतिविधि गर्दा हामीले बाबुराम र प्रचण्डलाई भेटेका थियौं । हामीले उनीहरूलाई भनेका थियौं, 'तपार्इंहरूले भारतले भनेजस्तो काम गरेमा हाम्रो देश गयो, उसले भनेको नमाने तपाईंहरूको ज्यान गयो ।' मार्नु भनेको पदले मार्नु हो, विचारले मार्र्नु हो । अहिले त्यस्तै भएको छ । 

नेपालमा किन भारतको मात्रै हस्तक्षेप हुने गर्छ ? 

खुला सिमाना छ । अहिले त माइक्रो मेनेजमेन्टमा पनि भारतको संलग्नता हुने गरेको छ । निर्मला हत्याकाण्डमा सकारले किन अपराधी समाउन सकेको छैन ? एसपी डिल्लीराज विष्ट परिवार र बम दिदीबाहिनी परिवारसँग प्रचण्डजीको घनिष्ट सम्बन्धले पो यस्तो अवस्था आएको हो कि ? पहिला एसपी विष्टले कुन सालमा जगिर खाए, उनको कहाँकहाँ पोस्टिङ भयो, कुनकुन बेला बढुवा भयो ? यी कुरा बाहिर आउनुपर्छ । मैले घटनामा सरकार संलग्न छ भन्न खोजेको होइन तर अपराधीलाई सरकारले नै संरक्षण गरिरहेको छ । सुनिन्छ, प्रधानमन्त्री यस विषयमा दबाबमा छन् । त्यो कसको दबाब हो ? अपराधीलाई छोयो भने सरकार ढल्छ । त्यसलाई जोगाउने शक्ति भारत नै हो । भारतमा भए पनि अपराधी पक्राउ पर्थे । नेपालमा भए पनि पक्राउ पर्थे । अब त्यो अपराधी नेपालमा रहेको भारतीय राजदूतावासभित्र हुनुपर्छ भन्ने शंका उत्पन्न भएको छ । 
 
भारत सबै नेपाल चाहन्छ । प्रदेश नं २ अब रहँदैन भन्ने छ । २ नं को संकेत भनेको उता मिल्नु हो । यसको दोषी एमाले र माओवादी हुन् । कांग्रेस त पहिलादेखि नै 'प्रोइन्डियन' हो ।

स्थिरता र समृद्धिका कुरा बेकारका हुन् त ? 

यो सरकारलाई कमजोर बनाइन्छ । प्रशासन संयन्त्र पनि कमजोर बनाइन्छ । सबै भारतीय दूतावासको इसारामा चल्छन् । सरकारले कुरा एउटा गर्छ, काम अर्को भइरहेको हुन्छ । मैले भनेको कुरा सुन्दैनन् भनेर प्रधानमन्त्री त्यसै कराएका होइनन् । कुनै काम गर्न वा रोक्न भारतीय 'इन्ट्रेस्ट' कै दबाब हुन्छ । 

उत्तरी छिमेकीको चाहिँ केही भूमिका हुँदैन ? 

उनीहरू सीधै भन्छन्, 'हामी हस्तक्षेप गर्दैनौं ।' उनीहरू पञ्चशील सिद्धान्तका आधारमा सम्बन्ध राख्छन् । उत्तरको बाटो बन्द छ । सरकारले यसमा चासो दिएको छैन । 

नेपालमा गणतन्त्र ल्याउन भारतको भूमिका थिएन ? 

एकदमै थियो । यसको पछाडि पनि स्वार्थ छ । उनीहरूलाई चीनतिर जान मन लागेको थियो । कोदारी राजमार्गमा राजा नामको ठूलो ढुंगा छ, त्यसलाई हटाएपछि बाटो खुल्छ भन्ने थियो । भूकम्पले बाटो छेक्यो । परम्परागत राजतन्त्र बदल्न गाह्रो हुन्छ । तर यिनीहरूलाई त बदल्न सजिलो हुन्छ । त्यही भएर नेकपाका नेताहरू दिल्ली दौडमा जाने गर्छन् । 

राजनीतिक आवेगमा राजतन्त्र फालेर गल्ती भएको हो त ? 
​​​​​​
सामन्ती, अर्धसामन्ती, औपनिवेशिक र अर्धऔपनिवेशिक अवस्थामा सबैभन्दा कमजोर विन्दु भनेको राजतन्त्र हो । हेर्दा बलियोजस्तो देखिए पनि भित्र मकाइसकेको हुन्छ । पुरानो भइसकेको वस्तुलाई सानो धक्का दिएपछि गइहाल्छ । पुरानो रूख हावा आएपछि ढल्छ । तर यसलाई पठाउन हावाचाहिँ दक्षिणबाटै आएको हो । यस मामिलामा त दक्षिण र पश्चिम सबै मिल्छन् । 



नेपालमा संघीयता टिक्ला त ? 

