शुक्रबार, असार ५, २०८३

पानी नपरेपछि किसानलाई मकै जोगाउन मुस्किल

 |  बिहीबार, असार ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार ७, २०८०

बागलुङ- वैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो। त्यसपछि अहिलेसम्म पानी परेको छैन।

National life

लामो समय पानी नपर्दा ब्याडमा धाँजा फाटेर धानको बीउ सुक्न थालेको छ। लामो समय खडेरी पर्दा ब्याडमा धानको बीउसँगै बारीमा मकैका बोटसमेत सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन्।

अघिल्ला वर्षहरुमा यति बेला यस क्षेत्रका खेतमा कृषकले धान लगाउन सुरु गर्थे। वर्षा नहुँदा खोलानालासमेत सुकेका छन्। खोलानाला सुक्दा सिँचाइको चरम अभावमा रहेका किसानलाई धानको बीउ र मकैका बोट जोगाउन हम्मेहम्मे परेको छ।

जेठ अन्तिम सातदेखि रोपाइँ गर्ने किसान यति बेला आकाश हेर्दै बस्न बाध्य छन्। कतिपय किसानको ब्याडमा रोप्नका लागि तयार भएका बिरुवासमेत सुकेर मर्न थालेका हुन्। असार सुरु हुँदासमेत पानी नपर्दा धानको बीउ, मकै तथा अन्य तरकारीसमेत सुक्न थालेको कृषकको गुनासो छ।

गएका वर्षहरुमा यति बेला धेरै ६० प्रतिशतको हाराहारीमा रोपाइँ हुने गरेकोमा यस वर्ष करिब २० प्रतिशत मात्रै रोपाइँ भएको बडिगाडका कृषक प्रेमबहादुर क्षेत्रीले बताए। लामो खडेरीका कारण धानसँगै मकै र कोदोको बीउसमेत सुकेको उनको भनाइ छ।

Shivam cement

स्थानीय कृषक तुलबहादुर जिसीले पहिले असार महिना सुरु हुनुपूर्वनै ढपक्क बर्खा लाग्ने हुँदा किसानलाई खेतीपाती गर्न सहज हुने गरेको भन्दै अहिले खडेरीले गर्दा आफूहरु समस्यामा परेको बताए।

खेतमा लगाएको गहुँ स्यारेलगत्तै खनजोत गरेर धान रोप्नका लागि तयार हुने गरेको भन्दै अहिले पानी नपर्दा खेत बाँझोसमेत मार्न नपाएको उनको गुनासो छ।

अर्का किसान निलमाया विकले वैशाख पहिलो हप्ता झरेको मकै जेठ दोस्रो साता कुटाएको भन्दै त्यसयता पानी नपर्दा बारीमा लगाएको सबै मकैको बिरुवा सुकेर नष्ट हुन थालेको बताए।

मकैसँगै लगाएको कोदोको बीउ पनि कामै नलाग्ने गरी सुकेको विकले बताए। घर नजिक छेउमा रहेको बारीमा खानेपानीको पाइपबाट पानी लगाएर केही मकै र कोदोको बीउ हुर्काउन सफल भएको उनले बताए।

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले हालसम्म जिल्लाभर १२ प्रतिशत मात्रै रोपाइँ भएको बताए। लामो समय खडेरी पर्दा कृषकले बीउ तयार गरे पनि रोपाइँ गर्न नसकेको उनको भनाइ छ।

उनका अनुसार यति बेलासम्म जिल्लामा २५ प्रतिशत रोपाइँ सकिनुपर्ने थियो। बैसाखको वर्षाले कृषक उत्साहित भएर धेरै बीउ उत्पादन गरेको हुँदा रोपाइँ क्षेत्रफल बढ्न सम्भावना बढेको प्रमुख भट्टराईले बताए।

बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ। त्यसमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ।

खेतीयोग्य जमिनको २० दशमवलव १५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा छ। त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ।

पछिल्लो समय बसाइँसराइले खेतीयोग्य जमिनसमेत बाझिँदै गएका छन्। गाउँमा प्रसस्त खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा नहुँदा बाँझै राख्नुपरेको कृषकको गुनासो छ।

प्रकाशित: Jun 22, 2023| 08:39 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्