बिहीबार, असार ४, २०८३

उत्तिममानको पीडा- छोराको उपचारमै सकियो सम्पत्ति

 |  आइतबार, असार १७, २०८०

टीकाराम सुनार र चन्दन ठाकुर

टीकाराम सुनार र चन्दन ठाकुर

आइतबार, असार १७, २०८०

जनकपुरधाम- उमेरले ७० पुग्न लाग्दै गर्दा कुन बुबाको चाहना नहोला र दुःख बिसाउने र सुखको श्वास फेर्ने। जीवनको उत्तरार्द्धमा सन्तानलाई सबै जिम्मा लगाएर हलुङ्गो जीवन बाँच्ने धेरैको सपना पनि हुन्छ। यस्तै चाहना र सपना महोत्तरीको लोहरपट्टी नगरपालिका-९ बिनमा टोल खुटापिपरारीका उत्तिममान बिन (मुखिया)सँग पनि थिए।

National life

तर, समय भने जस्तो कहाँ हुन्छ ? बाह्र छोरा, तेह्र नाती बुढाको धोक्रो काँधैमाथि बोलको गीतमा भने झैँ बुढेसकाल बढ्दै जाँदा जिम्मेवारी र दुःखको भारी मुखियाको काँधबाट हटेको छैन। लामो समयदेखिको यो गहुङ्गो भारी बिसाएर हलुङ्गो जीवन बाँच्ने उनको सपना केवल कल्पनामै सीमित छ।

वंश धान्न तीन सन्तान त छन् तर उनीहरुलाई अंश दिनुपर्ने सम्पत्ति, जायजेथा छैन। माइलो छोरा रामनाथ मुखियाको उपचारमा पुर्खौली सम्पत्तिदेखि कमाइ सबै सकिएको छ। त्यसमाथि थपिएको लाखौ ऋणले उत्तिममानको बुढ्यौलीसँगै बेचैनी पनि बढेको छ।

उत्तिममानका अनुसार माइलो छोरा रामनाथलाई १०/१२ वर्षको उमेरदेखि हार्मोनमा गडबडी हुँदा सुन्निने र शरीर फुल्ने रोग लाग्यो। उपचारका लागि सम्भव भएसम्म नेपालका सबै अस्पताल र नेपाल–भारत सीमामा रहेका धेरै अस्पताल पुर्‍याइयो तर पनि रोग निको भएन।

पुर्ख्यौली सम्पत्तिका रुपमा रहेको करिब तीन बिघा जमिन उपचारमै सकियो। साहु महाजनबाट चक्रीय ब्याजदरमा लिएको लाखौँ ऋण बोझ बन्यो तर समस्या भने ज्यूँका त्यूँ नै रह्यो।

Shivam cement

‘उपचारका लागि कहाँसम्म लगिन भनि साध्य छैन, नेपाल र भारतका कुनै अस्पताल बाँकी छैनन्’, उनले भने, ‘अहिले रोग निको भएन, उपचारमा भएको सम्पत्ति सकियो, लाखौ रकम ऋण पनि लाग्यो, अब त बहुलाउन मात्रै बाँकी छ।’

सम्पत्ति यिनै सन्तानको हो भनेर सगोलको सम्पत्ति उपचारमै सकियो। जेठो छोराले विदेश गएर कमाएको पैसा पनि भाइकै उपचारमा खर्च भयो। दुःख र सम्पत्तिको प्रवाह नगरी दिनरात छोराको उपचारमा खटिएका उत्तीममान रोग विसेक नभएपछि अहिले हतास अवस्थामा छन्।

‘मैले उपचारका लागि हरसम्भव प्रयास गरेँ। जायजेथा बेचेँ, ऋण काँडे। अरु छोराको कमाइ पनि यसैमा लगाए। आखिर बाबु न हुँ, उसको दुःख र छटपटाहट कसरी हेरिबस्नु ! अहिले रित्तो छु, सम्पत्तिको नाममा केही बाँकी छैन’, आँखाभरि आँसु टिलपिलाउँदै उनले भने।

यति गर्दा पनि हिम्मत नहारेका उनले पाँच वर्ष अगाडि जब डाक्टरले मासिक तीस हजार भारु पर्ने एउटा सुई लगातार पाँच वर्षसम्म लगाउन सिफारिस गरे त्यसपछि भने हिम्मत हारेका छन्। ‘त्यतिबेलादेखि दिमाग ठेगानमा छैन। भएको सम्पत्ति त सबै सक्काइसके, अब मसँग कि बहुलाउने कि छोरा तड्पिएको हेर्नेबाहेक अर्को उपाय छैन। सहयोगका लागि गुहार मागेको पनि कुनै ठाउँ बाँकी छैन तर केही सीप लागेन’ उनले भने।

पाँच वर्षअघि स्वास्थ्य परीक्षणपछि डाक्टरले सिफारिस गरेको इञ्जेक्सन हो ‘सान्डोस्टाटिन एलएआर’। नेपालमा महङ्गो मानिएको यो इञ्जेक्सन भारतमा पनि तीस हजार भारु पर्छ। रामनाथले मासिक ३० हजार भारतीय रुपैयाँ तिरेर दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा पाँच वर्षसम्म यो सुई लगाउनुपर्ने छ तर आर्थिक अभावका कारण अहिलेसम्म सुरु नगरिएको मुखियाले गुनासो गरे।

