काठमाडौं- विश्वकप छनोट क्रिकेटको सातौं स्थानको प्लेअफ सेमिफाइनलमा यूएईविरुद्ध नेपालले ३ विकेटको विजय हात पारेको छ। दीपेन्द्रले अविजित ७९ रन बनाएपछि नेपालले १ सय ८२ रनको लक्ष्य ४४ औं ओभरमा १ सय ८५ रन बनाउँदै पूरा गरेको थियो।
दीपेन्द्रले सन्दीप लामिछानेसँग मिलेर आठौं विकेटमा अविजित ७९ रनको साझेदारी गरेर नेपाललाई विजय बनाउन मद्धत गरे। दीपेन्द्रले ८५ बलको सामना गरी ७ चौका र २ छक्का प्रहार गरे। सन्दीप ३७ बल खेली २ चौका प्रहार गरी अविजित २३ रन बनाए।
जिम्बावेमा भइरहेको प्रतियोगिताको नेपालले अब सातौं स्थानको प्लेअफमा टेस्ट राष्ट्र आयरल्यान्डसँग खेल्ने छ। आयरल्यान्डले पछिल्लो अफ खेलमा अमेरिकालाई पराजित गरेको थियो। यूएई र अमेरिका नवौं स्थान हात पार्न प्लेअफमा खेल्ने छन्। जारी विश्वकप छनोटमा नेपालको यो दोस्रो विजय हो।
अर्जुन साउद १, ज्ञानेन्द्र मल्ल १३, कप्तान रोहित पौडेल ४, भीम सार्की १, आरिफ शेख १ र कुशल भुर्तेल ३५ रनमा आउट भएपछि नेपाल २१ औं ओभरमा ६३–६ को स्कोरमा पुगेको थियो। कुशलले ५९ बल खेल्दै ४ चौका प्रहार गरे।
दीपेन्द्रले गुल्शन झासँग सातौं विकेटमा ४३ रनको साझेदारी गरे। गुलशनले २४ बल खेली १ चौकासहित १२ रन बनाई रोहन मुस्तफाको बलमा आउट भए। अर्जुन, रोहित र भीमलाई आउट गरेका मोहम्मद जवादुल्लाहले १० ओभरमा ४६ रन खर्च गरे।
यसअघि नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएई हरारेको ताकसिंगा स्पोर्टस क्लबमा ४६.५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको थियो। खेलको दोस्रो बलमै करणले आसिफ खानलाई विकेटकिपर अर्जुन साउदबाट क्याच आउट गराई नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए। नियमीत कप्तान मोहम्मद वासिमबिना खेलेको यूएईले त्यसपछि उत्कृष्ट पुनरागमन गरेको थियो।
खेलमा यूएईको कप्तानी गरिरहेका वृत्या अरविन्द र अर्यांश शर्माले दोस्रो विकेटमा ६४ रन जोडे। अर्यांशले ४३ बल खेली ३ चौकासहित २८ रन बनाए। गुल्शन झाले वृत्यालाई बोल्ड गरि नेपाललाई महत्त्वपूर्ण सफलता दिलाए। वृत्याले ७५ बल खेली ४ चौकासहित ४४ रन बनाए।
रमिज सेहजाद १० रनमा आउट भए। रोहन मुस्तफा र बसिल हमिदले पाँचौं विकेटमा ५८ रनको साझेदारी गरे। करणले बाउन्सर बलमा मुस्तफालाई आउट गरे। मुस्तफाले ५६ बल खेली ३ चौकासहित ३५ र बसिलले ३५ बल खेली २ चौकासहित २९ रन बनाए।
अली नासिर ४, सन्चित शर्मा १२, जुनाइद सिद्धिकी शून्य र मोहम्मद जवादुल्लाह १ रनमा आउट भए। कार्थिक मेइयापन ५ रनमा अविजित रहे। सन्दीप लामिछाने र करणले ३–३ विकेट लिए। सन्दीपले १० ओभरमा ३ मेडन राख्दै २३ र करण केसीले ८.५ ओभरमा ३६ रन खर्चे। प्रतिश जिसी, दीपेन्द्रसिंह ऐरी र गुल्शन झाले १–१ विकेट लिए।
नेपालले अर्जुन साउद, ज्ञानेन्द्र मल्ल र प्रतिश जिसीलाई खेलाएको थियो। उनीहरुलाई आसिफ शेख, कुशल मल्ल र ललित राजवंशीमा खेलाएको थियो।