काठमाडौं- आइसिसी विश्वकप ग्लोबल छनोटअन्तर्गत सातौं स्थानको प्लेअफमा नेपालले आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ। जिम्बावेको हरारेमा जारी प्रतियोगिताको अन्तिम खेलमा नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २६८ रन बनाएको हो। गुल्सन झाले सबैभन्दा बढी ५७ रनको योगदान दिए।
४२ बल सामना गरेका गुल्सनले तीन छक्का र चार चौका प्रहार गरे। यस्तै, अर्जुन साउदले ४८, कुशल मल्लले ४४, सन्दीप लामिछानेले ३२, रोहित पौडेलले २९ र भीम सार्कीले २० रनको योगदान दिए।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। कुशल भुर्तेल ८, ज्ञानेन्द्र मल्ल ७, दीपेन्द्रसिंह ऐरी सून्य र किरण केसीले चार रन बनाए। किशोर महतो एक रनमा अविजित रहे।