म राज्य पुनर्संरचना समितिमा थिएँ । ठूला पार्टीका शीर्ष नेताहरू त्यो समितिमा कहिल्यै पनि आएनन् । कसैले महिलाको अलग प्रदेश चाहिन्छ भन्थे, कुन ठाउँ हो त्यो प्रदेश भन्दा कुनै एक ठाउँको नाम लिन्थे । लेखेर दिनुस् भन्दा भोलि दिन्छौं भन्थे अनि एनजिओमा जान्थे । उसले जे भन्यो त्यो बोकेर आउँथे । दलितको अलग प्रदेश मागेर आउँथे, जनजातिको अलग प्रदेश मागेर आउँथे । कसैले  नेपालको झन्डा फेर्ने र कसैले देशकै नाम फेर्ने कुरा लिएर आउँथे । झन्डा राजामहाराजाले राखेको भनेर तर्क गर्ने कामसम्म भयो । अनि सूर्य र चन्द्र नदेखिने देश कहाँ छ भन्दा ६ महिनासम्म उत्तरी धु्रवमा रहन्छ भनेर कुतर्क गर्नेसम्मका काम भए । संघका कुरामा सत्ताको खेल जोडियो । 

संघ कस्तो बनाउने भने स्विजरल्यान्डको आफ्नै मोडल छ । सोभियत संघको अलग परम्परा छ । भारतको त अर्धसंघ राज्य मात्रै हो । अमेरिकामा केन्द्रले प्रदेशका गभर्नरलाई कुनै दबाब दिन सक्दैन । दबाब दिन सेना पठायो भने गभर्नर सर्वोच्चमा जान्छ र सेना फिर्ता पठाउने आदेश दिन्छ । भारतले केरलामा कम्युनिस्ट सरकारलाई तीनपल्ट भंग गर्‍यो । अनि हामीले चाहेको मोडल के हो भन्ने अन्योलमै संघ घोषणा भयो । संघमा जानुअघि राजनीतिक पार्टीहरूले आफू कुन मोडलमा जाने भन्ने दृष्टिकोण नै बनाएनन् ।

संविधान जारी हुँदा अहिलेका कतिपय मुख्यमन्त्री पनि संविधानसभामा थिए । उनीहरूले संविधानमा हस्ताक्षर गरेका छन् । उनीहरूलाई कस्तो संघ भन्ने थाहा नभएको भए के आधारमा हस्ताक्षर गरेका हुन् । यसको अर्थ उनीहरूले जानकारीबिना सही गरे । संघीयताका धेरै मोडलमा छलफल नभएको होइन । तर बाउछोराले गधा चढेको उखानजस्तो भयो । जसले चढे पनि नहुने, नचढे पनि नहुने अनि गधा छोडेर भाग्ने जस्तो भयो । अहिलेको संघीयता भद्रगोल मोडलको हो । सरकारमा बस्नेलाई के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने पनि थाहा छैन । प्रदेशसभामा गएर कुनै पनि दुनियाँमा प्रधानमन्त्रीले भाषण दिएको मलाई थाहा छैन । हाम्रोमा प्रधानमन्त्री केपी ओलीले सातवटै प्रदेशसभामा गएर भाषण दिए । त्यो गलत थियो । 

तपार्इंले हरेक चिजमा दक्षिणको प्रभाव भन्नुभयो, धर्म निरपेक्षतामा चाहिँ के भयो नि ? 

भारत रिसाएको धर्म निरपेक्षता भयो भनेर हो । उनीहरू सीधै भन्थे, 'हिन्दु राजा राम्रो छ, राजा हाम्रा पनि हुन् ।'  नेपालमा धर्म निरपेक्षताका लागि पश्चिमाको हात छ । यस माध्यमबाट उनीहरू नेपालमा क्रिस्चियानिटी बढाउन चाहन्थे । 

यो सबै गरेर भारतले नेपालसँग के चाहन्छ ? 

भारत सबै नेपाल चाहन्छ । प्रदेश नं २ अब रहँदैन भन्ने छ । २ नं को संकेत भनेको उता मिल्नु हो । यसको दोषी एमाले र माओवादी हुन् । कांग्रेस त पहिलादेखि नै 'प्रोइन्डियन' हो । 

अलि प्रसंग बदलौं, राजतन्त्र गए पनि शैली फेरिएन भन्ने यसपटक दसैँमा राष्ट्रपति निवासमा भएको टीका प्रकरणले पुष्टि गरेन ? 

मुलुकमा गणतन्त्र आए पनि केही सामन्ती संस्कारसँगै आएका छन् । त्यो घटना पनि त्यस्तै हो । सत्तामा बस्नेको समान्तवादी दृष्टिकोण भएकाले त्यो देखिएको हो । यो घट्दै जान्छ कि बढ्दै जान्छ जनतामा निर्भर हुने कुरा हो । जनताले विरोध गरे र उनीहरू डराए घट्छ नभए बढदै जान्छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...