उनले पाँच वर्षअघि सुरु गर्नु भनिएको उपचार आर्थिक अभावमा अहिलेसम्म पनि सुरु नगर्दा आफ्नो स्वास्थ्यअवस्था दिनप्रतिदिन बिग्रिदो अवस्थामा छ। ‘सबै सम्पत्ति सक्किएपछि अन्तिम विकल्पका रुपमा त्यो उपचार पद्धति सुझाइयो। सुरुमा भए त केही हुन्थ्यो, अब त पैसा छैन। त्यति महङ्गो उपचार कसरी गर्नु ! न बुबाको सम्पत्ति छ न म केही गरेर जोहो गर्नसक्छु’, उनले भने।

‘मुरीमे जते केस नहै तते कर्जा भगेल’    

‘पुर्ख्यौली सम्पत्ति सकियो। तीन बिगाह जमिन बेचियो। जग्गा किन्ने ग्राहक नभेटिएको बेला तत्कालको गर्जो टार्न गाउँकै साहुँ महाजनबाट ऋण लिनुपर्‍यो तर के गर्नु रोगभन्दा निर्दयी साहुँहरु हुँदा रहेछन्’, गहभरि आँसु पार्दै ज्येष्ठ नागरिक मुखियाले भने, ‘मुरीमे जते केस नहै तते कर्जा भजेल (टाउकोमा जति कपाल छैन त्यति ऋण भएको छ)।’

उनका अनुसार उपचारका लागि एकपटक एक लाख ऋण लिनुपर्‍यो। केही वर्षपछि साँवा चुक्ता गरे पनि साहुले ब्याज मात्रै १६ लाख पुगेको कागज खडा गरी सो रकम तिर्न मानसिक, कानूनी र शक्तिको आडमा दुःख दिन थाले। मुखिया परिवारले जग्गा बेचेर चुक्ता गरेको रकमसम्बन्धी त्यो मुद्दा अहिले अनुचित लेनदेन (मिटरब्याज) कसुरमा जिल्ला प्रशासन कार्यालय महोत्तरीमा दर्ता गरिएको छ।

छोरालाई रोग लागेपछि मानसिक र आर्थिकरुपमा थिल्थिलो भएको मुखिया परिवारले अर्को साहुसँग लिएको २५हजारका लागि कानूनी झमेला खेप्यो। २५ हजार रुपैयाँ ऋणलाई साहुले दुई लाख बनाएपछि धेरै दुःख पाएको उनले सुनाए। अहिले पनि उनीसँग १०/१२ लाख रुपैयाँ जति ऋण नै छ।

‘साहुले रु २५ हजारको ऋणलाई दुई लाख बनायो। तिर्न नमानेपछि शक्तिको आडमा कानून, प्रहरी प्रशासन लगाएर समात्न लगायो। त्यसपछि हामी एक लाखसम्म तिर्न तयार भए पनि साहुले दुई लाख नै चाहिन्छ भनिरहेको छ’, रामनाथ मुखियाले दुखेसो गरे।

‘जति गुहार्दा पनि सहयोग पाइएन’    

सम्पत्ति सकिएपछि रोगी छोरो लिएर बुद्ध बुबा उत्तिममानले नेता, स्थानीय तह, प्रदेश र संघीय सरकारसँग विभिन्न माध्यमबाट गुहारे पनि सबैतिरबाट आश्वासन मात्रै पाए।

‘बुबाको सहारा बन्नुपर्ने बेलामा उनी मेरो साहरा बन्नुपरेको छ। उहाँले शान्तसँग श्वास पनि फेर्न पाउनुभएको छैन’, उमेरले ३६ वर्ष पुगेका रामनाथले भने, ‘एकातिर रोग त्यसमाथि बुबाको त्यो बेचैनीले निकै पीडा दिन्छ।’

बुबा उत्तिममानले भने अझै पनि हरेस खाएका छैनन्। जवान छोरोसँग जोडिएका चार नातिनतिना र बुहारीको खुशीका लागि पनि केही गर्नुपर्ने दबाब छ उनीमाथि। इन्डो—नेपाल डाक्टर्स फोरमले जनकपुरमा अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) को शाखा खोल्न पहल गरिरहेको सुनेपछि केही आशा भने पलाएको उनले बताए।

डाक्टरहरुले दिल्लीस्थित एम्समा उपचार गर्न सुझाव दिए पनि पैसा अभावमा छोरालाई त्यहाँ लिन नसकेका मुखियाले यहाँ शाखा नखोल्दासम्म दिल्लीमा उपचारको व्यवस्था मिलाउन त्यही फोरमलाई गुहारिसकेको जानकारी दिए।

फोरमका उपाध्यक्ष डा.पुरुषोत्तमकुमार ठाकुरले पनि मुखिया परिवारको पीडा आफूले नजिकबाट हेरिरहेको र सक्दो सहयोगका लागि पहल गर्ने बताए। उनले फोरम स्थापनापछि आएको यसप्रकारको पहिलो समस्या समाधान गर्ने दायित्व आफूहरुको पनि भएकाले फोरममा प्रतिनिधित्व गर्ने भारतीय चिकित्सकहरुसँग सल्लाह गरेर चाँडै केही काम हुने आशा व्यक्त गरे।

‘दुबै देशका नागरिकको गुणस्तरीय स्वास्थ्यमा पहुँच र जटिल स्वास्थ्य समस्यामा परेकालाई सहयोग एवं सहजीकरण गर्ने उद्देश्यले चिकित्सकको साझा मञ्च बनाएका छौँ। त्यो मञ्चले कानुनी मान्यता पनि पाइसकेकाले स्वास्थ्य संस्था खोल्ने र मुखियाजस्ता जटिल समस्याग्रस्त नागरिकहरुको पक्षमा पनि केही काम गर्ने छौ। उहाँको विषयमा ध्यानाकर्षण भइसकेको छ।’  -रासस

प्रकाशित: Jul 02, 2023| 21:22 आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्