शुक्रबार, असार ५, २०८३

कञ्चनपुरको राना थारु होमस्टे: हिउँदमा भरिभराउ, बर्खा सुनसान

 |  शुक्रबार, असार ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा आठ वर्षअघि मुलुककै पहिलो राना थारू पाहुना घर ‘होमस्टे’मा आगन्तुक घट्दै गएका छन्।

National life

कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारू समुदायमा पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसितै जोडिएको नयाँ कटानका राना थारू समुदायले होमस्टे सञ्चालनमा ल्याएसँगै यहाँ अवलोकन भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सहजता मिलेको थियो।

कोरोना कहरमा दुई वर्ष थला परेको होमस्टेमा पछिल्लो चैत महिनायता गर्मी र त्यसपछि बर्खा मौसम सुरु हुँदा पाहुना आउने क्रम घटेको राना थारू सामुदायिक होमस्टेका सचिव चेतराम रानाको भनाइ छ। यहाँ राना थारूको परिकारको स्वाद लिँदै सो समुदायको परम्परागत नृत्य देखाएर आगन्तुकलाई मनोरञ्जनसमेत प्रदान गरिन्छ।

सुलभ बसाइ हुने भएकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने प्रायः पर्यटक होमस्टेमै बास बस्ने गरेको सचिव रानाको भनाइ छ। “होमस्टे आउने शुक्लाफाँटा घुम्ने र शुक्लाफाँटा घुमेर होमस्टे बास बस्ने दोहोरो नै छ”, रानाले भने, “हिउँदका बेला भने होमस्टे प्रायः भरिभराउ नै हुन्छ।”

चालु आर्थिक वर्षको ११ महिनामा होमस्टेमा करिब दुई हजारभन्दा बढी पर्यटक बास बसेको उनको भनाइ छ। विसं २०७२ मा विभिन्न दातृ निकायको सहयोगमा यहाँका नौ घरमा होमस्टे सञ्चालनमा आए पनि अहिले आठ घरमा निरन्तर छ। यहाँ शुक्लाफाँटा घुम्न आउनेसँगै विभिन्न सङ्घसंस्थाका पदाधिकारी प्रायः आउने गरेको होमस्टे सञ्चालकहरुको भनाइ छ।

Shivam cement

“स्थापना भएयता करिब १५ हजार पाहुनाले यहाँ बास बसिसकेको रेकर्ड छ”, सचिव रानाले भने, “शुक्लाफाँटासँगै भएकाले यो होमस्टेको भविष्य उज्ज्वल नै छ।”

पाुहना आउँदा मागअनुसार परम्परागत पहिरनमा नृत्य देखाउँदा दोहोरो फाइदा हुने गरेको रानाको भनाइ छ। “राना वेशभूषामा नृत्य देखाउँदा पाहुना खुसी हुनाका साथै बस्तीमा युवा पुस्ता पनि आफ्नो कला, संस्कृतिप्रति मोहित हुन्छन्”, उनले भने, “पाहुना घर कला, संस्कृति र रीतिरिवाज बचाउने केन्द्र पनि बनेको छ।”

पर्यटकका लागि शुक्लाफाँटाको मयूर, चित्तल लगायतका पक्षी तथा जनावर होमस्टेबाट समेत कतिपय बेला अवलोकन गर्न सकिन्छ। उनले भने, “पर्यटकहरुको सहजता र समुदायको आयआर्जनका लागि होमस्टे सञ्चालन हुनु आवश्यक छ।” तराई भू–परिधि कार्यक्रम (ताल)को प्राविधिक तथा भौतिक सहयोगबाट सुरु गरिएको होमस्टेबाट राना थारू समुदाय अहिले लाभान्वित छ।

भीमदत्त नगरपालिकाको नयाँ कटानसँगै शुक्लाफाँटा नगरपालिकाको जोनापुर र सिमलफाँटाका साथै कृष्णपुर नगरपालिकाको वाणी मुक्त कमैया शिविरमा होमस्टे सञ्चालित छन्। कृष्णपुरको वाणीस्थित पूर्व–पश्चिम राजमार्ग छेउमा रहेको विजयासाल सामुदायिक होमस्टेमा बास बस्नेभन्दा खाना खाने पाहुना धेरै आउने गरेको होमस्टेका अध्यक्ष परदेश्नी डगौराको भनाइ छ।

“राजमार्गको छेउमै भएकाले खाना खानका लागि पाहुना धेरै आउँछन्”, अध्यक्ष डगौराले भने, “अहिले बर्खा लागेकाले आगन्तुक आउने क्रम घटेको छ।”

यहाँ दातृ निकायको सहयोगमामुक्त कमैया बस्तीका छ घरमा होमस्टे सञ्चालनमाछ। “मासिक एकदेखि डेढ सय पाहुना होमस्टेमा आएको रेकर्ड छ”, डगौराले भने, “होमस्टेबाट भएको आयआर्जनले सामान्य घर खर्च चलेको छ।”   -रासस

प्रकाशित: Jun 23, 2023| 20:41 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्