मंगलबार, वैशाख २५, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • सन्तुलित सम्बन्धका लागि चीन भ्रमणको तयारीमा प्रधानमन्त्री प्रचण्ड

सन्तुलित सम्बन्धका लागि चीन भ्रमणको तयारीमा प्रधानमन्त्री प्रचण्ड

भारतबाट फर्किएसँगै प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणको चाँजोपाँजो मिलाउन थालेका हुन्। यसै क्रममा आफ्नो चीन भ्रमणको वातावरण मिलाउन दाहालले हालै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चीन पठाएका थिए।
 |  शनिबार, असार २३, २०८०

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

शनिबार, असार २३, २०८०

काठमाडौं- सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको गृहकार्य थालेको छ। तेस्रो पटक सत्ताको नेतृत्व गर्ने अवसर पाएपछि गत जेठमा पहिलो विदेश भ्रमण भारतबाट गरेका प्रधानमन्त्री प्रचण्डले चीन यात्राको तयारी थालेका हुन्। यद्यपि औपचारिक मिति भने तय हुन सकेको छैन।

triton college

यसअघि चिनियाँ राजदूत छन सोङले फागुन १० मा प्रधानमन्त्री प्रचण्डलाई भेटेर चैत १४–१७ मा हेनान प्रान्तमा भएको ‘बोआओ फोरम फर एसिया’ मा सहभागी हुन निम्ता गरेका थिए। तर प्रचण्ड त्यसमा सहभागी हुन गएनन्। उनी चीन भ्रमणको बेवास्ता गर्दै भारत भ्रमणमा गएपछि बेइजिङले सार्वजनिक रुपमा नबोले पनि आन्तरिक रुपमा असन्तुष्टि जनाएको बताइएको थियो।

आफू भारत जाने क्रममा 'असन्तुष्ट' बनेको चीनलाई फकाउन पूर्वसभामुख अग्‍नि सापकोटा नेतृत्वको टोलीलाई चीन पठाएका थिए प्रचण्डले। भारतबाट फर्किएसँगै प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणको चाँजोपाँजो मिलाउन थालेका हुन्। यसै क्रममा आफ्नो चीन भ्रमणको वातावरण मिलाउन दाहालले हालै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चीन पठाएका थिए।

प्रधानमन्त्री प्रचण्डले चीनले आयोजना गर्ने १० औं बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्मेलनभन्दा अगाडि नै भ्रमण गर्न चाहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। गृहमन्त्री श्रेष्ठले आफ्नो भ्रमणका क्रममा चीनका उपप्रधानमन्त्री ही लिफङसँग भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे पनि कुराकानी गरेको स्रोतको दाबी छ। चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री प्रचण्डको भ्रमण छिट्टै हुने बताएका छन्। यसअघि परराष्ट्रमन्त्री एनपी साउदले सेप्टेम्बरभित्रै प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण हुने बताएका थिए।

आफ्नो चीन भ्रमणको तयारी गरिरहँदा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको टोलीलाई भारत पठाउन लागेका छन्। भारतीय जनता पार्टीको निमन्त्रणामा असार अन्तिममा माओवादी उपाध्यक्ष भुसाल नेतृत्वको टोली भारत जाने भएको हो। माओवादी नेताहरुको यो टोलीलाई भाजपा अध्यक्ष जेपी नड्डाले आफ्नो मुख्यालयमा स्वागत गर्ने बताइएको छ।

corrent noodles
Metro Mart

राजनीतिक सम्बन्धका हिसाबमा चीन निकट देखिने प्रचण्ड परम्परागत सम्बन्ध र द्वन्द्वकालमा भएको सहयोगका हिसाबले भारतनिकट देखिन्छन्। उनको पछिल्लो अभिव्यक्ति 'भारत निकट' भएको प्रमाणित गराउन खोजेको देखिन्छ। नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सिन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली: द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भनेका थिए, 'उहाँ (सिंह) ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो। धेरैचोटि दिल्ली जानु पनि भयो। काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो।'

‘प्रधानमन्त्री बन्न दिल्ली निर्णायक’ भन्ने सन्देशसहितको प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको विरोध गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले उनको राजीनामा मागिरहेको छ। आन्तरिक राजनीतिक दबाबको सामना गरिरहेका प्रधानमन्त्री प्रचण्डलाई भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गर्न थप सकस परेको देखिन्छ। यही मेसोमा चीन भ्रमणको चाहना राखे पनि चीनबाट भने ठोस प्रतिक्रिया आउन सकेको छैन।

भारतबाट फर्किएसँगै प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणको चाँजोपाँजो मिलाउन थालेका हुन्। यसै क्रममा आफ्नो चीन भ्रमणको वातावरण मिलाउन दाहालले हालै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चीन पठाएका थिए।

चीनले विगतमा नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतामा खुसी व्यक्त गरेको विषयलाई नोट गरेका प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणअघि वामपन्थी शक्तिहरु एक ठाउँमा आएको सन्देश दिन 'समाजवादी मोर्चा' समेत गठन गरेका छन्। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितको समाजवादी मोर्चा गठन गर्दै अन्य समाजवादी शक्तिलाई एक ठाउँमा ल्याउने अभियान सुरु भइसकेको प्रधानमन्त्री प्रचण्डले बताइरहेका छन्।

यसअघि माओवादी उपाध्यक्ष सापकोटाको चीन भ्रमणका क्रममा पनि चिनियाँ विदेश विभाग प्रमुख लिउ च्यान छाओले 'कम्युनिस्ट मिल्दा खुसी हुने' अभिव्यक्ति दिएका थिए। चीनले सकेसम्म 'कम्युनिस्टबीच एकता हुनुपर्ने' सुझाव दिएकोले पनि प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय 'नेकपा एमालेसहितको कम्युनिस्ट एकता हुन सक्ने' बताएका थिए। यसरी आफ्नो चीन भ्रमणको वातावरण मिलाउन चीनलाई खुसी पार्ने रणनीतिमा लागे पनि अर्कोतर्फ भने भारत रिसाउने डर पनि देखिन्छ।

पूर्वपरराष्ट्रमन्त्री एवं चीनका लागि पूर्वराजदूत महेन्द्रबहादुर पाण्डेले सत्ता र सडकमा हुँदा अपनाइने फरक–फरक विदेश नीतिले नै प्रचण्ड समस्यामा पर्ने गरेको बताए। ‘प्रचण्डजी भारत भ्रमणपछि निकै उत्साहित हुनुभयो, त्यसबेला उहाँले पार्टीको नाम माओवादी हो भन्ने ख्याल गर्नुभएन। अहिले चीन जाने तयारीमा हुनुहुन्छ र भारत रिसाउँछ कि भन्‍ने डरले उहाँलाई पिरोलेको देखिन्छ।' यस्तो अस्थिरताले थप समस्या सिर्जना गरेको पनि पूर्वराजदूत पाण्डेले बताए।

चीनमा सी जिनपिङ नेतृत्वको 'नयाँ राष्ट्रवादी' सरकार र भारतमा नरेन्द्र मोदी नेतृत्वको हिन्दू राष्ट्रवादी सत्तासँग सन्तुलन कायम गरी छिमेक सम्बन्ध सुदृढ बनाउने चुनौतीमा रहेका प्रधानमन्त्री प्रचण्डले सन्तुलन कायमको प्रयास गरेको देखिन्छ। यद्यपि यो सन्तुलन वैयक्तिक फाइदालाई केन्द्रमा राखेको देखिन्छ।

राजनीतिशास्त्रका प्राध्यापक एवं अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग प्रमुख खड्क केसीले प्रधानमन्त्री प्रचण्ड सरकारको आयु लम्ब्याउने मनोविज्ञानमा रहेकोले पनि सम्बन्ध सन्तुलित बनाउन खोजे पनि क्षणिक स्वार्थ केन्द्रित भएको बताए। उनले भने, 'प्रधानमन्त्री उत्तर–दक्षिण कूटनीतिक सन्तुलन मिलाएर फाइदा लिने प्रयासमा देखिनुहुन्छ। तर, भारत भ्रमणका क्रममा ईपीजी प्रतिवेदनबारे कुरा राख्दा माहोल बिग्रिन्छ भन्नुमा उहाँको त्रसित मनोविज्ञान स्पष्ट देखियो।'

प्रचण्डले पहिलो पटक प्रधानमन्त्री हुँदा सन् २००८ को अगस्टमा भारत भ्रमण नगरीकन बेइजिङ ओलम्पिकको समापन समारोहमा सहभागी हुन चीन पुगेका थिए। उनले त्यस बेला तत्कालीन राष्ट्रपति हु जिन्ताओसँग भेटवार्ता गरेका थिए। तर पछि प्रचण्ड स्वयंले बेइजिङबाट फर्केलगत्तै आफ्नो औपचारिक भ्रमण भारतबाटै हुने दाबी गरेका थिए। त्यसयता दुई पटक प्रधानमन्त्री बन्दा पनि प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमणमा भारत नै रोजेका थिए। प्रधानमन्त्रीको यस्तो मनोविज्ञानले सन्तुलित विदेश नीतिमा पनि गम्भीर असर पर्ने कूटनीतिज्ञहरुले बताउने गरेका छन्।

प्रकाशित: Jul 08, 2023| 16:50 शनिबार, असार २३, २०८०
प्रतिक्रिया दिनुहोस्